गैरआवासीय नेपालीहरुको विश्व सम्मेलन

१. गैरआवासीय नेपालीहरुको विश्व सम्मेलन शनिवर काठमाडौंमा शुरु भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको यो विश्व सम्मेलनमा ७७ मुलुकका शाखाका प्रतिनिधिहरुले भाग लिँदैछन्। “आवर वुमन, आवर युथ एण्ड सेकेण्ड जेनेरेशन फर स्ट्रगल फ्युचर” भन्ने नाराका साथ आयोजित विश्व सम्मेलन विगतको भन्दा ठूलो र महत्वपूर्ण छ।

२. करिब डेढ दशक पहिले स्थापना भएको यो गैरआवासीय नेपालीहरुको संगठन शुरुमा त्यति प्रभावकारी थिएन। त्यसबेला यसका संस्थापक अध्यक्ष उपेन्द्र महतो र उनका सहयोगीहरु संगठन विस्तार तथा सरकारसँग केही सुविधा माग्दै समय बितेको थियो। त्यसबेला कतिपयले विदेश गएकाहरु दशैं मान्न आएको समेत भनेर टिप्पणी गरेका थिए।

३. गैर आवासीय नेपालीहरुका लागि नागरिकताको समस्या थियो। संविधानले त्यसको व्यवस्था गरेको छ। एक पटकको नेपाली सधैंकालागि नेपालीहरुको प्रावधान हुनुपर्ने उनीहरुको जुन माग थियो त्यो पूरा भएको छ। उनीहरुलाई नेपालमा आएर काम गर्न सजिलो भएको छ।उनीहरुको सीप, प्रविधि र लगानी नेपाल भित्रिने अपेक्षा गरिएको छ।

४. संविधान निर्माण भएको छ। त्यस अनुसार स्थानीय तहको चुनाव पनि सम्पन्न भएको छ। निकट भविष्यमा संघीय संसदको र प्रादेशिक सभाको चुनावको कार्याक्रम घोषणा भएको अवस्था छ। देशमा स्थिर र लोकतान्त्रिक सरकार आउने भएकोले लगानी मैत्री वातावरण निर्माण भएको छ। यस्तो अवस्थामा अब ढिलो गर्नु हुँदैन।

५. गैर आवासीय नेपाली संस्था र व्यक्तिहरुले केही गरेनन् भन्ने होइन। उनीहरुले केही गरिरहेका छन्। बाढी पहिरो भूकम्पको महामारीमा सहयोग उपलब्ध भएको छ। गोरखा जिल्लाको लाप्राकका भूकम्प पीडितहरुका लागि बस्ने घर संगठनले निर्माण गरिरहेको छ। त्यो निर्माणका लागि लाप्राकवासीहरु शेष घलेलाई सम्झने गर्दछन्। संगठनले साना ठूला काममा ७० अर्ब रुपैयाँ व्यवसायिक लगानी गरिसकेको छ।

६. सरकारले देशमा लगानी मैत्री वातावरण भएकोले लगानी गर्न विदेशीहरुलाई आग्रह गर्दै आएको धेरै भयो। नेपालमा बस्ने नेपालीहरुले लगानी नगरेसम्म गैरआवासीय नेपालीहरु नआउने र गैर आवासीय नेपालीहरुले राम्ररी लगानी नगरेसम्म विदेशी ठूला लगानी नआउने भएकोले “ठूलो लगानी” को कुरा भाषणमा मात्र सीमित छ। यो प्रवृत्तिलाई सबै मिलेर तोड्नु आवश्यक छ।

७. साथै राजनीतिक पार्टीर पार्टीका नेताहरुले यो बन्दै गएको लगानी मैत्री वातावरणलाई अरु अनुकूल पार्नु आवश्यक छ। परिस्थिति अनुकूल बन्दै गएकोले गैर आवासीय नेपालीहरुले अब दायाँ बायाँ नहेरी आफू आफू मिलेर या नेपालीहरुसँग साझेदारी गरेर विदेशी सीप, प्रविधि र लगानी छिटो भित्र्याउनु आवश्यक छ। व्यक्ति मात्र धनी भएर नहुने रहेछ, देश धनी बन्नु पदो रहेछ भन्ने राम्ररी बुझेका गैर आवासीय नेपालीहरुले देशलाई समृद्ध पार्ने काममा बिलम्ब गर्नु हुँदैन। हामी यो विश्व सम्मेलनको पूर्ण सफलताको लागि हार्दिक शुभकामना व्यक्त गर्दछौँ।