गुठीको प्रशंसनीय कार्य

१. पोखरा महानगरपालिका-३, नारायण स्थान गुठीको व्यक्तिले कब्जा गरेको जग्गा गुठीको नाममा फिर्ता समाचार सम्प्रेषण भएको छ। नारायण स्थान धार्मिक क्षेत्र विकास समितिले शनिबार पत्रकार सम्मेलन गरेर सो कुरा बाहिर ल्याएको हो। त्यसरी गुठीको जग्गा फिर्ता भएकोमा धार्मिक क्षेत्रले सन्तोष व्यक्त गरेको छ।

२. नारायण स्थान पोखराको पुरानो ऐतिहासिक मन्दिर हो। नारायण स्थानबाट नै पोखराका विभिन्न शैक्षिक संस्थाहरुको शुरुआत भएको थियो। पोखरामा आधुनिक शिक्षाको ज्योति प्रज्वलित गर्ने काममा पनि नारायण स्थानको महत्वपूर्ण भूमिका छ। अहिले पनि त्यहाँ नारायण स्थान मन्दिर, मैत्री चैत्य लगायतका सम्पदाहरु अवस्थित छन्।

३. त्यो एक महत्वपूर्ण स्थान भएर पनि श्रद्धालुहरुको सक्रियताको अभावमा त्यहाँका सम्पदाहरुको उचित रेखदेख र स्याहार संहार हुन सकेको थिएन। त्यस क्रममा त्यहाँका मूर्तिहरु चोरी भए। गुठीको जग्गाहरु पूजारीले भोग चलन गर्दा गर्दै केही जग्गाहरु आफ्नै नाममा दर्ता गरे केही बेचविखन भए।

४. पछिल्लो पुस्तालाई नारायण स्थान मन्दिरको नाममा कहाँ कति जग्गा छन् भन्ने समेत थाहा भएन। संरक्षणको अभावमा चल अचल सम्पत्ति हराउँदै गए। पछि गएर यस्तो स्थितिको सिर्जना भयो कि दैनिक पूजाआजा चलाउन समेत मुस्िकल भयो। त्यति ऐतिहासिक महत्व बोकेको त्यस ठाउँको महत्व नै घट्न थालेको अनुभूत भयो।

५. यस्तैमा संवेदनशील केही व्यक्तिहरुको सक्रियता नारायण स्थान धार्मिक क्षेत्र विकास समिति गठन गरियो। त्यस गुठीले मन्दिरको नाममा रहेका चल अचल सम्पत्तिहरु कहाँ के कति छन्, त्यसको खोजी गर्न थाल्यो। त्यसरी खोजी गर्दा एक जना फिरन्ते ब्रह्मचारी गणेश गिरीले १९४२ सालमा १२० मुरी धान फल्ने खेत र ४० मुरी अन्न फल्ने पाखो दान दिएको देखियो।

६. तर ती जग्गाहरु पूजारीले आफ्नो नाममा दर्ता गरेर अधिकांश जग्गा बिक्री वितरण गरिसकेको देखियो। बिक्री भइसकेको जग्गा फिर्ता गर्नु समितिको लागि फलामको च्यूरा चपाउनु सरह भयो। तैपनि त्यो जग्गा वापसीको लागि केही साधु, सन्यासी, बाल ब्रह्मचारीदेखि संवेदनशील व्यक्तिहरु निरन्तर लागिरहे।

७. त्यो मुद्दा अख्तियारमा पनि पर्‍यो। गुठी संस्थानमा पनि पुग्यो। ती दुवैले ९ कित्तामा रहेको ५० रोपनी जग्गा गुठीको रहेको ठहर गरेका छन्। यो एक ठूलो उपलब्धि भएको छ। निरन्तर प्रयास गरे हुँदा रहेछ भन्ने सन्देश पनि यसले दिएको छ। त्यस मन्दिर र मन्दिरको श्रीसम्पत्तिको संरक्षणका लागि वषौर्ं वर्ष लागिरहने सबैलाई यो अवसरमा सम्झनु आवश्यक छ। हामी उनीहरुको सदप्रयासको प्रशंसा गरी उहाँहरुप्रति हार्दिक सम्मान व्यक्त गर्दछौँ।