चुनावको साता

१. देशमा जताततै राजनीतिको चर्चा छ।केही महिना पहिले स्थानीय तह, प्रदेश र संघीय चुनाव भएको थियो भने अहिले देशकै शीर्ष पदहरूको निर्वाचन हुनगइरहेको छ। यही हप्ता भित्र राष्ट्रपति, उपराष्ट्रपति,सभामुख र उपसभामुख सबै पदहरूको निर्वाचन सम्पन्न हुँदैछ। त्यस हिसावले यो साता महत्वपूर्ण हुन गएको हो।

२. सभामुखको पदमा निर्विरोध निर्वाचन भएको छ। सभामुख पदमा एमाओवादी केन्द्रका नेता कृष्णबहादुर महरा निर्विरोध निर्वाचित भएका हुन्। उनका विरुद्धमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले त्यसरी विरोधमा उम्मेदवार खडा नगर्नु सदाशयता देखाउनु हो भन्ने मानिएको छ।

३. तर त्यही काँग्रेसले राष्ट्रपति पदमा भने आफ्नो उम्मेदवार खडा गरेको छ। एमालेले चाहिँ वर्तमान राष्ट्रपति विद्या भण्डारीलाइ नै आफ्नो प्रत्याशी बनएको छ। काँग्रेसले पनि कुमारीलक्ष्मी राईलाई उम्मेदवार बनाएर राष्ट्रपति विद्याभण्डारीलाई निर्विरोध हुनबाट रोकेको छ। काँग्रेसले त्यसो गर्नुपर्नाको कारण राष्ट्रपतिले काँग्रेसद्वारा सिफारिस गरिएका तीनजनालाई राष्ट्रियसभामा मनोनीत नगरेकोमा असन्तोष जाहेर गरेको उल्लेख गरेको छ।

४. राष्ट्रपतिको चुनावको लगत्तै उपराष्ट्रपतिको चुनाव हुनेभएको छ भने उता उपसभामुखको चुनाव पनि त्यही क्रममा हुने भएको छ। त्यसैले पनि देशको लागि यो साता ज्यादै महत्वको सावित भएको छ।संविधानलाई पूर्ण कार्यान्वयन गर्ने क्रममा यी चुनावहरू अत्यावश्यक मानिन्छन्।

५. केन्द्रको अवस्था यस्तो छ भने प्रदेशहरूमा प्रदेशका मुख्यमन्त्री नियुक्त भएकाहरूले विश्वासको मत लिएपछि आफ्नो मन्त्रीमण्डल विस्तार गर्ने भएका छन्। यो साता सबै प्रदेशहरूका सरकारहरूले पूर्णता पाउने छन्। त्यसपछि तिनीहरूको कामले गतिलिने अपेक्षा गरिएको छ।

६. केन्द्रको अवस्था पनि त्यस्तै छ। प्रधानमन्त्री के.पी.ओलीले पनि विश्वासको मत लिएपछि नै मन्त्रीपरिषदलाई पूर्णता दिने अनुमान गरिएको छ।सरकारमा संघीय समाजवादी फोरम भित्रिनेकुरा निश्चित भएको छ भने राष्ट्रिय जनता पार्टीे पनि सरकारमा जान खुट्टा उचालीसकेको छ। यस हिसावले प्रधानमन्त्री ओलीको सरकार दुर्इतिहाई बहुमतको सरकार हुँदैछ।

७. सरकार शक्तिशाली बन्नेमा शंका छैन। त्यसमाथि राष्ट्रपति पनि आफ्नै पार्टीका हुने भएकोले राष्ट्रपतिबाट बाधा अवरोध हुने अवस्था देखिँदैन। यस्तो स्थिति सिर्जना हुनु काम गर्नका लागि अनुकूल वातावरण बन्नु हो। यस्तो अवस्था विरलै हुन्छ। प्रधानमन्त्री, मन्त्रीहरू र सत्तारुढ पार्टीका नेताहरूले यसलाई ठूलै अवसर सम्झनु पर्दछ। तिनीहरू के कसरी अगाडि बढ्छन्, त्यो भने हेर्न बाँकी नै छ।