चुनौतीपूर्ण घोषणा-पत्र

१. राजनीतिक पार्टीहरूले निकालेको घोषणा पत्र अहिले मतदाताहरु माझ चर्चाको विषय भएको छ। राजनीतिक पार्टीहरूले एकले भन्दा अकोर्ले बढी विकास र समृद्धिका कुरा उठाएका छन्। घोषणा पत्रमा उनीहरुले यो मुलुकलाई समृद्ध बनाउने आफू मात्र हो भन्ने पारेका छन् र त्यसको लागि आफूलाई भोट दिन आग्रह गरेका छन्।

२. मतदाताहरुले घोषणा पत्रलाई कसको भन्दा कसको राम्रो भन्ने दृष्टिले भन्दा कल्पनाशीलताको दृष्टिले को अगाडि रहेछन् भनेर हेर्दैछन् र सबभन्दा बढी कसले सपना बाँडेका छन्, त्यो हेर्दैछन्। घोषणा पत्रमा त्यस्ता कुराहरु पनि समावेश गरिएका छन्। जुन उनीहरुले २०४८ सालको चुनावी घोषणा पत्रमा पनि राखेका थिए।

३. राजनीतिक पार्टीहरू सबै घुमिफिरी सरकारमा गएको अवस्था छ। आफू सरकारमा रहँदा उनीहरुले कहिले आफ्नो घोषणा पत्र पल्टाएर हेरेनन्। आफूले चुनावको बेला बाँडेको सपनालाई वास्ता गरेनन्।तर जब चुनाव आउँछ, अनि त्यही कुरा दोहोर्‍याउँछन्। उनीहरुले सधैं त्यसो गर्नु जनतालाई उल्लु बनाउनु हो। जनताले पुरानो कुरा सम्झदैनन् भनी अवमूल्यन गर्नु हो।

४. उदाहरणका लागि पोखराको बसपार्क र फेवाताललाई लिन सकिन्छ। यहाँबाट पटक-पटक निर्वाचित जनप्रतिनिधहरुले सधैं फेवातालको अवस्था सुधार्ने र बस पार्क निर्माण गर्ने प्रतिबद्धता जनाएका छन्। तर उनीहरुले कहिले यतातिर ध्यान दिएका छैनन्। उनीहरुले अहिले पनि लाज नै नमानेर फेरि त्यही र त्यस्ता कुरा घोषणा-पत्रमा र आफ्नो भाषणमा उल्लेख गर्ने गरेका छन्।

५. उनीहरुले विकास निर्माण र समृद्धिका कुरा गर्नु मात्र काल्पनिक छन्। त्यो सपना मात्र हो। उनीहरुले त्यस्तो भन्नु जमिनमा हवाई ग्राउण्ड नवनाई जहाज ल्याउँछौ र जहाज अवतरण गराउँछौर्ं भन्नु हो। जहाज ल्याउन हवाइ ग्राउण्ड चाहिन्छ। त्यस्तै विकास निर्माणका लागि स्थायी सरकारका रुपमा रहेका कर्मचारीतन्त्र तैयार गर्नु पर्दछ। भ्रष्टाचारमुक्त प्रशासन चाहिन्छ। त्यस्तै जनप्रतिनिधि र सरकार चाहिन्छ।

६. ती कुरा विकास निर्माण र समृद्धिका पूर्वाधार हुन्। भ्रष्टाचारमुक्त प्रशासन बनाउने र आफू पनि त्यसबाट मुक्त हुने प्रतिबद्धता घोषणा-पत्रमा छैन। एनसेल प्रकरणमा सबै नेताहरुको जिब्रो लर्बरिएको र मुख सुकेको सबैले अनुभव गरेको कुरा हो। राजनीतिलाई अपराधीकरण गर्न दिने छैन भन्ने बचनबद्धता पनि घोषणा-पत्रमा छैन।

७. समाजमा व्याप्त क्यान्सर जसरी फैलिएका त्यस्ता विकृति र विसंगतिहरु हटाउनेतिर ध्यान नदिने, आफै चोखो र स्िनग्ध हुने संकल्प पनि नगर्ने तर जनतालाई यसो गछौर्ं र त्यसतो गछौर्ं भन्नु फेरि एक पटक जनताको आँखामा छारो हाल्नु हो। कुनै संघ संस्थाले घोषणा पत्र लेखन प्रतियोगिता गरेको भए त्यस्तो प्रतियोगिताको लागि पार्टीहरूले तयार गरेको घोषणा-पत्र उपयुक्त हुन्थ्यो होला। काल्पनिक उडानको दृष्टिले घोषणा-पत्र राम्रा छन्। महत्वाकांक्षी छन् र यी घोषणा-पत्र लेख्नेहरुकै लागि पनि अत्यन्त चुनौतीपूर्ण छन्। यस्ता घोषणा-पत्र मतदानको आधार शायदै हुन् सक्लान्।