प्याराग्लाइडिङको बढ्दो महत्व

१. पोखराको प्याराग्लाइडिङ टोलीले नेपालको प्रतिनिधित्व गर्दै इण्डोनेशियामा हालै सम्पन्न एशियाली खेलकूदमा ऐतिहासिक रजत पदक जितेपछि प्याराग्लाइडिङको महत्व ह्वात्तै बढेको छ। नेपालले कुनै पनि इभेण्टमा पदक जित्न नसकेको बेलामा प्याराग्लाइडिङमा रजत पदक हात पारेको छ।

२. एशियाली खेलकूदमा पहिलो पटक प्याराग्लाइडिङलाई पनि खेलको रुपमा मान्यता दिएर पहिलो पटक भित्र्याएको हो। पहिलो पटकमा जित हात पार्नुलाई ठूलो सफलता मानिएको छ। यो सफलताको उपलक्ष्यमा गृह जिल्ला पोखरामा विजेता खेलाडीहरुको मंगलबार हार्दिक अभिनन्दन गरिएको थियो। यस अघि काठमाडौँमा उनीहरुको हार्दिक स्वागत गरिएको थियो।

३. प्याराग्लाइडिङको विभिन्न इभेण्टमध्ये नेपालले क्रस कण्ट्री पुरुष टिम इभेण्टमा सो पदक हासिल गरेको हो। सो टिममा बिमल अधिकारी, युकेश गुरुङ, विशाल थापा, सुशील गुरुङ र विजय गुरुङ सम्मिलित थिए। नेपाली टोली जापानसँग मात्र २७ अंकले पछि परेको थियो।

४. प्याराग्लाइडिङको महिला टोलीमा त्रिशा श्रेष्ठ, प्रतिमा भुजेल र सविता तामाङले सहभागिता जनाएका थिए भने उनीहरुको साथमा प्रशिक्षक योगेश भट्टराई, सानो बाबु सुनुवार र व्यवस्थापक शैलेन्द्र रावत इण्डोनेशिया गएका थिए। नेपाली टोलीले ६ ओटा पदकमा प्रतिस्पर्धा गरेको थियो।

५. प्याराग्लाइडिङ पोखराको आकाशमा उड्ने गरेको २० वर्ष भयो। २० वर्षमा यो खेल धेरै लोकप्रिय भएको छ र प्याराग्लाइडिङ कम्पनी खोल्ने क्रम पनि बढ्दो छ। पोखरामा मात्र होइन, अन्य जिल्लाहरुमा पनि प्याराग्लाइडिङ उडाउने गरिएको छ। यसलाई पर्यटक तान्ने एक आकर्षक खेलको रुपमा लिने गरिएको छ।

६. तर अहिले यो पर्यटक तान्ने कुरा मात्र नभएर विदेशमा नेपाल चिनाउने र नेपालको प्रतिष्ठा बढाउने कुरा पनि भएको छ। २० वर्ष पहिले तेक्वान्दोकी सविता राजभण्डारीले नेपालको लागि पहिलो पदक प्राप्त गरेकी थिइन। त्यसकारण प्याराग्लाइडिङको महत्व अरु बढेको छ।

७. प्याराग्लाइडिङ सम्बन्धी जेजति काम भइरहेका छन्, त्यो निजी क्षेत्रको प्रयासबाट मात्र भइरहेका छन्। सरकारको ध्यान यसतर्फ गएको छैन। अब सरकारले पनि यस क्षेत्रमा लागेकाहरुलाई प्रोत्साहित गर्ने काम गर्नु पर्दछ र पदक विजेताहरुलाई विशेष नगद पुरस्कारको घोषणा गर्नुपर्दछ।