बुद्धजयन्तीको शुभकामना

१. आज वैशाख पूणिर्मा जसलाई हामी २५६१ औं बुद्धजयन्तीको रुपमा मनाउँदै छौँ। इशापूर्व ५६३ को वैशाख पूणिर्माको दिन सिर्द्धार्थ गौतमको जन्म भएको थियो। ३५ वर्षको उमेरमा उनले वैशाख पूणिर्माकै दिन बुद्धत्व प्राप्त गरेका थिए। उनले आफूले प्रतिपादन गरेको धर्मको ४५ वर्षसम्म प्रचारप्रसार गरेर ८० वर्षको उमेरमा यही तिथिमा उनको महापरीनिर्वाण भएको थियो। जसलाई त्रिसंयोग भन्ने गरिएको छ।

२. गौतम बुद्धले चार आर्य सत्यको कुरा ल्याए । आर्य अष्टा·ीक मार्गको व्याख्या गरेर प्रतीत्य समुत्पाद सिद्धान्तको प्रतिपादन गरे। उनको त्यो सिद्धान्तमा शान्तिमैत्री र अहिंसाको सन्देश छ। करुणाको भाव छ। दुःख हटाउने उपाय छ। त्यसमा जातीय उचनीच र छुवाछूतको भेदभाव छैन। त्यहाँ सबै समान हुन्छ र समानताको व्यवहार हुन्छ।

३. हत्या, हिंसा र आतंकबाट आत्तिएकाहरुको लागि बुद्ध धर्म एकमात्र सहारा भएको छ। आज राजनीतिबाट सिद्धान्तका लागि मान्छे मारिएका छन्। धर्मको नाममा पनि मान्छे मारिएका छन्। मान्छेले मान्छे मार्नु अति निर्दयीपन हो, असभ्य व्यवहार हो र अमानवीय कार्य हो। बुद्ध धर्म त्यसको कडा विरोध गर्दछ। उनले मान्छेको हिंसामात्र होइन, प्राणी हिंसासमेत बर्जित गरेका छन्। उनको पञ्चशीलमध्य सबभन्दा पहिलो शील नै प्राणी हिंसा गर्नु हुन्न भन्ने सम्बन्धमा छ।

४. उनको प्रतीत्य समुत्पादको सिद्धान्त अर्थात् कार्यकारण ९ऋबगकभ ७ भााभअत० को सिद्धान्तलाई वैज्ञानिकहरुले पनि मान्ने गर्दछन्। प्रत्येक कुराको कारण हुन्छ, बिनाकारण केही पनि हुँदैन। उनको यो सिद्धान्त २५ सय वर्षपछि आजको यो वैज्ञानिक युगमा अरु मुखरित भएर आएको छ। बुद्ध धर्मलाई विज्ञानसँग नजिकको धर्म भनेर वैज्ञानिकहरुले भन्ने गरेका छन्।

५. बुद्धले आफ्ना अनुयायाीलाई दिएको स्वतन्त्रतालाई पनि त्यस धर्मको महत्वपूर्ण विशेषताको रुपमा लिने गरिएको छ। उनले आफ्ना अनुयायीलाई आफूले भनेको, गुरुले भनेको वा शास्त्रमा लेखिएको भनेरमात्र मान्ने नगर आफ्नो विवेकको कसीमा घोटेर हेर र विवेकले उचित ठहर्‍याएमात्र ग्रहण गर भनेका छन्। यत्तिको स्वतन्त्रता सायद कसैले दिएका होलान्।

६. बुद्ध धर्ममा स्वतन्त्रता छ, समानता छ र वैज्ञानिकता छ। यसमा मातृत्वको आधार छ, शान्तिको सन्देश छ र सहिष्णुता एवम् समझदारीको अपील छ। संयुक्त राष्ट्रसंघले बुद्धजयन्तीमा कार्यालय बिदा गरी यो जयन्ती मान्ने गरेको छ। अन्तर्राष्ट्रिय अदालत परिसरमा बुद्धको मूर्ति राखिएको छ भने युनेस्कोको कार्यालय पनि बुद्धको मूर्तिबाट सुशोभित भएको छ।

७. यी सबै कुरा नेपालीले बुझ्नु पर्दछ। बुद्ध नेपाली हुन्। नेपालका राष्ट्रिय विभूति हुन्। आफ्नो राष्ट्रिय विभूतिबाट प्रतिपादित धर्म दर्शन नेपालीको साझा दर्शन हो। मौलिक दर्शन हो। यो हाम्रो विशेषता हो। बुद्ध धर्मसँग हाम्रो भावना गाँसिएको छ। आत्मियता जोडिएको छ। राष्ट्रियता टाँसिएको छ। राष्ट्र र राष्ट्रियतासँग यसरी प्रत्यक्ष जोडिएको धर्म पाउनु हाम्रो सौभाग्यको कुरा हो। यस्तो महत्वपूर्ण धर्मको प्रवर्तक भगवान् बुद्धको गुण स्मरण गरेर हामी यस दिवसको उपलक्ष्यमा प्राणी मात्रको सुख, शान्ति, आयु आरोग्यको हामी हार्दिक शुभकामना व्यक्त गर्दछौँ।