पाल्पामा बस दुर्घटना

१.     पाल्पा तानसेनको लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका सहकारी अभियन्ताहरूले रिर्जर्भ गरेर शुक्रवार रामपुरको अन्धकारमुक्त सहकारीको अध्ययन अवलोकन भ्रमणमा गएको बस बीच बाटो हुमिन भन्ने ठाउँमा दुर्घटनाग्रस्त हुँदा बसमा सवार १४ जनाको मृत्यु भएको छ। बस विपरीत दिशाबाट आएको सवारीलाई साइड दिने क्रममा भीरबाट खसेको थियो।

२.     मृत्यु हुनेमा सहकारी संस्थाका अध्यक्ष विष्णुमान बज्राचार्य, उनका सहोदर भाइ सञ्चित बज्राचार्य, डिभिजन सहकारी कार्यालय पाल्पाका प्रमुख कृष्णबहादुर बोहरा, तानसेनका देवेन्द्रलाल प्रधान, कृष्णमान बज्राचार्य, छत्रमान शाक्य, गीता बुढाथोकी, बसन्ती खाँड, दुर्गादेवी श्रेष्ठ र मुना सारु रहेका छन्।

३. त्यस्तै सुशीलप्रसाद श्रेष्ठ, दुर्गाबहादुर सारु, लोकनाथ ढकाल, कमला कार्की रहेका छन्। ती मध्ये ११ जनाको घटना स्थलमा नै मृत्यु भएको छ भने ३ जनाको अस्पतालमा मृत्यु भएको थियो। बस चालक अनुज थापा, प्रविन बज्राचर्य र सन्तम बज्राचार्य गम्भीर घाइते भएकोले उनीहरूलाई हेलिकोप्टरबाट काठमाडौं लगिएको छ। अन्य घाइतेहरूको तानसेनका अस्पतालहरूमा उपचार गरिएको छ।

४. मृतक १४ जना सबै तानसेन बजारकै भएका र उनीहरू त्यहाँ सामाजिक सेवाका क्षेत्रमा पनि सक्रिय भएर काम गरिरहेका हुँदा तानसेन बजार त्यस दिन स्तब्ध भएको थियो। दुकानहरू त्यो घटना सुन्नासाथ आफै बन्द गरिएको थियो र मानिसहरू कोही दुर्घटनास्थल पुगेका थिए भने कोही अस्पतालतिर गएका थिए।

५. तानसेनको स्थिति त्यस्तो थियो भने रामपुरको अन्धकार मुक्ति सहकारीका पदाधिकारीहरू तानसेनको लक्ष्मी सहकारीका सहकारी अभियन्ताहरूको स्वागतका लागि फूलको गुच्छा, खादा, मायाको चिनो समेत तैयार गरेर अभियन्ताहरूको प्रतीक्षामा थिए। अकस्मात दुर्घटनाको समाचार सुनेर उनीहरू स्तब्ध भएका थिए। फूलको गुच्छा त्यसै ओइलाएको थियो।

६. हामीकहाँ विकास निर्माणका लागि सबै हतारिएका छन्। बाटोघाटो बनाउन सबै अग्रसर छन्। तर कहाँ कस्तो बाटो बनाउने, र कुन बाटोमा कस्तो सवारी साधन प्रयोग गर्ने आदि इत्यादि बारे कसैले वास्ता गरेका छैनन्। शुक्रवारको दुर्घटना साँघुरो बाटोमा लामो बस लगिएको र विपरीत दिशाबाट आएको सवारीलाई साइड दिँदा दुर्घटना भएको बताइएको छ।

७. त्यो दुर्घटना प्राविधिक कारणबाट भन्दा मानवीय कमी कमजोरीका कारणबाट भएको छ। मानवीय कमजोरीका कारण हाम्रा सडकहरुले धेरै नागरिकहरूको भोग खाएका छन्। अब यो अति भएको छ। त्यो कमी कमजोरीहरूलाई हटाउनु पर्दछ। हामी मृतकहरूप्रति श्रद्धासुमन अर्पण गरी उनीहरूको परिवारजनप्रति समवेदना व्यक्त गर्दछौं र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं।