दशैँको व्यवस्था

१. नेपालीहरुको महान चाड दशैँ नजिकै आएकोछ। दशैँ भव्यरुपमा रमाइलोसंग मनाउन भनेर यस उपलक्षमा लामो विदा दिने गरिएकोछ। त्यतिमात्र हैन राम्ररी खाउन् पीऊन् भनेर दशैँ पेश्की दिने गरिएको छ। त्यसको साथै सर्वसाधारणले घीउ, तेल, चिनी, नून लगायतका खाद्यान्न सर्वसुलभ होस् भनेर विभिन्न व्यवस्था गर्ने गरेको छ।

२. दशैँको उपलक्षमा कतै दशैं बजारको व्यवस्था गर्ने गरिएको हुन्छ भने कतै सस्तो बजार सञ्चालन गरिएको हुन्छ। त्यस्तो बजारमा अन्त भन्दा केही सस्तो हुने र दशैंलाई आवश्यक पर्ने सबै कुरा एकै ठाउँमा पाइने भएकाले सर्वसाधारण मानिसहरु त्यस्तो बजारमा आकषिर्त हुन्छन् र त्यहीँ गएर खरीद गर्दछन्।

३. तर केही वर्षदेखि यस्तो सस्तो बजार दशैंमा  देखिन छोडेको छ। कहिँकतै तुल टाँगेर दशैँको उपलक्ष्यमा छुट दिने गरिएको देखिन्छ। तर त्यो पनि हराउँदै गएको छ। साल्ट टे्रडि·ले झारो टार्ने किसिमले केही चिनी नून आदि बिक्री गर्ने व्यवस्था गरेको देखिन्छ। त्यो पनि काठमाडौं र एक दुर्इ शहरमा मात्र सीमित छन्।

४. आजभोलि उपभोक्ताहरुको हकहितका कुरा धेरै सुनिन्छ। सरकारले उपभोक्ताहरुको हकहितका लागि विभिन्न कदम चालेको समाचार पनि आउने गर्दछ। बजारमा बिक्री गर्न राखिएका वस्तुहरु गुणस्तरका छन् कि छैनन् भनी बराबर अनुगमन गरेका कुरा पनि पत्रपत्रिकामा प्रकाशित हुने गरेका छन्।

५. तर बजारका खाद्य सामग्रीहरु भने झन्झन् मिसावट गर्ने गरिएको छ। खाद्य सामग्रीमा अखाद्य पदार्थ मिसाउनु एक वर्गको या एक पक्षको धर्म नै भएको छ। सागसब्जीमा विषादी मिसाउनु पनि साधारण भएको छ। उपभोक्ताहरुले त्यही अखाद्य पदार्थ खाद्य पदार्थ भनेर खानु परिरहेछ।

६. उपभोक्ताहरुले जानाजान त्यस्तो अखाद्य पदार्थ खानु परिरहेछ। उपभोक्ताहरु शोषित र पीडित भएका छन्। तर उपभोक्ताहरुको हक हितका लागि गठित उपभोक्ता समितिहरु ती सबै कुरा केही नभए झैं गरी हेरेर बसिरहेका छन्। ती समितिहरु सरकारका प्रतिनिधिहरु बजार निरीक्षण गर्न जाने बेलामा एक शोभा मात्र भएर निरीक्षण टोलीमा समावेश हुने गरेका छन्।

७. अरु बेला नसोचे पनि यो दशैंको बेला के कसो गर्दा उपभोक्ताहरुको हित हुन्छ भनी सोचेमा राम्रो हुने थियो। दशैंमा समेत अखाद्य पदार्थ खान बाध्य हुनु कदापि राम्रो भएन। त्यस कारण यसमा सम्बद्ध पक्षहरुले सोचेर केही व्यवस्था गर्न हामी आग्रह गर्दछौँ।