प्रदेश नं. २ को निर्वाचन

१. आज प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचन सम्पन्न हुन गइरहेको छ । अरु प्रदेशहरुको स्थानीय तहको निर्वाचन पहिलो चरण र दोस्रो चरण गरी यसअघि नै सम्पन्न भइसकेका छन् । आजको यो निर्वाचन तेस्रो चरणको हो । यसमा ८ जिल्लाका १३६ ओटा स्थानीय तहहरु छन् । सबै पार्टीको विशेष प्रतिष्ठाको विषय भएको वीरगञ्ज महानगर पालिकाको चुनाव पनि आज नै हुने भएको छ ।

२. सरकारले प्रदेश नं. २ को निर्वाचन तेस्रो चरणमा गर्ने निर्णय गर्दा धेरै शंका उपशंका गरिएको थियो। केही नेताहरुले त सरकारले चुनाव पन्छाउनलाई यो निर्णय गरेको भनी आरोप पनि लगाएका थिए। केहीले त्यो क्षेत्रमा चुनाव नै गर्न सक्दैन समेत भनेका थिए। ती सबै शंका उपशंकालाई हटाउँदै आज निर्वाचन हुन गइरहेको छ।

३. आजको चुनावको विशेषता यो पनि भएको छ कि पहिलो र दोस्रो चरणको निर्वाचनमा सहभागी नभएको राष्ट्रिय जनता पार्टीले शुरुदेखि उठाउँदै आएको संविधान संशोधनको प्रस्ताव सरकारले निर्णयार्थ संसदमा पेश गरेकोले पनि यो स्थिति आएको हो। यसले देशको राजनैतिक क्षितिज सफा र स्वच्छ पारेको छ।

४. प्रदेश नम्बर २ को चुनावलाई ठूला राजनीतिक पार्टीरुले प्रतिष्ठाको विषय मानेका छन्। सत्तारुढ नेपाली काँग्रेसले यसअघिको निर्वाचनमा पहिलो हुन नपाएकोमा असन्तोष जाहेर गर्दै यसमा पहिलो हुने गरी प्रयास गरेको जनाएको छ भने एमालेले पहिलो र दोस्रोमा झैं’ यसमा पनि आफँै पहिलो हुने कुरा दृढताकासाथ व्यक्त गरेको छ।

५. अर्काे सत्तारुढ पार्टीमाओवादी केन्द्रले आफ्नो मुकाम नै त्यसै क्षेत्रमा गरेको र धेरै मधेसवादी नेता र कार्यकर्ताहरु आफनो पार्टीका प्रवेश गरेकाले यस पटकको चुनाव आफ्नो पक्षमा हुने बताएको छ। त्यस्तै प्रदेश नम्बर २ लाई आफ्नै क्षेत्र ठान्ने राष्ट्रिय जनता पार्टीले यो निर्वाचनबाट झन् धेरै आशा अपेक्षा गरेको छ । अरु पार्टीको अवस्था पनि त्यस्तै छ।

६. सबैको आशा अपेक्षाको केन्द्र भएकाले प्रदेश नं २ को प्रतिस्पर्धा चर्को छ। केही नेताहरुले यो निर्वाचनलाई प्रतिष्ठाको विषय पनि बनाएकाछन्। खर्च पनि धेरै भएको अुनमान छ। निर्वाचन आचार संहिता पनि धेरैले उल्लंघन गरेको अवस्था छ। निर्वाचन आयोगले सजग र सतर्क भएर स्पष्टीकरण सोध्ने काम पनि तदारुकताका साथ गरेको छ।

७. सरकारले पनि शान्ति सुरक्षाको राम्रो व्यवस्था गरेको जनाएको छ। निर्वाचन आयोगले स्वतन्त्र, निष्पक्ष र धाँधली रहीत किसिमले निर्वाचन सम्पन्न गर्ने जनाएको छ। प्रदेश नं. २ संवेदनशील क्षेत्र पनि हो र महत्वपूर्ण क्षेत्र पनि हो। यो प्रदेशको निर्वाचनका साथ सबै स्थानीय तहको निर्वाचन समाप्त हुने भएकाले पनि यसको छुट्टै महत्व छ।