बलिको बोकाको खोजी

१. राजनीतिमा अझ भनौँ सरकारमा समय-समयमा बलिको बोका खोज्ने गरिन्छ। अहिले हाम्रो सरकारमा पनि बलिको बोका खोज्न थालिएको बुझिएको छ। सरकारमा कामकुराप्रति जनता निराशभएमा, विवाद धेरै उत्पन्न भएमा तथा सरकार असफलहुने अवस्थामा पुगेका राजनीतिका चतुर खेलाडीहरुले मन्त्रीहरुलाई बलिको बोका बनाउँछन्।

२. दुर्इ तिहाइ बहुमत प्राप्त नेपाल कम्युनिष्ट पार्टीको सरकारले चमत्कारीक  काम गर्ने छ भनी जनताले आशा अपेक्षा गरेका थिए। सरकारको हनिमून पिरियड सकिए पछि सरकारले आवश्यक काम कुरा गरेन भनी धेरै आलोचना भए। तर त्यो आलोचनालाई सरकारमा रहेकाहरुले कुनै वास्ता गरेनन्।

३. प्रधानमन्त्री के.पी. शर्मा ओलीले सचिवहरुलाई निर्देशनदिए, मन्त्रीहरुलाई निर्देशनदिए। उनले कामको मूल्याङ्कन गरिने कुरा पनि बताए। तर परिणाम सकारात्मक देखिएन। उनले काठमाडौंको सडक तन्दुरुस्त राख्न समेत निर्देशनदिए, त्यहाँ पनि उनको निर्देशनको पालना भएको पाइएन।

४. ३३ किलो सुन प्रकरणमा सरकारको कामकार्वाही र अनुसन्धान अधुरो र अपूरो भयो । न ३३ किलो सुन हातपार्न सक्यो न कि शुरुमा भनेझैं ठूलो माछा नै सरकारको जालमा पर्‍यो । वरिष्ठ चिकित्सक डा. गोविन्द के.सी.को आमरण अनशनमा जे जस्तो सहमति गर्नुपर्‍यो । त्यसले पनि सरकारको प्रतिष्ठा ह्रास भयो।

५. सरकारले यातायात सिण्डिकेट, काम नगर्ने ठेकेदार, एनजिओ/आइएनजिओको विरुद्ध ठूलो उद्घोष गरेको थियो। तर त्यसमा पनि सफलता प्राप्त गर्न सकेन। नीलकण्ठ शर्मा र उदयराज पाण्डेलाई राजदूत बनाउने निर्ण त्यसै सेलायो । करको कारणले पनि सरकार धेरै विवादास्पद भयो। महिलाहरुको हत्या, हिंसा र बलात्कारको घटनाले सरकार धेरै आलोच्य बन्यो।

६. सरकारका ती काम कार्वाहीबाट जनता रुष्ट भएका छन्। सत्तारुढ पार्टीका मानिसहरु पनि सरकारले राम्रो गर्न सकेन भनी निराश भएका छन्। यस्तो अवस्थामा केही न केही गर्नुपर्ने विचार गरेर नेकपाका अध्यक्ष पुष्पकमल दाहालले काम नगर्ने मन्त्री विरुद्ध कडा कदमचाल्ने बताएका छन्। उनले पार्टीका दुर्इ अध्यक्षले सरकारको कामबारे समीक्षा शुरु गरेको पनि उल्लेख गरेका छन्।

७. काम नगर्ने मन्त्री विरुद्ध कडा कदम चाल्ने अध्यक्ष दाहालको उद्घोषका साथ अबको-को मन्त्री बलिको बोका हुने हुन् भनी चर्चा शुरु भएको छ। यो चर्चाका साथ मन्त्रीहरुको कमीकमजोरी खोतल्न पनि शुरु भएको छ। तर भरखरै एकीकृत पार्टीभएकोले मन्त्रीहरुलाई कार्वाही गर्नु त्यति सजिलो छैन। तैपनि केही दिन जनमानसमा यो चर्चा रहिरहनेछ।