तिलौराकोट नै प्राचीन कपिलवस्तु

१. भारतले प्राचीन कपिलवस्तुबारे बराबर विवाद खडा गर्ने गरेको छ। अहिले फेरि त्यसले त्यस्तै विवाद उठाएको छ। केही दिन पहिले भारतीय दूतावासले संस्कृति, पर्यटन मन्त्रालय र नेपाल पर्यटन बोर्डसँग मिलेर लुम्बिनीमा आयोजना गरेको ‘नेपाल इण्डिया टुरिजम मार्ट’ कार्यक्रममा भारतीय पक्षले प्राचीन कपिलवस्तु र शाक्यमुनि राज्यको राजधानी भारतको पिपरहवा भएको दाबीसहितको प्रचार सामग्री वितरण गरेको छ।

२.     कार्यक्रममा वितरण गरिएको ‘दि पाथ’ नामक पुस्तकमा शुद्धोधनको दरबार कपिलवस्तु पिपरहवामा रहेको र त्यहाँ शाक्यमुनि बुद्धले आफ्नो बाल्यकालको अधिकाँश समय बिताएको उल्लेख गरिएको छ। समारोहमा संस्कृति पर्यटन मन्त्री पोष्टबहादुर बोगटी, भारतीय राजदूत जयन्त प्रसाद र पर्यटन सचिव सुशील घिमिरेको उपस्थिति रहेको समाचारमा जनाइएको छ।

३.     भारतको त्यो प्रचारबाजीले नेपालमा खलबली मच्चाएको छ। नेपालका मन्त्री र सचिवको समेत उपस्थितिमा भारतले त्यस्तो विवादास्पद सामग्री वितरण गर्नु हेपाहा प्रवृत्तिको प्रतीक हो। त्यस्तो बेलामा नेपालका आधिकारिक व्यक्तिहरूले त्यसको खण्डन नगर्नु पनि दुर्भाग्यको कुरा हो। आफ्नै भूमिमा र आफ्नै सामु त्यस्तो हुँदा उनीहरूले त्यसमा टिप्पणी गर्नुपर्दथ्यो।

४. प्राचीन कपिलवस्तु कुन हो भन्ने विवाद ११२/११३ वर्ष पहिले समाधान भएको कुरा हो। भारतको पिपरहवामा पहिले उत्खनन गर्दा केही महत्त्वपूर्ण भग्नावशेष फेला पारिएको थियो। त्यसैको आधारमा केहीले पिपरहवालाई प्राचीन कपिलवस्तु भन्न खोजेका थिए। तर नेपालको तिलौराकोटमा उत्खनन गरेपछि तिलौराकोटमा पाइएका राजा शुद्धोधनको दरबारको प्रष्ट भग्नावशेष र पुरातात्त्विक सामग्रीहरूको तुलनात्मक अध्ययन गरी पुरातत्त्वविद्हरूले तिलौराकोट नै प्राचीन कपिलवस्तु सिद्ध गरेका थिए।

५. तिलौराकोटमा प्रचीन कपिलवस्तुमा भएको सम्पूर्ण कुराहरू छन्। भौगोलिक दृष्टिले कपिलवस्तु नदी किनारमा रहेको र त्यहाँबाट हिमाल देखिन्छ भन्ने छ। तिलौराकोटमा ती दुवै छन्, पिपरहवामा ती छैनन्। तिलौराकोटमा राजा र रानीको दुर्इ स्तूपा छन्। शाक्यहरूको त्यसबेला वध गरिएको सगरहवा छ। सम्राट अशोकले राखेको ढुङ्गाका स्तम्भहरू निग्लिहवा र गोटीहवामा छन्।

६.     त्यसबेलाको विशेषज्ञहरूले तिलौराकोट नै प्राचीन कपिलवस्तु हो भनेपछि पनि त्यसबेलाको भारत सरकारले फेरि वरिष्ठ पुरातत्त्वविद् पि.सी. मुखर्जीलाई ती दुवै ठाउँको उत्खनन् गर्न पठायो। उनले दुवै ठाउँको उत्खनन् गरेपछि सन् १९०१ मा विस्तृत रिपोर्ट प्रकाशित गरी तिलौराकोट नै प्राचीन कपिलवस्तु भएको फेरि प्रमाणित गरेका थिए। उनको त्यो रिपोर्ट प्रकाशित भएपछि त्यो विवाद साम्य भएको थियो।

७.     भारतीय पुरातत्त्वविद्ले त्यस्तो अकाट्य प्रमाण दिएर रिपोर्ट प्रकाशित गरेपछि पनि नेपालले त्यसलाई कहिले महत्त्वका रूपमा हेरेन। तिलौराकोट अहिले पनि उपेक्षित छ। बेवारिसे अवस्थामा छ। नेपालको त्यस्तो चालले भारतीयहरूलाई भ्रम फैलाउन सजिलो भएको छ। यो एक वास्तविकता हो। अब नेपाल गम्भीर हुनैपर्दछ। नेपाल र नेपालीहरूले लुम्बिनीमा झैं तिलौराकोटमा पनि केही कार्यक्रम ल्याएर त्यसको प्रचार-प्रसार गर्नुपर्दछ र सरकारीस्तरले पनि भ्रामक कुराको तत्काल खण्डन गर्ने गर्नुपर्दछ।