प्रम देउवाको सम्बोधन

१. प्रधानमन्त्री शेरबहादुर देउवाले शनिवार संयुक्त राष्ट्र संघको ७२ औँ महासभालाई सम्बोधन गर्दै नेपालको शान्ति प्रक्रिया र संविधान कार्यान्वयनको क्षेत्रमा भईरहेको प्रयासबारे विश्व समुदायलाई अवगत गराए। उनले नेपालको शान्ति प्रक्रिया आफ्नै किसिमको रहेको र यो प्रक्रिया विश्वको लागि उत्कृष्ट र उदाहरणीय रहेको उल्लेख गरे।

२. प्रधानमन्त्री देउवाले नेपालले यस पटक राष्ट्रसंघीय मानव अधिकार परिषद् सदस्यमा उम्मेदवारी दिएको उल्लेख गर्दै सो पदमा नेपालले पहिलो पटक उम्मेदवारी दिएकोले नेपाललाई सो पदमा जिताउन पनि आग्रह गरे। नेपालले मानव अधिकार र शान्ति स्थापनाको क्षेत्रमा पहिलेदेखि काम गर्दै आएको छ। संयुक्त राष्ट्रसंघ अन्तर्गत शान्ति सेनामा आफनो सेना पठाएर पनि नेपालले योगदान दिँदै आएको छ। उनले शान्ति सेनामा आफ्नो योगदान बढाउन तैयार रहेको पनि बताए।

३. यस अघिका महासभामा नेपालका प्रतिनिधि मण्डलका नेताहरुले धेरै वर्ष नेपाल शान्ति प्रक्रियामा गएको र संविधान निर्माणको काम गरिरहेको उल्लेख गर्ने गरेका थिए भने यस पटक प्रधानमन्त्री देउवाले नयाँ संविधान कार्यान्वयन गर्ने क्रममा स्थानीय तहको चुनाव सम्पन्न भएको सगर्व उल्लेख गरे। जसले नेपालमा सकारात्मक परिवर्तन भएको विश्व समुदायले अवगत गरे।

४. प्रधानमन्त्री देउवाले आफ्नो भाषणमा नेपाल सधैं शान्ति सुरक्षा र निशस्त्रीकरणको पक्षमा रहेको बताउँदै उत्तर कोरियाले हालै लगातार क्षेप्यास्त्र परीक्षण गरिरहेकोमा विरोध जनाए। उनले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले उत्तर कोरियामाथि लगाएको नाकाबन्दीको पक्षमा नेपाल रहेको कुरा पनि जानकारी गराए।

५. उनले आफ्नो देश राष्ट्रसंघको पुनर्ःर्संरचनाको पक्षमा रहेको पनि अवगत गराए                            करिब एक दशक अघि राष्ट्रसंघको पुनः संरचना गर्ने र सुरक्षा परिषद्को सदस्य थप गर्ने एक रिपोर्ट तैयार गरिएको थियो। तर एक दशक बितेर पनि त्यसको पुनः संरचनाको प्रयास भएको छैन। त्यही संरचनाको आशले भारत र  जापानले सुरक्षा परिषद्को स्थायी सदस्य हुन कुटनैतिक लबि· गर्दै आएका छन्।

६. उनले नेपालमा महाभूकम्प गएको बेला राष्ट्रसंघले पुर्‍याएको सहयोग र उद्धार कार्यको स्मरण गरी राष्ट्रसंघको सहयोगको लागि धन्यवाद ज्ञापन गरे। उनले नेपालको शान्ति प्रक्रियामा राष्ट्रसंघले पुर्‍याएको योगदानको प्रशंसा गर्दै त्यसको लागि पनि धन्यवाद दिए।

७. प्रधानमन्त्री देउवाले राष्ट्रसंघमा रहँदा विभिन्न देशका राष्ट्रप्रमुख र सरकार प्रमुखहरुसँग भेटघाट गरेका छन्। खास गरेर उनले सार्क राष्ट्रका प्रमुखहरुसँग भेटेर सार्क शिखर सम्मेलनको आयोजना गर्नुपर्नेमा जोड दिए। पाकिस्तानमा एक वर्ष पहिले हुनुपर्ने शिखर सम्मेलन हुन सकेको छैन। उनले भुटानका समकक्षीसँगको भेटमा भुटानी शरणार्थी फिर्ता गर्न पनि आग्रह गरेका छन्। उनको त्यो आग्रहले भुटानी शरणार्थीहरुमा एउटा उत्साह थप भएको छ।