ग्याँस उद्योगले सिकाएको पाठ

१. वीरगञ्जको सुपर ग्याँस उद्योगमा केही दिन पहिले आगलागी भई जनधनको ठूलो क्षति भए पछि ग्याँस उद्योग कहाँ रहनुपर्ने र कसरी रहनुपर्ने आदि इत्यादिबारे सोधखोज हुन थालेको छ। सरकारले ग्याँस उद्योग कहाँ कसरी रहनु पर्ने भन्ने सम्बन्धमा फाइल खोलेर त्यसको मापदण्ड हेर्दैछ । सरकारी प्रतिनिधिहरु ग्याँस उद्योग भएको स्थानमा निरीक्षणमा गएको समाचार सम्प्रेषण भएको छ।

२. कतिपयले कसरी सोधखोज गरिन थालेको र उद्योग भएकै स्थानमा निरीक्षण गर्ने गरिएको कार्यलाई सुरक्षा सचेतना बढेको प्रभाव भन्दैछन्। त्यसरी मूल्याङ्कन गर्नेहरुले अब यस क्षेत्रमा अवश्य केही हुन्छ र सरकारले मापदण्ड विपरीत स्थापित त्यस्ता उद्योगलाई मापदण्डको पालना गर्न लगाई सुरक्षा कवच प्रदान गर्ने अपेक्षा गरिएको छ।

३. आगलागीको दृष्टिले ग्याँस मात्र खतरा होइन, अत्यधिक प्रज्ज्वलनशील भएका पेट्रोल, मट्टीतेल आदि सबै खतरनाक हुन्छन्। सरकारले ती सबै उद्योग र तिनीहरुको बिक्री वितरण कहाँ कसरी गर्नु पर्दछ र त्यसमा आकस्मिक किसिमले आगलागी भएमा कसरी त्यो आगो निभाउने आदिको कुरा पनि उल्लेख गर्ने गरेको छ।

४. तर व्यवहारमा सरकारको कार्यालयको फाइलमा उल्लेख भएको मापदण्ड के कति पूरा भएको छ भनी निरीक्षण गरेमा निरीक्षणकर्ताहरु आफै हैरान हुने छन्। फाइलमा उल्लेखित शर्त र मापदण्ड थोरै उद्योगले मात्र पालन गरेको देखिने छन्। फेरि यस्तो कुरा घटना भएको ५/४ हप्ता खुब सोधखोज हुन्छ, त्यसपछि त्यो सेलाएर जान्छ।

५. त्यस्ता उद्योगलाई पनि आफ्नै समस्या छ। मापदण्डमा वस्ती नजिक त्यस्तो उद्योग खोल्न पाइँदैन। तर उद्योग स्थापना गरेको केही वर्षपछि त्यस ठाउँमा बस्ती बढ्दै आउँछ। त्यसरी बढेको बस्तीलाई न कसैले रोक्न सक्दछ, न कि वस्ती बढ्यो भनेर स्थापना भएको उद्योगलाई अन्यत्र सार्न नै सकिन्छ। यस्तो व्यावहारिक समस्या हामीकहाँ छ।

६. अत्यधिक प्रज्ज्वलनशील मानिने पेट्रोल पम्पहरु बजारका घरमा नै राखेर कारोबार गरिहेको सबैले देखेकै कुरा हो। त्यो हेर्न विशेष निरीक्षण टोलीको आवश्यकता पनि पर्दैन। एक पटक नपरी कसरी चेतौँ भनेझैं अहिले सामान्य अवस्थामा त्यो कसैको सरोकारको कुरा नै होइन जस्तो छ।

७. वीरगञ्जको ग्याँस उद्योगको घटनाले धेरैलाई धेरै शिक्षा दिएको छ। सुरक्षा सचेतना बढेको कुरा गर्ने हो भने तत्काल यस क्षेत्रमा केही गर्नै पर्ने भएको छ। ग्याँस र पेट्रोलको क्षेत्रमा मात्र होइन, त्यस आगलागीमा दमकलका स्टाफको पनि मृत्यु भएको छ। दमकलका स्टाफहरुको उपयुक्त सुरक्षा सामग्रीको अभावमा मृत्यु हुने गर्दछ। उनीहरुको शिकायतलाई पनि ध्यान दिनु पर्दछ।