गुरुङहरुको प्रशंसनीय कार्य

१. गुरुङ जाति आफ्नो भाषा, धर्म र संस्कृत्रि्रति धेरै सचेत छन्। उनीहरू देशमा एक भाषा, एक धर्मको नीति भएको बेलामा पनि आफ्ना भाषा, धर्म र संस्कृतिको जगेर्नामा लागि परेका थिए। त्यसबेला नेपाली भाषा र हिन्दू धर्म बाहेक अन्य भाषा, धर्ममा लाग्नेहरूलाई साम्प्रदायिक भनेर अलि हेंलाको दृष्टिले हेर्दथे।

२. गुरुङहरुले बौद्ध अघौर्ं सदनको स्थापना गरे। तमुधिं र तमुछोंज धिंको गठन गरे। संस्थागत रूपले धर्म, संस्कार र संस्कृतिको जगेर्ना गर्ने काममा निरन्तर लागे। आफ्नो भाषाको प्रवर्द्धनका लागि पनि उनीहरूले अनेक प्रशिक्षण र गोष्ठीहरू गरे। ती सबैको परिणाम लोपोन्मुख उनीहरूका ती कुराहरूको संरक्षण भएको मान्नु पर्दछ।

३. आज टोल-टोलमा उनीहरूका साझा घरहरू छन्। विदेशमा पनि संगठन खुलाएका छन्। एकलाई परेको बेला देश विदेशबाट सहयोग जुटाउने गरिएको छ। गुरुङहरूमा देखिएको त्यो एकता र सहयोगको भावना लोभलाग्दो छ। त्यो एकता र सहयोगी भावनाले उनीहरूको आत्मविश्वास बढाएको छ र संगठनका लागि केही गरौं भन्ने भावनाको विकास गरेको छ।

४. यसरी अघि बढिरहेका गुरुङहरूले अहिले फेरि अको महत्वपूर्ण काम गर्न गइरहेका छन्। त्यो हो – आफ्नो पैतृक थलो क्होंला सोंथरको अध्ययन। अन्नपूर्ण दोस्रो र लमजुङ हिमालको दक्षिणी भाग लमजुङ जिल्लामा अवस्थित क्होंला सोंथर समुद्री सतहदेखि ३३३० देखि ४२०० मिटर उचाइमा रहेको छ।

५. त्यस ठाउँमा भग्नावशेषहरु धेरै छन्। राजाको दरवारको भग्नावशेष छ। सभास्थल छ। सभा स्थलको बीचमा ३ हात जति अग्लो मौलो जस्तो ढुङगा छ। त्यसको वरपर गाउँवस्तीको ठूलो संरचनामा भग्नावशेष देखिएको छ। त्यहाँको ओडारमा कोठा पनि देखिएको छ। जसलाई च्महस्यो उ भनिन्छ। च्महस्यो उको अर्थ हुन्छ – भिक्षुणी बस्ने ओडार। त्यहाँ भिक्षुणी ध्यान बसेर धेरैको उपकार गरेको किंवदन्तीहरू त्यसको वरपरका वस्तीहरूमा सुनिन्छन्।

६. यो गुरुङहरूको जागरणको प्रतिफल नै मान्नु पर्दछ कि उनीहरूले त्यस गाउँपालिकाको नाम नै क्होंलासोंथर गाउँपालिका राखेका छन्। आजभन्दा १६/१७ वर्ष पहिले क्याम्ब्रिज विश्वविद्यालय र नेपाल पुरातत्व विभागका शोधार्थीहरूले त्यसको स्थलगत अध्ययन गरेका थिए। उनीहरूले १ हजारदेखि १ हजार २ सय वर्ष पुरानो भनी अनुमान गरेका छन्।

७. गुरुङहरूले र विशेषतः त्यस गाउँपालिकाले त्यसलाई विश्व सम्पदा सूचीमा राख्नुपर्ने कुरा उठाएका छन्। साथै उनीहरूले त्यसको उत्खनन र विकासमा सरकारले चासो राख्नुपर्नेमा पनि जोड दिएका छन्। उनीहरूले आफ्नो पैतृक थलोको लागि प्रयास गरे झैं अरूहरूले पनि गर्नु आवश्यक छ। इतिहासका प्राचीन कुरालाई उत्खनन गरेर प्रामाणिक गर्नु आवश्यक हुन्छ। त्यस दृष्टिले गुरुङहरूको त्यो प्रयास प्रशंसनीय मान्नु पर्दछ।