प्रजातन्त्रका योद्धा बास्तोला रहेनन्

१. प्रजातन्त्रका अथक योद्धा एवम् नेपाली काँग्रेसका नेता चक्र बास्तोलाको शनिवार काठमाडौं स्थित आफ्नै निवासमा निधन भयो। उनी ७२ वर्षका थिए। उनी ६ वर्ष पहिलेदेखि मस्तिष्कघातबाट थलिएका थिए। नेपाल र भारतका विभिन्न अस्पतालमा औषधोपचार गर्दा पनि उनी राम्ररी होसमा आउन सकेनन्।

२. प्रजातन्त्रको पुनर्वहाली भएपछि उनी भारतको लागि नेपाली राजदूत भएर गएका थिए भने उनी नेपालको परराष्ट्रमन्त्री पनि भएका थिए। उनी नेपाली काँग्रेसमा एक बौद्धिक व्यक्तिको रुपमा चिनिन्थे। नेताहरुले बराबर उनको सल्लाह-परामर्श लिने गर्दथे। नेपाली काँग्रेसमा उनको विशेष स्थान थियो।

३. त्यति कुराले मात्र उनको परिचय पूरा हुँदैन। उनी नेपाली राजनीतिमा चर्चित जहाज अपहरण काण्डका एक परिकल्पनाकार पनि थिए। जहाज अपहरण गरेका आफ्ना साथीहरुलाई के कसरी बचाउने र अपहरणबाट प्राप्त नगद रु. ३० लाख के-कसरी सकुशल जननेता वी.पी. कोइराला समक्ष पुर्‍याउने भन्ने जिम्मेवारी पनि उनले लिएका थिए।

४. उनी २ वर्ष ५ महिना जेल पनि परे। बंगलादेशको युद्धमा उनले नेपाली काँग्रेसको तर्फबाट हतियार पनि लगेका थिए। बंगलादेश छुट्टिने बेलामा हतियार नपाएर युद्ध शिथिल भएको बेला काँग्रेसले पठाएको हतियारले ठूलो काम गरेको थियो। वी.पी. कोइरालाले त्यसबेला त्यहाँ शेख मुजिबुर रहमानले जितेमा यता नेपालमा आधा जिते जस्तै हुनेछ भनेका थिए।

५. उनको चर्चा गर्दा अर्को महत्वपूर्ण एउटा कुरा पनि उल्लेख गर्नुपर्ने हुन्छ। उनलाई प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले जुन बेला राजदूत नियुक्त गरे, त्यसबेला उनीमाथि भारतमा जहाज अपहरणको मुद्दा चलिरहेको थियो। भारतले जहाज अपहरण जस्तो अपराधमा मुद्दा चलिरहेकोलाई राजदूतमा स्वीकार्न गाह्रो मानेको थियो। कोइरालाले यस्तो अस्त्रको प्रयोग गरे कि भारतले मुद्दा फिर्ता लिएर उनलाई स्वीकार्न बाध्य थियो।

६. दिवंगत बास्तोला कोइराला परिवारका नजिकका नातेदार थिए, तापनि उनी परिवारवादका विरोधी थिए। पार्टीको १२ औं महाधिवेशनमा उनले आफ्ना सहयोगीहरुका साथ मिलेर पार्टीका तेस्रो धारको घोषणा गरेका थिए। तेस्रो धारबाट भीमबहादुर तामाङ सभापतिको प्रत्यासी भएका थिए।

७. त्यसबेलादेखि उनी पार्टीको संस्थापन पक्षबाट टाढा भए भने अरु कार्यकर्ताहरुले उनलाई श्रद्धा र सम्मानपूर्वक हेरेका थिए। उनले अन्य पार्टीका नेताहरुसँग पनि राम्रो सम्बन्ध बनाएका थिए। उनी सबैसँग मिल्दथे आफ्नो काममा इमान्दार थिए र सक्षम थिए,। त्यस्तो व्यक्ति गुमाउनु ठूलो क्षति हो।