प्रेसलाई अंकुश नलगाऊ

१.  नेपालमा पटक-पटक आन्दोलन भए, ऐतिहासिक जन आन्दोलनहरु भए। ती आन्दोलनहरुबाट व्यवस्था फेरिए, संविधान फेरिए। तैपनि २००७ सालको आन्दोलन  सबभन्दा ठूलो मानिन्छ र त्यसले नेपाली जनमानसमा भित्रैदेखि प्रभाव पारेको छ। त्यसैको परिणाम नेपालमा प्रजातन्त्र आएको थियो र यो प्रजातन्त्र शब्द नेपालीका लागि सर्वाधिक प्रिय भएर रहेको छ।

२. २०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्रको घाँटी निमोठेर पञ्चायती व्यवस्था लागू गरे। तैपनि उनले त्यही पञ्चायती व्यवस्थालाई पञ्चायती प्रजातन्त्र भने। उनले प्रजातन्त्रको जग तलैदेखि राख्ने भनेर अनेक किसिमले स्वतन्त्रतामा अंकुश लगाए। प्रेस स्वतन्त्रतामाथि प्रतिबन्ध नै लगाए।

३. नेपालको प्रेसले देशमा भएको ऐतिहासिक जन आन्दोलनहरुमा राजनीतिक पार्टीरुलाई साथ र सहयोग गरेका छन्। प्रजातन्त्र/लोकतन्त्र ल्याउन प्रेसको भूमिका सधैं उल्लेख्य रहेको छ। त्यसरी आएको परिवर्तन पछि राजनीतिक नेताहरुले प्रेसको भूमिकाको प्रशंसा पनि गर्दछन् र प्रेस स्वतन्त्र हुनुपर्ने विचार पनि व्यक्त गर्दछन्।

४. नेताहरु मध्ये अधिकांश नेताहरुको त्यो विचार आफू सत्तादेखि बाहिर रहँदा मात्र रहन्छ। सत्तामा पुगेपछि तिनै नेताहरुलाई त्यो प्रेस स्वतन्त्रता घाँडो जस्तो हुन्छ र उनीहरुले आफ्नो विचारलाई “यू र्टन” गर्दछन् र प्रेसमा विभिन्न बहाना बनाएर अंकुश लगाउने गर्दछन्।

५. सत्तादेखि बाहिर हुँदा प्रेसको निर्वाध प्रयोग हुनुपर्दछ। प्रेसको अधिकार सीमित गरिनु हुँदैन भन्नेहरु सत्तामा पुगेपछि प्रेसको अधिकारको कुरा विर्सन्छन्। उनीहरु अनि प्रेसको कर्तव्य सम्झाउँछन्। जिम्मेवारी सम्झाउँछन् र यताउता गरी प्रेसलाई अंकुश लगाउने गर्दछन्।

६. प्रेसलाई अंकुश लगाउने काम कतिपय नेताहरुको निहित स्वार्थपूर्र्तिका लागि गरिन्छन् भने कहिले काहीँ उनीहरुले अपनाएको व्यवस्थाको विशेषताको रुपमा पनि त्यस्तो गर्ने गरिएका पाइन्छन्। अहिले व्यक्तिको गोपनीयताको कुरा ल्याएर सत्ताधारीहरुले प्रेसमाथि अंकुश लगाउन खोजिरहेका छन्।

७. राष्ट्रको चौथो अंगको रुपमा रहेको प्रेसमाथि अंकुश लगाउँदा र सेन्सर गर्ने गरिँदा कतिपय सत्ताधारीहरु अन्धाझैं भएका घटना विश्वमा धेरै छन्। सत्ता भनेको सधैं आफूमा मात्र रहँदैन। भोलि सत्तादेखि बाहिर आउनु पनि पर्दछ। त्यसकारण सत्तामा बस्नेहरुले प्रेसलाई शत्रु होइन, बरु आफ्नो आँखा सम्झेर आफूले नदेखेको विकृति र विसंगति देखाइदिन्छ भनेर प्रेसलाई स्वतन्त्र छाड्नु पर्दछ, अंकुश लगाउनु हुँदैन।