पचहत्तर हजारले एकसाथ धम्मपद पाठ गर्ने

१. गिनिज बुकमा नाम लेखाउन मानिसहरूले विभिन्न किसिमका आर्श्चर्य र अनौठो कार्यक्रमहरू गर्ने गरेका छन्। नेपालमा पनि केही वर्षदेखि कीर्तिमानीहरुले आफ्नो कीर्ति देखाएर गिनिजबुकमा नाम लेखाउने गरेका छन्। त्यस्तै एउटा कार्यक्रम विश्व कीर्तिमानी परिषद् नेपालको आयोजनामा माघ २७ गते काठमाडौंको टुँडिखेलमा एउटा कार्यक्रम हुने भएको छ।

२. विश्व कीर्तिमानी परिषद्का अनुसार त्यस कार्यक्रममा १० हजार विशिष्ट व्यक्तिहरुसहित ७५ हजार सर्वसाधारणको उपस्थित हुनेछ। त्यो ठूलो भेलाको यो विशेषता हुनेछ कि उनीहरू सबैले एकसाथ बुद्ध धर्मको अत्यन्त चर्चित ग्रन्थ धम्मपदको वाचन गर्नेछन्। त्यति ठूलो जमातले एकसाथ कुनै शास्त्र वाचन गर्नु आफैमा एक रिर्कर्ड हो। त्यो रिर्कर्ड गिनिजबुकमा लेखिनेछ।

३. परिषद्का अनुसार त्यसरी ठूलो जनसमुदाय सम्मिलित गरी एक साथ धम्मपद पाठ गरी गिनिजबुकमा कीर्ति राख्नुको उद्देश्य भगवान बुद्ध नेपालमा जन्मेका हुन् भनेर प्रचार गर्नु हो। यसअघि सन् २०१४ फेबु्रअरी २ तारिखमा ४६ हजार ६ सय ८० जनाको सहभागितामा भारतमा १६ औं शताब्दीका कवि पोथालमद्वारा रचित ‘जानपना’ कविता वाचन गरेका थिए।

४. भारतले बराबर बुद्धको जन्मस्थल सम्बन्धी विवाद झिकेर बुद्ध भारतमा जन्मेको दावी गर्ने गरेको र कतिपय देशको पाठ्य पुस्तकमा पनि बुद्ध जन्मस्थल भारतमा भएको लेखिएकोले ती सबै भ्रम चिर्न यो कार्यक्रम आयोजना गर्नु परेको बताएका छन्। गिनिजबुकमा बुद्ध नेपालमा जन्मेको भनी सूचीकृत भएपछि त्यो भ्रम हट्दै जाने आयोजकहरुको विश्वास छ।

५. भगवान बुद्ध नेपालको लुम्बिनीमा जन्मेका हुन्। भारतका सम्राट अशोकले लुम्बिनीको दर्शन अवलोकन पश्चात् त्यहाँ राखेको अशोक स्तम्भमा लिखित अभिलेखले प्रष्ट भएको छ। अशोक स्तम्भमा ब्राह्मी लिपिमा भगवान बुद्ध लुम्बिनीमा जन्मेका हुन् भनिएको छ।

६. संयुक्त राष्ट्र संघ आफैले बुद्ध जन्मस्थान लुम्बिनीको विकासको गुरुयोजना तैयार गर्न लगाएका थिए भने युनेस्कोले विश्व सम्पदा सूचीमा लुम्बिनीलाई सूचिकृत गरेको छ। भारतले लुम्बिनीमा विहार र अन्य भौतिक संरचना समेत बनाएको छ भने भारतका प्रधानमन्त्रीलगायत सरकारका अधिकारीहरूले पनि बुद्ध नेपालमा जन्मेको कुरा पटक-पटक भन्दै आएका छन्।

७. भगवान बुद्ध नेपालमा जन्मेको भन्ने कुरा धेरै प्रमाणबाट सिद्ध भएको छ। नेपालीहरूले यस विषयमा धेरै प्रयासहरू गरेका छन् र उत्साहजनक परिणाम पनि आएको छ। अब हामीले बुद्ध नेपालमा जन्मेको मात्र नभनेर बुद्धका शिक्षा एवं उपदेश ग्रहण गरेर उनीहरूभन्दा उत्कृष्ट बौद्ध भएर देखाउनु आवश्यक छ। बुद्धका देशमा जन्मेका हामीले यस क्षेत्रमा पनि उदाहरण बनेर देखाउन सक्यौं भने त्यो अरु ठूलो कुरा हुनेछ।