प्रधानमन्त्री भारत भ्रमणमा

१. प्रधानमन्त्री के.पी. ओली भारतको तीन दिने राजकीय भ्रमणका लागि आज नयाँ दिल्लीतर्फ प्रस्थान गर्दै छन्। उनी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा त्यसतर्फ जान लागेका हुन्। प्रधानमन्त्री भएपछि यो उनको पहिलो विदेश भ्रमण हो। नेपाली प्रधानमन्त्रीहरुले आफ्नो पहिलो विदेश भ्रमण भारतबाट शुरु गर्ने गरेझैं प्रधानमन्त्री ओलीले पनि त्यो परम्पराको निर्वाह गरेका छन्।

२. प्रधानमन्त्री ओलीको भारत भ्रमणका लागि भारत धेरै आतुर देखिएको थियो। भारतका प्रधानमन्त्री मोदीले पहिलो पटक हाम्रा प्रधानमन्त्रीलाई शुभकामना दिँदा नै भारत भ्रमणको निम्तो दिएका थिए। उनले त्यो निम्तो दोहोर्‍याएका मात्र होइनन्, आफ्ना विदेशमन्त्री सुष्मा स्वराजलाई विशेष दूतका रुपमा नेपाल पठाएर व्यग्रता व्यक्त गरेका थिए।

३. प्रधानमन्त्री ओलीको यो भ्रमणबाट दुर्इ देशको सम्बन्धमा निश्चय नै सुधार आउने छ। भारतले नेपालमाथि नाकाबन्दी लगाएदेखि नेपालीहरु भारतप्रति रुष्ट छन्। त्यति मात्र होइन, भारतको हेपाहा प्रवृत्ति, त्यसले सीमा अतिक्रमण गर्ने गरेको तथा सीमानामा अनधिकृत रुपले बाँध आदि बनाएर वषायाममा नेपाली भूभाग जलमग्न गर्ने गरेको, व्यापारमा नेपाली व्यापारीहरुलाई अनावश्यक झन्झट दिने गरेबाट पनि नेपालीहरु पीडित र शोषित भएको महसुस गर्दैछन्।

४. भारतले नेपालमा धेरै विकास निर्माणका धेरै काम कुराहरु गर्ने सन्धि, सम्झौता गरेको छ। ठूल्ठूला नदीनालाबाट विद्युत् निकाल्ने सन्धि पनि भएको छ। तर ती अधिकांश सन्धि, सम्झौताको कार्यान्वयन भएका छैनन्। नदीनालाको कुरा गर्दा एउटा बिर्सन नसकिने के पनि छ भने नेपालीहरुले नै निर्माण गर्ने भनेर आर्थिक स्रोत सबै जुटाएको अरुण तेस्रो मुखमा राख्न लागेको गाँस पोखिएझैं त्यो भारतको पोल्टामा परेको छ।

५. प्रधानमन्त्रीको भारत भ्रमणमा दुर्इ देशका बीच के-के विषयमा सल्लाह परामर्श होलान्, त्यो भोलि आउने नै छन्। तर नयाँ सन्धि सम्झौता गर्नुभन्दा भएका सन्धि सम्झौताको कार्यान्वयनमा जोड दिनु पर्दछ भन्ने आशय छ। नेपालका पूर्व प्रधानमन्त्रीहरु तथा परराष्ट्र विज्ञहरुले पनि प्रधानमन्त्रीलाई यस्तै सल्लाह सुझाव दिएका छन्।

६. भारतले नेपाली प्रधानमन्त्रीहरु सबैलाई पहिलो विदेश भ्रमण आफ्नै देशबाट गराउने प्रयास गर्दछ। अधिकांश प्रधानमन्त्रीहरुले पनि आफ्नो पहिलो विदेश भ्रमण भारतबाट गर्ने गर्दछन्। तर त्यसको फाइदा के भयो – पहिलो विदेश भ्रमण भारतमा नै गर्नुपर्ने परम्परा किन राख्नुपर्‍यो, यो प्रश्न नेपालमा व्यापक हुन थालेको छ।

७. छिमेकसँग सम्बन्ध सुधार्ने भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नीति छ भनिएता पनि त्यो व्यवहारमा देखिएको छैन। नेपालसँगको सम्बन्ध नै त्यसको राम्रो छैन। प्रधानमन्त्री ओलीको भ्रमण एक अवसर हो। यस पटक दुर्इ देशको सम्बन्ध सुधार हुनै पर्दछ। भारतले आफ्नो हेपाहापन परित्याग गनै पर्दछ, सीमा अतिक्रमण बन्द गनै पर्दछ तथा नेपाली भूमि जलमग्न हुने काम तत्काल रोक्नुपर्दछ। यी सबै भएपछि बल्ल अन्य सन्धि सम्झौताको कुरा आउँछ। यस्ता कुरामा प्रधानमन्त्री अरु चनाखो हुनुपर्दछ।