परिवारवादको परिणाम

१. अफ्रीकी मुलुक जिम्बावेका सर्वाधिक लोकप्रिय ९३ वषीय राष्ट्रपति रर्बर्ट मुगावे सत्ता संघर्षको नराम्रो भुमरीमा फसेका छन्। राष्ट्रपति मुगावेले आफ्नी श्रीमती ग्रेस मुगावेलाई आफ्नो उत्तराधिकारी बनाउने उद्देश्यले गत साता उपराष्ट्रपति हमर्शन मन·वालाई पदबाट बर्खास्त गरेपछि त्यहाँ सत्ता संघर्ष शुरु भएको हो। सत्ता संघर्षमा सैनिकहरूले राष्ट्रपति मुगावेलाई आफ्नो नियन्त्रणमा लिएका छन्।

२. राष्ट्रपति मुगावे जिम्बावेका सर्वाधिक लोकप्रिय नेता हुन्। उनले जिम्बावे स्वतन्त्र गराउनमा आफ्नो ज्यान हत्केलामा हालेर स्वतन्त्र संग्रामको नेतृत्व गरेका थिए। उनले गरेको त्यो योगदानका कारण इ. १९८० मा जिम्बाबे स्वतन्त्र भयो। स्वतन्त्रता पश्चात् भएको निर्वाचनमा उनी राष्ट्रपति निर्वाचित भए। त्यही बेलादेखि उनी निरन्तर राष्ट्रपतिको ओहोदामा आसीन छन्।

३. उनको लोकप्रियतामा अझै खास परिवर्तन भएको होइन। तर जब उनले आफ्नी श्रीमतीलाई आफ्नो उत्तराधिकारी बनाउन खोजे त्यसबेलादेखि पार्टीका विभाजन आयो। उनले उपराष्ट्रपतिलाई बर्खास्त गरे भने उपराष्ट्रपति हमर्शन सैनिकतिर मिलेर राजनीति गर्न थाले। राष्ट्रपति पनि सैनिकको नियन्त्रणमा छन्। तर सैनिकहरू त्यसलाई “सैनिक कू” भन्न चाहँदैनन्।

४. सैनिकहरू राष्ट्रपति मुगावेले राजीनामा देवोस् भन्ने चाहन्छन्। उनीहरू राष्ट्रपतिले राजीनामा दिए विधिवत किसिमले अपदस्थ उपराष्ट्रपति हमर्शनलाई राष्ट्रपति बनाउन चाहन्छन्। तर राष्ट्रपति मुगावेले राजीनामा दिन चाहेका छैनन्। राष्ट्रपति माथि जनताको दबाब बढ्दै गएको छ। उनकै पार्टीका अधिकांश पदाधिकारीहरू पनि राष्ट्रपतिको राजीनामाको पक्षमा देखिएका छन्।

५. देश भित्रबाट समस्या समाधान नभएको र समस्याले लामो समय लिएकोले त्यहाँको क्षेत्रीय संगठन दक्षिण अफ्रीकी विकास समुदायले समस्या समाधानको प्रयास थालेको छ। त्यस संस्थाले राष्ट्रपति मुगावे र सैनिक अधिकारीहरूसँग वार्ता गरिरहेको छ। २/४ दिनमा त्यस संस्थाको प्रयासको परिणाम आउने अनुमान छ।

६. जिम्बावेका मानिसहरू रर्बर्ट मुगावेको लोकप्रियतालाई कदर गर्न तैयार छन्। तर उनीहरू परिवारवादको विरुद्धमा पनि उत्तिकै छन्, सैनिकहरू आफ्नो प्रयासलाई सफल पार्न प्रतिबद्ध छन्। तर उनीहरू यो सत्ता संघर्षलाई “कू” भनाउन चाहँदैनन्। उनीहरू सकेसम्म रक्तपास नहोस् भन्ने चाहिरहेका छन्। यो पनि यो सत्ता संघर्षको विशेषता हो।

७. जिम्बावेको समस्याको समाधान आज नभए पनि भोलि होला। तर जुन कानूनले त्यो समस्याको शुरुआत भएको छ, त्यसलाई हामीले पनि गम्भीरता पूर्वक लिनुपर्दछ। परिवारवाद हाम्रो राजनीतिमा मौलाउँदै गएको छ। त्यहाँ र्इमर्शन जस्ता त्यागी र योग्यलाई पन्छाएर राष्ट्रपतिले आफ्नी श्रीमतीलाई उत्तराधिकारी बनाउन खोजेझैं हाम्रा नेताहरूले आफ्ना योग्य र कर्मठ नेता र कार्यकर्तालाई पन्छाएर आफ्ना नातेदारहरूलाई अवसर दिँदैछन्। यो राम्रो लक्षण होइन। परिवारवादको परिणाम के हुन्छ भन्ने कुरा हामीले जिम्बावेबाट सिक्नु पर्दछ।