प्रचण्डको सकस

१. सरकार चलाउनु त्यसै पनि मुस्किलको काम हो। त्यसमा पनि अन्तरिम कालमा र संसदमा आफ्नो पार्टीको बहुमत नभएको बेला सरकार चलाउनु अरु कठिन काम हो। यस्तो कठिन काम भएता पनि प्रधानमन्त्री पुष्पकमल दाहालको यो आफ्नो दोस्रो कार्यकाल हो, आफूले धेरै अनुभव हासिल गरिसकेको र धेरैलाई चिनि जानि सकेकोले यस पटक आफूले सहजतापूर्वक सरकार चलाउने बताएका थिए।

२. समय परिस्थिति उनले सोचेजस्तो सरल र सहज भएन। उनको यो दोस्रो कार्यकालको समय जति बित्दैछ, उति उनी समस्याको भूमरीमा फस्दै गएका छन्। यी समस्यामध्ये केही परिस्थितिजन्य छन् भने त्योभन्दा बढी उनको स्वभाव, व्यवहार र कार्यशैलीका कारण उत्पन्न भएका हुन्। सस्तो लोकप्रियता आर्जन खोज्ने र जसलाई जे पनि हुन्छ, भइहाल्छ भनेर आश्वासन दिने कहिले काँही प्रोत्साहित गर्ने बानीले पनि समस्याले विकराल रुप धारण गरेको देखिन्छ।

३. आफ्नो चीन भ्रमणमा ठूल्ठूला कुरा गरेर आएका उनले यहाँ आफ्ना उप-प्रधानमन्त्रीहरुको मर्यादा क्रम मिलाउन नसकी दुर्इ जना उप-प्रधानमन्त्रीहरुको बोलचाल बन्द छ। त्यति मात्र होइन, त्यही कारणले मन्त्री परिषद्को बैठक समेत राख्न सकेका छैनन्। प्रधानमन्त्रीका रुपमा उनको निर्णय क्षमतामा प्रश्नचिन्ह उत्पन्न भएको छ र उनको यस कार्यले जगत हँसाई रहेको छ।

४. प्रहरी आइजीपी प्रकरणले पनि सरकारको कमजोरी देखाइरहेको छ। सवोर्च्चले सरकारले गरेको नियुक्ति बदर गरेको छ। त्यसपछि पनि सरकारले अर्को नियुक्ति गरेको छैन। यो प्रकरणमा सत्ता साझेदार दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको भूमिकालाई पनि प्रश्नको दायरामा राखेर हेर्ने गरिएको छ।

५. सरकारले मधेसको समस्या सुल्झाउन सकेन। मधेसवादी दलहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। चुनावको मुखमा आएर मधेसवादीहरु आन्दोलनमा उत्रदै छन्। अकोर्तिर नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराई पाँच दर्जनभन्दा बढी साना दलहरुलाई साथमा लिएर धर्ना कार्यक्रममा व्यस्त छन्। यो पनि समस्या माथि अर्का समस्या हो।

६. प्रधानमन्त्री दाहाललाई यस पटक राष्ट्रिय समस्याले मात्र पेलेको होइन, अन्तर्राष्ट्रिय समस्या पनि उत्तिकै चुनौतीपूर्ण भएर आएको छ। उत्तर र दक्षिणलाई सन्तुलनमा राख्न नसक्दा पनि उनले उत्तिकै सकस व्यहोर्र्नु परेको छ। भारतीय सीमा सुरक्षाबलको गोलीबाट कञ्चनपुरमा एक नेपाली मारिएको केशमा पनि सरकारले धेरै आलोचना सुन्न परेको छ। त्यसमा पनि सरकार खरो उत्रन सकेन।

७. प्रधानमन्त्रीले राष्ट्रिय र अन्तर्राष्ट्रिय समस्याको मात्र सामना गर्नु परेको होइन, उनको पार्टीभित्रको समस्या पनि उनको लागि उत्तिकै बोझिलो भएको छ। सयौंजनाको कार्यकारिणी समिति बनाएर पनि उनले पार्टीका पदाधिकारीहरु तोक्न सकेका छैनन्। सबै पदाधिकारीहरुले गर्नुपर्ने काम उनी आफैले गर्नु परेको छ। यस किसिमले उनी जताततैबाट कमजोर र प्रभावहीन हुँदै गएका छन्।