चुनावमा सुरक्षा संयन्त्र

१. देशमा चुनावको वातावरण तातिए अनुसार शान्ति सुरक्षाको स्थिति अरु सुदृढ गर्नुपर्ने खाँचो प्रष्ट देखिएको छ। शुक्रवार सोलुखुम्बुमा काँग्रेस र कम्युनिष्ट कार्यकर्ताबीच भिडन्त भयो। भिडन्तमा परेर काँग्रेसका केही कार्यकर्ता घाइते भएका छन्। रुकुममा बिना विभागीय मन्त्री जनार्दन शर्माको गाडीलाई लक्षित गरी बम प्रहार गरिएको छ।

२. पोखरामा सम्पन्न प्रदेश नं. ४ र ५ को सुरक्षा गोष्ठीमा पनि सुरक्षाको खाँचो औल्याइएको छ। गोष्ठीमा निर्वाचन आयोगका आयुक्त इश्वरीप्रसाद पौडेलले निर्वाचनको बेला जुनसुकै अवस्थामा पनि सुरक्षा थ्रेट हुनसक्छ भनेका छन्। उनले सुरक्षा भनेको अक्सिजन भएको बताउँदै अक्सिजन कम हुनासाथै संकट पर्दछ भनेका छन्।

३. निर्वाचन हुन अझै धेरै दिन बाँकी छ। पहिलो चरणको निर्वाचिन मंसिर १० गते र दोश्रो चरणको २१ गते हुँदैछ। तर चुनावको सरगर्मी बढ्न थालिसकेको छ। जति चुनावको सरगर्मी बढ्छ, उति कार्यकर्ताहरूबीच भिडन्त हुने सम्भावना बढ्छ। यो कुरा विगतका घटनाहरूले पनि प्रष्ट देखाएका छन्।

४. त्यसमा पनि यस पटकको चुनावमा पार्टीको चुनाव लड्ने शैली केही फरक छ। पहिले पार्टीले आ-आफ्नै किसिमले अर्थात एक्लाएक्लै चुनाव लड्ने गरेका थिए भने अहिले एमाले र माओवादी केन्द्रले गठबन्धन गरी चुनाव लडेका छन् भने काँग्रेसले पनि आफ्नै किसिमले अरु पार्टीसँग तालमेल गर्ने प्रयास गरेका छन्। पार्टीबीच ध्रुवीकरण हुँदैछ।

५. एकातिरको स्थिति यस्तो छ भने अर्कोतिर विप्लव माओवादीले चुनाव विथोल्ने रणनीति लिएको छ। त्यस पार्टी आफूलाई क्रान्तिकारी र सक्षम देखाउन पनि केही गडबडी गर्नु पर्ने भएको छ। एमाले र माओवदी केन्द्र एक हुने सहमति भए पश्चात विप्लवको गतिविधि अरु बढेको देखिएको छ। त्यसको गतिविधि बढ्नु सुरक्षाको चुनौती अरु बढ्नु हो।

६. नेपालको सर्न्दर्भमा यो विडम्बना नै भएको छ कि राजनीतिक पार्टी आफू क्रान्तिकारी भएको देखाउन तोडफोड र बम बारुदको प्रयोग गर्ने गर्दछ। एउटा पार्टी तोडफोड जस्तो ध्वंशात्मक कार्य छोडेर शान्तिको बाटो अपनाउनासाथ अर्को क्रान्तिकारी जन्मने गरेको छ। माओावदी शान्तिको धारमा आएपछि अब देशमा ध्वंशात्मक क्रियाकलाप रोकिने छ भने अपेक्षा गरिएको थियो। जनताको त्यो अपेक्षा माथि पनि तुषारापात भईरहको  देखिँदैछ ।

७. विप्लव माओवादी त्यस दृष्टिमा समस्या रहेको छ। त्यसले बम र बारुदको प्रयोग गरिसकेको छ। सरकार र सुरक्षा निकायले त्यसलाई चुनौतीको रुपमा लिएर आफ्नो सुरक्षा संयन्त्र छिटै चुस्त र दुरुस्त पार्नु आवश्यक छ। डर र त्रासको वातावरण भएमा चुनाव निष्पक्ष, स्वतन्त्र र भयरहीत किसिमले हुन सक्दैन।