प्रश्नको घेरामा श्वेतपत्र

१. अर्थमन्त्री डा. युवराज खतिवडाले हालै सार्वजनिक गरेको श्वेतपत्रमा देशको ढुकुटी रित्तियो भनेर नकारात्मक किसिमले जे जसरी आर्थिक चित्र प्रस्तुत गरेका छन्, त्यसमा धेरैले प्रश्न सोध्न थालेका छन्। अर्थमन्त्रीले समग्र आर्थिक परिसूचकहरु नकारात्मक रहेको र बजेट अनुशासनको उल्लघंन गरिएको भन्दै उनले विगतका सरकारहरुलाई दोषारोपण गर्ने प्रयास गरेका छन्।

२. अर्थमन्त्री डा. खतिवडाले प्रस्तुत गरेको श्वेतपत्र यथार्थ अर्थमा श्वेतपत्र जस्तो नभएको, त्यो पूर्वाग्रहले तैयार गरिएको तथा त्यसमा भोलि आफूले केही गर्नासाथ, आफूले यत्ति छिटो प्रगति गरेको देखाउने मनसायबाट प्रभावित भएको उल्लेख गरेका छन्। देशको आर्थिक स्थिति राम्रो पनि नभएको तथा अर्थमन्त्रीले भनेजस्तो रित्तिएको अवस्थामा पनि नपुगेको अवस्था छ।

३. राष्ट्रबैंकका पूर्व गभर्नर तथा योजना आयोगका पूर्व उपाध्यक्ष अर्थशास्त्री दीपेन्द्र बहादुर क्षत्रीले अर्थतन्त्र खराब बाटोमा गयो भनेर हल्ला गर्नुको पछाडि जस लिने सोचले काम गरेको बताएका छन्। उनले अहिले केही छैन भनेपछि भोलि केही हुँदा मैले गरेको भनेर दावी गर्न पाउने ठाउँ राखेको आरोप लगाएका छन्। अरु अर्थशास्त्रीहरुले पनि त्यसमा औंला ठड्याएका छन्।

४. पूर्व अर्थमन्त्री डा. रामशरण महतले पनि भविष्यमा जस लिन अर्थमन्त्री खतिवडाले अर्थतन्त्रलाई नकारात्मक देखाएको आरोप लगाएका छन्। डा. महतले जुन तथ्याङ्क ल्याउँदा ब्रि्रेको देखिन्छ, त्यो मात्र देखाइयो भन्दै राजस्वबारे श्वेतपत्रमा गलत हिसाब प्रस्तुत गरेको उल्लेख गरेका छन्।

५. डा. महतले सरकारी संस्थानहरु निजीकरण गरिएको काम विधिवत गरिएको उल्लेख गरेका छन्। उनले सरकारी संस्थामार्फत् उद्योग व्यापारमा सरकारी एकाधिकार कायम राखेको भए देशले यत्ति छिटो विकास गर्न सकदैनथ्यो भन्ने उल्लेख गरे। उनले अहिले एउटा छाला जुत्ता कारखाना निजीकरण गरेको मात्र हेरेर हुँदैन भन्ने त्यसको प्रभाव अहिले ४० ओटा भन्दा बढी जुत्ता कारखाना खुलेको बताए।

६. सरकारी संस्थाहरु निजीकरण गर्ने काम सधैं विवादास्पद भएको छ। एक पक्ष निजीकरण गर्नुपर्दछ भन्दै संस्थान मार्फत् सरकारको एकाधिकारको अन्त गर्न चाहन्छ। अर्को पक्ष निजीकरणको विरोध गर्दछन्, तर वर्षौदेखि बन्द भएको संस्थान चलाउनेतिर सक्रियता पनि देखाउँदैनन्। अर्थमन्त्री डा. खतिवडा पटक-पटक योजना आयोगका उपाध्यक्ष र राष्ट्रबैंकका गर्भनर पनि भए, तर बन्द भएको उद्योग चलाउनेतिर प्रयास गरेको कहिले देखिएन।

७. नवीन्द्रराज जोशी उद्योगमन्त्री हुँदा नेपाल औषधि लिमिटेड, विराटनगर जुटमिल लगायतका केही उद्योग चलाउने प्रयास गरेका थिए। श्वेतपत्रमा यस सम्बन्धमा यो सरकारले अब के गर्छ भन्ने केही छैन। अर्थमन्त्री डा. खतिवडाको श्वेतपत्र श्वेतपत्र जस्तो नभएकोले यो श्वेतपत्र प्रश्नै प्रश्नको घेराबन्दीमा फँसेको छ र यो श्वेतपत्र डा. खतिवडाले स्वच्छ छविको लागि नसुहाएको भन्ने पनि गरिएको छ।