पत्रकार लंकेशको हत्या

१.भारतको कर्नाटक राज्यको राजधानी बैङगलोरमा मंगलवार राति आफ्नै घरनेर महिला पत्रकार गौरी लंकेशको गोली हानी हत्या गरिएको छ।जतिबेला उनी आफनो काम सिध्याएर घर र्फकदै  थिइन् त्यसै बेला मोटर साइकलमा आएका अपरिचित व्यक्तिले उनको टाउको र छातिमा सातराउण्ड गोली प्रहारगरेका थिए। उनी पचपन्न वर्षकी थिइन्।

२.पत्रकार गौरी लंकेशको त्यसरी हत्या गरिएपछि पत्रकारजगतमा खैलाबैला मच्चिएको छ। भारतमा यस किसिमको हत्याको घटना भएको यो पहिलो पटक होइन। यस अघि पनि बराबर लेखक एवं स्वतन्त्र पत्रकारको हत्या भइसकेको छ। विश्वको सबभन्दा ठूलो प्रजातान्त्रिक मुलुक भारतमा पत्रकारको हत्या गरिनु दुर्भाग्यको कुरा हो।

३. गौरी लंकेशका पिता पी. लंकेशले सधैँ मूलधारको विरोधमा आफनो कलम चलाउने गर्दथे। उनी कर्नाटक राज्यका प्रतिष्ठित पत्रकार थिए। पिताजीको निधन भएपछि गौरीले त्यही धार समातेर “गौरीलंकेश” पत्रिका चलाउने गर्दथिन्। उनले प्रेस तथा वाक स्वतन्त्रता माथि हिन्दुत्ववाद र उग्र राष्ट्रवाद सबैभन्दा ठूलो चुनौती भएको उल्लेख गर्दै त्यसबिरुद्ध सामूहिक रुपमा लडनु पर्ने कुरा औँल्याउने गर्दथिन्।

४. उनको त्यही विचार नै सायद उनको हत्याको कारण बन्यो। उनले केही समय पहिले देखि आफूलाई ज्यान मार्ने धम्की आइरहेको कुरा आफना नजिकका साथीहरुलाई बताउने गरेकी थिइन्। यद्यपि निष्पक्ष र निर्भिक पत्रकार गौरी लंकेशले त्यसको किञ्चित पनि परवाह गरिनन्। उनी आफनो अभियानमा लागिरहिन्।

५. अहिले जताततै उग्र राष्ट्रवादको लहर चलेको छ। अमेरिका देखि विभिन्न देश हुँदै त्यो हावा भारत पसेको छ। भारतमा धर्मान्धता र उग्रराष्ट्रवाद यति चर्को हुँदै छ कि  त्यहाँ अल्पसंख्यक समुदाय विशेषतः मुसलमानहरुले खतरा महसुस गरेका छन्। गौ हत्या गरेको एवं गाईको मासु बेचेको आरोपमा धेरैको ज्यान गएको छ। कतिपय निरपराध व्यक्तिको पनि हत्या गरिएको समाचार आइरहेका छन्।

६. पत्रकारले निश्चय नै देखेको कुरा लेख्नु पर्दछ। अतिवादको विरोध गर्नु पर्दछ। त्यसरी शासन प्रशासनको विरोध गर्दा पत्रकार सधैँ प्रतिपक्षको भूमिकामा रहेकोजस्तो देखिन्छ। जुन कुरा शासन प्रशासनमा रहेका असहिष्णुहरुले सहिन सक्दैनन् र कहिलेकाँही पत्रकारहरु उनीहरुको कोपभाजको शिकार हुनु पर्दछ।

७. पत्रकार लंकेशले केही समयदेखि भारतमा हिन्दु कट्टरता र बाङलादेशमा इस्लाम धर्मको अतिवादको  विरोधमा लेख्दै आएकी थिइन् , कट्टर पंथीहरुलाई त्यो पाच्य भएको थिएन। उनीहरु यति असहिष्णु भएका थिए कि  आफनो विचारसंग सहमत नभएकालाई धम्की आदि दिने गर्दथे। त्यस्तै धम्की लंकेशलाई पनि दिइएको थियो। तर उनले आफनो अभियान त्यागिनन्। त्यो अभियानमा लाग्दा लाग्दै उनले शहादत प्राप्त गरिन्। उनी त यो संसारमा रहिनन् तर उनको विचार कहिल्यै मर्ने छैन। सधैँ रहिरहनेछ। त्यसैले उनलाई अमर बनाउने छ, अविस्मरणीय बनाउने छ।