गैर-आवासीय कस्केलीहरुको सम्मेलन

१. भरखरै बडा दशैं मानेर रमाइरहेको पोखराले केही दिनदेखि फेरि अको ठूलो र रमाइलो दिनको प्रतीक्षा गरिरहेको छ। पोखरा र वरपरको वातावरण रमाइलो छ। माछापुच्छ्रे हिमाल आफ्नो वैंस खोलेर मुस्काइरहेको छ भने अन्नपूर्ण हिमाल बादलु घुम्टो ओढेर केही आफन्तलाई जिस्क्याउन खोजेझैं या आफै लजाएर चलमलाएको छ।

२. फेवाताल स्वच्छ र स्निग्ध छ। विश्व शान्तिस्तूपाले टाढैबाट नजिक आउन आमन्त्रण गरेको छ। पोखारका वरपरका वातावरण र प्रकृति मात्र होइनन्, पोखरेलीहरु पनि यो दिनको प्रतीक्षामा छन् र आज पोखरामा कास्की आदर्श सेवा समाज अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी र सदस्यहरुको स्वागत गर्न आतुर भएका छन्। त्यसैले आजको दिनको ठूलो महत्व छ।

३. विश्वभर छरिएर रहेका कस्केलीहरुलाई एकजुट बनाउने उद्देश्यले कास्की आदर्श सेवा समाज गठन गर्नु र कास्कीलाई समृद्ध बनाउन आवश्यक ज्ञान, सीप, अनुभव र लगानी गर्न तैयार हुनु ठूलो कुरा हो। “विश्वभरीका कस्केली खोजी अभियान, समृद्ध जन्मथलो हाम्रो स्वाभिमान” मूल नाराका साथ आज पोखरामा पहिलो सम्मेलन हुनु त्यसै पनि ठूलो कुरा हो।

४. विदेशमा बस्ने कस्केलीहरुले निजी स्तरमा आफ्नो गाउँ ठाउँमा सहयोग नगरेका होइनन्, तर उनीहरुबाट संस्थागत किसिमबाट अर्थात् व्यापक रुपले सहयोग भएको थिएन। हाम्रै छिमेकी बन्दीपुरेहरु बन्दीपुर बाहिर बसेर पनि बन्दीपुरको विकासमा सहयोग गरेको र पाल्पालीहरुले पाल्पाको विकासमा सघाएको नदेखिएको होइन। तर कास्कीमा त्यस्तो भएको थिएन। अब बाहिर बसेका कस्केलीहरुबाट पनि त्यसतो सहयोग आउनु खुशीको कुरा हो।

५. कास्की आदर्श सेवा समाजले यस पटक सय जना गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति दिने निर्णय गर्नु पनि ठूलो कुरा हो। समाजले यो छात्रवृत्ति प्रत्येक वर्ष वितरण गर्ने भएको छ। गैर आवासीय कस्केलीहरु विश्वका विभिन्न देशहरुमा फैलिका छन्। संस्थाले हालसम्म २२ देशमा रहेका कस्केलीहरु सर्म्पर्कमा आएको जनाएको छ। उनीहरुको खोजी अभियान जारी छ।

६. कास्की आदर्श सेवा समाज अन्तर्राष्ट्रिय समन्वय परिषद्ले आफ्नो सम्मेलनको प्रचार प्रसारको लागि सम्मेलनको पूर्वसन्ध्यामा हाफ म्याराथन प्रतियोगिताको पनि आयोजना गरेको छ। संस्थाले प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेहरुलाई क्रमशः ४० हजार, २० हजार र १० हजार र सान्त्वना पुरस्कार पाँच हजार दिने व्यवस्था गरेको जनाएको छ।

७. गैर आवासीय कस्केलीहरुको संगठन स्थापना गर्नु र यसप्रकारको सम्मेलन गर्नु आफैमा ठूलो कुरा हो। यसले कस्केली र गैर आवासीय कस्केलीहरुबीच सर्म्पर्क र सम्बन्ध अरु व्यापक र सुदृढ बनाउने छ। कास्कीको समृद्धिमा महत्वपूर्ण सघाउ पुर्‍याउने छ। यस्तो महत्वपूर्ण संस्था गठन गरेकामा हामी यसका संस्थापकहरुलाई धन्यवाद ज्ञापन गर्दछौँ। साथै सम्मेलनका सहभागीहरुलाई पोखरामा न्यानो अभिवादन गरी हार्दिक स्वागत गर्दछौँ र सम्मेलनको पूर्ण सफलताको कामना गर्दछौँ।