दलाई लामाको स्पष्टीकरण

१. तिब्बती धार्मिक नेता दलाई लामाले गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मेका हुन भनी आइतवार स्पष्टीकरण दिएका छन्। उनको त्यो स्पष्टीकरण तिब्बती केन्द्रीय प्रशारणको तिब्बत डट् नेटमार्फत सार्वजनिक भएको छ। यसअघि उनको अभिव्यक्तिबारे सामाजिक सञ्जाल र नेपाली सञ्चार माध्यममा व्यापक विरोध भएको थियो।

२. दलाई लामाले करिब एक महिना पहिले भारत मेरठको एक स्कुलका विद्यार्थीले सोधेको जवाफ जे जसरी दिएका थिए, त्यो विवादास्पद भएको थियो। यसअघि धेरै व्यक्तिले भगवान् बुद्ध भारतमा जन्मेका हुन् आदि भनेर विवाद निम्त्याउने गरेका थिए। त्यस्तो अभिव्यक्तिले नेपाल र नेपालीको भावनामा गहिरो चोट पार्ने गरेको सर्वविदित छ।

३. भगवान् बुद्ध नेपालमा जन्मेका हुन् भन्नेमा विवाद छैन। त्यसको धेरै प्रमाणहरू छन्। त्यो कुरा बौद्ध वाङ्मय, लुम्बिनीको इतिहास र लुम्बिनी वरपर फैलिएर रहेका पुरातात्विक सामग्रीले प्रष्ट साथ बताइरहेका छन्। भारतका सम्राट अशोक २३ सय वर्ष पहिले बुद्धको जन्मस्थलको दर्शन गर्ने क्रममा नेपाल आएका र उनले लुम्बिनीमा गाडेको स्तम्भमा भगवान् बुद्ध लुम्बिनीमा जन्मेका हुन् भनी प्रष्ट साथ अंकित गरेका छन्।

४. चिनीया तीर्थयात्रीहरू फरियान र हुमन साङ लुम्बिनीको दर्शन गर्ने क्रममा नेपाल आएका थिए। चौथौं शताब्दीमा कर्ण्ााली प्रदेशका राजा रिपु मल्ल लुम्बिनीमा गएर अशोक स्तम्भमा आफ्नो नाम उल्लेख गरेको आज पनि देख्न सकिन्छ। विश्व विख्यात पुरातत्त्वविद् र इतिहासकारले पनि भगवान् बुद्ध नेपालको लुम्बिनीमा जन्मेको कुरा आ-आफ्ना कृतिमा उल्लेख गरेका छन्।

५. संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव उ थान्तले बुद्धको जन्मस्थल लुम्बिनीको विकासमा अग्रसारिता लिएको सर्वविदित छ। उनकै प्रयासको परिणाम लुम्बिनीको गुरुयोजना लागु भएको हो। युनेस्कोले लुम्बिनीलाई भगवान्को जन्मस्थल भनेर विश्व सम्पदा सूचीमा सूचिकृत गरेको वषौ भइसकेको छ। यस्ता धेरै प्रमाणहरू दस्तावेजमा प्रष्ट उल्लेख छन्।

६. ती सबै कुरा धर्मगुरु दलाई लामालाई थाहा नहुने कुरै छैन। उनीलाई थाहा छ। उनी आफै पनि करिब पाँच दशक पहिले लुम्बिनीको दर्शन गर्न आएका थिए। त्यस्तो व्यक्तिले बुद्धको जन्मस्थानबारे अन्यथा बोल्नु सम्भव नै थिएन। उनले मेरठका ती विद्यार्थीलाई अंग्रेजीमा जवाफ दिएका थिए। भाषागत कठिनाइले गर्दा अर्थको अनर्थ हुन गएर त्यो असमझदारिता उत्पन्न भएको हुनसक्छ।

७. दलाई लामा तिब्बेती बुद्ध धर्मका आधिकारीक व्याख्याता हुन्। उनी करोडौं अनुयायीका पवित्र गुरु हुन्। बुद्ध धर्ममा अटल विश्वास राख्ने उनले त्यस्तो असत्य बोल्नु सम्भव नै छैन। उनी सधैं सत्यका पक्षपाती भएर रहेका छन् र कहिकतै असमझदारी उत्पन्न भएमा उनी एक कदम हेरेर भएपनि आफ्नो उदारता देखाउने गर्दछन्। कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री छँदा नेपालका बौद्धहरूले लुम्बिनीमा भएको कार्यक्रममा उनलाई निम्त्याएका थिए। त्यो कुरा थाहा पाएर चीनले उनको आगमनको विरोध गर्‍यो। चीनले विरोध गरेको थाहा पाएपछि उनले आफ्नो कारणले नेपाललाई अप्ठेरो पार्दिन भनी नेपाल आउने कार्यक्रम रद्द गरेका थिए। प्रस्तुत विषयमा पनि उनले खुला हृदयले जे जसरी स्पष्टीकरण दिएका छन्, त्यो महत्त्वपूर्ण छ र त्यसले एकसातादेखि फैलिएको असमझदारी हराएको छ।