खेर गएको समय

१. बितेको महिना र बितेको हप्ता हाम्रो राजनीति र विकासको दृष्टिकोणबाट बडो महत्वपूर्ण रह्यो। बितेको महिना हाम्रा स्थानीय तहको निर्वाचन भएको एक वर्ष पुगेको थियो भने बितेको साता हाम्रो प्रदेश सरकार र केन्द्र सरकारको सय दिन पुगेको अवस्था थियो। ती सबैले त्यस अवधिको काम कुराको मूल्यांकन गरेका छन्।

२. मूल्यांकनमा ती कसैले पनि गर्वका साथ आफूले यो-यो महत्वपूर्ण काम गरेको भनी देखाउन सकेनन्। तिनीहरुले ८/१० ओटा कानून र २/४ ओटा साधारण र नियमित काम गरेर समय बितेको बनाए। केहीले अरुलाई दोष दिए भने टाठाबाठाहरुले आफ्नै कर्मचारीहरुको समेत सहयोग नपाएको आरोप लगाएर आफू दोषमुक्त हुन खोजे।

३. निर्वाचनको बेला स्मार्ट सिटीको कुरा खूब चलेको थियो। तर त्यसपछि स्मार्ट सिटी कस्तो हुन्छ, त्यो कसरी बनाउने भन्नेमा समेत त्यसरी विचार-विमर्श भएको पाइएन। अझ पनि नागरिकहरुले स्मार्ट सिटी यस्तै हुन्छ भनी भन्न सकेका छैनन्। बनाउने कुरा त धेरै पछिको भयो।

४. त्यसबेला उत्साही उम्मेदवारहरुले १०० ओटा काम मात्र होइन, १०१ काम गरेर देखाउने उद्घोष गरेका थिए। तर अहिले त्यसरी उद्घोष गरेकाको स्तर पनि सुकेर गएको हो कि त्यो कुरा दोहोर्‍याएको सुनिएको छैन। उनीहरुले त्यो कुरा दोहोर्‍याएका छैनन् भने र्सवसाधारणले उनीहरुले के कति काम गरे भनेर भन्न नै छाडे।

५. सबै प्रदेश सरकारले आ-आफ्नो भविष्य उज्ज्वल देखेका छन्। उनीहरुले अरुले भन्दा आफूले विकास निर्माणका काममा उत्कृष्टता हासिल गरेर नम्बर १ हुने प्रतिबद्धता व्यक्त गरेका छन्। तर यो सय दिनमा उनीहरुले के कति ठोस काम गरे भनेर १, २, ३ गरी कसैले देखाएको पाइएन।

६. केन्द्र सरकार पनि त्यसै गरी अलमलिए जस्तो देखियो। सरकारको अधिकांश समय एमाले र माओवादी केन्द्रको एकीकरण गर्नमा बित्यो। त्यसमा केन्द्रीय नेताहरु विशेष गरी एमालेका तत्कालीन अध्यक्ष तथा प्रधानमन्त्री के.पी. ओली र माओवादी केन्द्रका तत्कालीन अध्यक्ष सफल भएका छन्। सरकारले यो वर्षलाई आधार वर्ष बनाउने घोषणा गरेको छ।

७. जम्मा स्थानीय तहको एक वर्ष तथा प्रदेश र केन्द्र सरकारको १०० दिन विकास, निर्माण र समृद्धिको हिसाबले त्यसै बितेको छ। यस अवधिमा कुनै ठोस उपलब्धि हासिल भएन। देशका सबै सरकारहरु सुविधाजनक बहुमतमा छन्। प्रतिपक्षीले बाधा अवरोध गर्‍यो भन्ने कुरा पनि छैन। यस्तो अवस्थामा उल्लेखनीय काम गर्नुपर्नेमा त्यस्तो गरेको देखिएन। यो अवस्था निराशाजनक रह्यो। आगामी समय यस्तो नहोस्, यो हाम्रो कामना छ।