पृथ्वीजयन्ती र राष्ट्रिय एकता दिवस

१. आज हामी पृथ्वी जयन्ती तथा राष्ट्रिय दिवस मनाउँदैछौँ। आज पृथ्वी जयन्ती भएको र बडामहाराजाधिराज पृथ्वीनारायण शाहले बाइसे चौबीसे राज्यमा छरिएर रहेको नेपाललाई एकीकरण गरी नयाँ नेपालको स्थापना गरेकाले उनको जयन्तीमा राष्ट्रिय एकता दिवस मनाइएको हो। केही वर्ष पछि सरकारले आज सार्वजनिक विदा घोषणा गरेको छ।

२. यो दिवस मनाउने कि नमाउने सम्बन्धमा धेरै विवाद उत्पन्न भएको छ। कुनै बेला पृथ्वी जयन्ती मात्र मनाउँदै आएको थियो भने पछि त्यसमा राष्ट्रिय एकता दिवस थपियो। पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवसको रुपमा मनाउँदा यो दिवसको महत्व र गरिमा बढेको अनुभूत गरियो। त्यही महत्वलाई मनन गरेर नै बिदाको घोषणा गरियो।

३. तर देशमा आएको राजनीतिक परिवर्तनका साथ यो दिवसको महत्वलाई पनि कहिले घटाउने र कहिले बढाउने गरियो। राजाको नाम सुन्न नचाहनेहरुले राजाको शालिक तोडफोड गरे। उनीहरुले पृथ्वी नारायण शाहको कीर्ति र इतिहासलाई पनि ओझेलमा पार्ने प्रयास गरे। यत्तिसम्म कि पृथ्वीजयन्ती र राष्ट्रिय एकता दिवस मनाउने परम्परालाई पनि तोडे।

४. हाम्रा नेताहरु आफूलाई जनभावना बुझेको जनताका प्रतिनिधि भन्दछन्। तर यस्तो व्यवहार हेरियो भने उनीहरु संकीर्ण र पूर्वाग्रही देखिन्छन् र जनभावनाबाट धेरै टाढा रहेको प्रष्ट हुन्छ। जनताले यो पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवसलाई कहिले बिर्सन सकेनन्। जसको कारण सरकारले फेरि यो दिवस मान्नु पर्ने आवस्था आयो र बिदा घोषणा गर्नु पर्‍यो।

५. पृथ्वी नारायण शाह गोर्खाका राजा थिए। उनले नुवाकोट जिते। काठमाण्डौ उपत्यकाका राजाहरुलाई आफ्नो आधिपत्यमा राखे र अन्त पनि जित्दै गए। तर उनले गोर्खा राज्यको विस्तारको रुपमा लिएनन्। गोर्खा साम्राज्यको कल्पना गरेनन्। नयाँ नेपालको स्थापना गरे। त्यसैले भन्नु पर्दछ कि उनी साम्राज्यवादी राजा होइनन्।

६. उनको नेतृत्वमा नेपाल एकीकरणको अभियान सञ्चालन भएकोमा दुर्इमत शायदै होला। त्यस दृष्टिले पनि उनी नेपालका संस्थापक हुन्। आफ्नो संस्थापकको जयन्ती मान्नु हाम्रो कर्तव्य पनि हो। संसारका सबैले आफ्नो पुर्खा र इतिहासको गौरव गर्दछन्। हाम्रा छिमेकी देशहरु भारत र चीनले पनि आफ्नो इतिहास, कला, कौशल, भौतिक संरचना र सम्पदाहरुको गर्व गर्ने गरेका छन्।

७. विगत १० वर्ष हाम्रो धेरै उथल-पुथलको वर्ष रह्यो। क्रमभ· गर्ने क्रममा हामीले धेरै मूल्य मान्यता गुमायौँ, विशेषता गुमायौँ। जसबाट हामीले धेरै क्षति व्यहोर्नु पर्‍यो। क्रमभ· त गरियो तर त्यसको विकल्प दिन सकिएन। हामीमा परिपक्वता देखिएन।तर अब भने तोडफोड गरिएका शालिक फेरि निर्माण गर्ने तिर लागेका छौँ। आजको दिनलाई फेरि राष्ट्रिय एकता दिवस भनेर मनाउँदै छौँ। यसमा पृथ्वी जयन्ती भन्नु वा जोड्नुमा कुनै हिच्किचाउनु पर्दैन। यो जनताले चाहेको कुरा हो। वास्तविकता हो, यथार्थ हो। यो वास्तविकता र यथार्थतालाई उदार र खुल्ला हृदयले स्वीकार्नु आजको आवश्यकता हो।