छुवाछूत महारोग हो

१. महोत्तरी-बर्दिबास-४ का दलित महिला बुद्धमाया विश्वकर्माको नाम केही समययता बराबर पत्रपत्रिकामा आउने गरेको हो । उनको नाम पत्रपत्रिकामा आउने गरेको अरु कारणले होइन, उनलाई समाजले बहिष्कार गरेको कारणले यस्तो भेदभावपूर्ण समाजमा बसिरहनु भन्दा मर्नु बेस भनेर उनले आत्महत्या गर्न विष सेवन गरेकीले हो।

२. पानी छोएको कारण बुद्धमाया विश्वकर्मा र उनकी छोरी मनीषालाई आफूलाई माथिल्लो जातका भन्ने गाउँलेहरुले कुटपिट गरी दुर्र्व्यवहार गरे। गाउँलेहरुले गरेको त्यो दुर्र्व्यवहारको विरुद्ध उनीहरु सप्रमाण जिल्ला अदालत गए। उनीहरुले जिल्ला अदालतमा उजुरी दिए।

३. जिल्ला अदालतले कानून अनुसार कुटपिट गर्ने गाउँलेहरुलाई ६ महिना कैद र ५० हजार रुपैयाँ क्षतिपूर्र्ति दिनुपर्ने निर्णय सुनाए। अदालतले बुद्धमायालाई त जिताए, तर गाउँलेहरु सबै मिलेर उनलाई गाउँमा बस्नै नदिने भनी बहिष्कार गरे। अदालतले जिताएर पनि उनले हारेको महसुस गरिन्।

४. गाउँलेहरुले पहिले कुटपिट गरी दुर्र्व्यवहार गरेको घटनाभन्दा उनलाई यो बहिष्कारको चोट गहिरो भयो। गाउँबाट बहिष्कृत भएर कहाँ जाने कसरी जाने र कसरी जीवन निर्वाह गर्ने आदि इत्यादि समस्या मनमा घनीभूत भएर आएपछि यो भेदभावपूर्ण समाजमा बस्नुभन्दा मर्नु बेस भनेर उनले विष सेवन गरिन्।

५. नेपालमा छुवाछूत विरुद्धको ऐन बनेको साढे ६ दशक भयो। यसबीचमा देशलाई नै छुवाछूतमुक्त देश पनि घोषणा गरियो। तैपनि त्यो भेदभावको महारोग यो वर्णाश्रमी समाजबाट हटेको छैन। अझ पनि दलितको नाममा र कथित तल्लो जातको नाममा पीडित र शोषित हुनु परेको छ। सोचेमा यो ठूलो विडम्बना हो।

६. त्यसमा पनि अदालतले निर्णय गरेपछि त्यो निर्णय मान्नुभन्दा गाउँलेहरुले झन् पीडित पक्षलाई बष्किार गर्नु अदालतलाई नै चुनौती दिनु हो भने पीडित पक्षलाई अन्यायमाथि अत्याचार थुपार्नु हो। त्यसैले बुद्धमायाले विष सेवन गरेकी थिइन्। काठमाडौंको ग्रीनसिटि अस्पतालको आइसियुमा राखी उनको उपचार भइरहेको छ। अस्पतालले विषयको गम्भीरता र बुद्धमायाको आर्थिक अवस्थालाई बुझेर निःशुल्क उपचार गरिरहेको छ। उनकेा स्वास्थ्यमा क्रमिक सुधार पनि भएको छ।

७. हामी आफ्नो समाजमा चेतना आएको कुरा गछौर्ं सभ्य भएको पनि भन्छौँ। तर सभ्यताको कलंकको रुपमा रहेको छुवाछूत प्रथा अझै देखाउने गर्दछौँ। यत्ति धेरै जनप्रतिनिधि भएको ठाउँमा पनि छोएको नाममा कुटपिट गरिनु र त्यसमा पनि अदालतको फैसला पछि झन् पीडित पक्षलाई बहिष्कार गर्नु सभ्य समाजको लागि सुहाउने कुरा होइन। यस्तो घटना कहिँकतै दोहोरिनु हुँदैन।