निर्मला पन्त प्रकरणको प्रतिवेदन

१. सरकारले कञ्चनपुरकी निर्मला पन्तको बलात्कार पछि हत्या गरिएको घटना छानविनका लागि गठित उच्चस्तरीय समितिले बुझाएको प्रतिवेदन र्सार्वजनिक गरेको छ।प्रतिवेदनबारे मिश्रति प्रतिक्रिया आएको छ। केहीले पहिले सोचेजस्तै प्रतिवेदन भनेका छन् भने निर्मलाका बाबुआमाले औपचारिकता पूरा गरेजस्तो प्रतिवेदन भनेको छ। प्रतिवेदनले हत्या रहस्यमयी नै बनाएको छ।

२. बलात्कार पछि हत्या गरिएको निर्मला पन्तको घटना कञ्चनपुरवासीहरुको लागि मात्र चासो र चिन्ताको विषय नभई समस्त देशकै चर्चाको विषय भएको छ। साउन ११ गते उखुबारीमा शव भेटिएको बेलादेखि अहिलेसम्म अपराधी पत्ता लगाउन माग गर्दै ठाउँ-ठाउँमा जुलुश-प्रदर्शन भइरहेका छन्।

३. सरकार ठूलो दबाबमा छ। सत्तारुढ पार्टीकै भातृ संगठन युवा संगठनले प्रहरी प्रमुखको राजीनामा मागेको छ भने अन्य संगठनले गृहमन्त्री रामबहादुर थापाको राजीनामा माग्न थालेका छन्। प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले प्रधानमन्त्री के.पी. ओलीको असफलताको रुपमा लिएको छ।

४. काठमाडौंमा दिनहूँ भने झैं जुलुश-प्रदर्शन भइरहेका छन्। छानविन समितिको प्रतिवेदनमा कञ्चनपुरमा शुरुका दिनहरुमा जेजस्तो हल्ला चलेको थियो, त्यही कुरा समेटिएको संर्घष्ारत मानव अधिकारवादीहरुको भनाइ छ। प्रतिवेदनमा दोषी को हो भन्ने कुरा उल्लेख गरिएको छैन।

५. प्रतिवेदनमा घटनाको वर्णन छ। प्रहरीहरुको कमी कमजोरी औंल्याएको छ। केहीलाई कार्वाही गर्नुपर्ने कुरा पनि उठाइएको छ। घटनाको दशी प्रमाण नष्ट गरिएको कुरा सविस्तार उल्लेख गरिएको छ। दशी प्रमाण नष्ट गरिएकाले घटना जटिल भएको सर्वविदित छ।

६. दशी प्रमाण नष्ट गर्ने मानिस यो हो भन्ने जानकारीमा आएको छ। उनले कसको आदेशले र किन दशी प्रमाण नष्ट गर्ने काम गरे, त्यो महत्वपूर्ण कुरा छ। तिनीहरुलाई नै आधार बनाएर गहिरो र गम्भीर किसिमले सोधखोज गरियो भने सत्यतथ्य फेला पार्न त्यति गाह्रो हुने छैन। तर यो कुरा सरकारको इच्छाशक्तिमा भर पर्दछ।

७. गृहमन्त्रीले कहिले एक हप्तामा अपराधी पत्ता लाग्ने बताउँदै छन् भने सरकारमा बस्ने केहीले १३/१४ वर्षमा पनि अपराधी पत्ता लाग्छ भन्ने गरेका छन्। यो विषय राष्ट्रिय चिन्ता र चासोको कुरा भएकोले सरकारको ध्यान यसलाई दवाउनमा भन्दा अपराधी पत्ता लगाउने दिशामा केन्द्रित हुनुपर्दछ। यसमा अपराधी पत्ता लगाई कार्वाही गžयो भने त्यो यो सरकारको महत्वपूर्ण उपलब्धी हुनेछ।