पुनःनिर्माणमा ढिलाई

१. देशमा भूकम्प गएको दुर्इ वर्ष बितेछ। दुर्इ वर्षमा पुनःनिर्माणका काम के कति भए भनेर मूल्याङ्कन गर्नेहरु सबै निराशप्रायः छन्। यत्तिसम्म कि पुनःनिर्माण प्राधिकरण आफै पनि आफ्नो काममा सन्तोष छैन। प्राधिकरणले पत्रकार सम्मेलन गरेर वितरण गरेको वितरण हेर्दा कतै सन्तोष गर्ने ठाउँ देखिएको छैन।

२. प्राधिकरणको विवरणमा २५ हजार घर बनिसकेका छन्। सरकारी अनुदान नलिइ घर बनाउनेको संख्या १८ हजार बढी छ भने गैरसरकारी संस्थाको सहयोगमा २५ सम्म घर बनिसकेको विवरणमा उल्लेख छ। त्यस्तै विद्यालय, स्वास्थ्य संस्था र अन्य आयोजनाको प्रगति पनि निराशाजनक छ। सहयोगको लागि गएका आइएनजिओहरु धेरै निर्माणमा भन्दा धर्ना प्रचारमा व्यस्त भएकोले पनि काम ढिलो भएको हो।

३. पुरातात्विक एवम् ऐतिहासिक सम्पदाको निर्माणको काम अरु निराशाजनक छ। सरकारको तर्फबाट यस क्षेत्रमा खास केही गर्न सकेको छैन। चर्चित धरहराको निर्माणको नक्सासमेत तयार भएको छैन। सिंहदरबारको निर्माण पनि अन्यौलमा छ। त्यसलाई भत्काएर पुनःनिर्माण गर्ने कि रेट्रोफिटिङ गरेर सिंहदरबारको विशेषता कायम राख्ने त्यसमा विवाद छ। विवाद धेरै सम्पदामा छ।

४. पुरातात्विक सम्पदाको पुनःनिर्माण आधुनिक सिमेण्ट प्रयोग गरेर गर्ने कि बज्रसुर्कीले बनाउने भन्ने सम्बन्धमा पनि उत्तिकै विवाद छ। फेरि ठेक्कामा दिने कि उपभोक्ता समितिमार्फत् गर्ने भन्ने विवादले धेरै सम्पदाको काम रोकिएको छ। काष्ठमण्डप, रानीपोखरीको मन्दिर आदि विवादका कारण रोकिएका छन्।

५. सरकारको काम ढिलो हुन्छ भनेर सबैले अनुमान गरेका थिए। त्यसमा पनि राजनीतिक उतार-चढाउ र सत्ता परिवर्तनले प्राधिकरणलाई प्रत्यक्ष प्रभाव पार्‍यो। कतिपय पीडित परिवारलाई प्राधिकरणको नक्सा नै मन परेन भने कतिपयले त्यसको मापदण्ड पूरा गर्न सकेका छैनन्। जसको कारण घर निर्माण गरिरहेकाहरुले दोस्रो किस्ताको रकम लिन सकेका छैनन्।

६. घर बनाउने ज्यामीको समस्या, ढुंगा, इट्टालगायत निर्माण सामग्रीको अभावले पनि पुनःनिर्माणको काम प्रभावित भएको छ। प्राधिकरणले खेताला, सिकर्मी, डकर्मीलाई तालिम त दिएको छ तर पर्याप्त भएको छैन। युवाहरुको विदेश पलायन पनि अहिले गाउँमा खट्केको विषय भएको छ।

७. अब दुर्इ वर्ष बितेको छ। यो बीचमा धेरै अनुभव पनि भएको छ। आर्थिक अभाव भन्ने भएको छैन। यस्तो अवस्थामा प्राधिकरणले आफ्नो काममा गति ल्याउनु पर्दछ। जहाँसम्म धार्मिक सम्पदाको सवाल छ, त्यसलाई त्यही ठाउँको सम्बन्धित समितिलाई जिम्मा दिइयो भने छिटो निर्माण हुन सक्दछ। बौद्धनाथ स्तुपले त्यो प्रष्ट देखाएको छ। बौद्धनाथ जस्तै अरु पनि निर्माण हुन सक्दछ।