क्रिकेटमा सफलता

१. नेपाली क्रिकेट टोलीले अन्तर्राष्ट्रिय क्रिकेट टोलीसँग एक दिवसीय म्याच खेल्ने मान्यता प्राप्त गरी सोमवार स्वदेश फर्केपछि काठमाडौंमा उनीहरुको भव्य स्वागत गरिएको छ। उनीहरुले जिम्बावेमा विभिन्न क्रिकेट टोलीहरुसँग म्याच खेलेर त्यो मान्यता प्राप्त गरेका हुन्। उनीहरुको यो सफलतालाई नेपालको क्रिकेट खेलको इतिहासमा ठूलो महत्व प्रदान गरिएको छ।

२. नेपाली क्रिकेट खेलाडीहरुले अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २२ वर्ष भयो। तर खेलाडीहरुले यो उपलब्धि प्राप्त गर्न सकेका थिएनन्। उनीहरुको अथक प्रयासले यस पटक त्यो उपलब्धि प्राप्त भएको छ। यो मान्यताले गर्दा नेपाली खेलाडीहरुले चार वर्षसम्म एक दिवसीय म्याच खेल्न पाउने छन्।

३. यसअघि एक पटक नेपाली खेलाडीले २०/२० को म्याचमा पनि यस्तो मान्यता पाएको थियो। तर त्यो अवसरबाट खास फाइदा उठाउन सकेनन्। यो अवसर त्यो भन्दा ठूलो हो र ५० ओवरको हो। यो अवसरको जसरी पनि सदुपयोग गर्नुपर्दछ र अब तल झर्ने अवस्थामा पुर्‍याउनु हुँदैन। यसमा सम्बद्ध सबै पक्ष चनाखो हुनुपर्दछ।

४. यो कुरा लेख्दा सबैको ध्यान क्रिकेट संघमा जान्छ। क्रिकेटको उन्नति र विकासको लागि क्रिकेट संघ गठन गरिएको छ। तर त्यो संघ आपसी विवादले ग्रस्त छ। त्यसका पदाधिकारीहरुले खेलेको विकास हेर्ने भन्दा आफ्नो निहीत स्वार्थ हेर्ने गरेका छन्। उनीहरुको अहमले गर्दा क्रिकेट खेलको जति विकास हुनुपर्ने हो, त्यो हुन सकेको छैन।

५. कप्तान पारस खड्काको नेतृत्वमा क्रिकेटले जे जति उन्नति गरेको छ, त्यो मान्नु पर्दछ। त्यसकोलागि खेलाडीहरुलाई शुभकामना र बधाई ज्ञापन गर्नुपर्दछ। उनीहरुले सीमित स्रोत र साधनको सदुपयोग गरी खेललाई यो उचाइसम्म पुर्‍याए। भौतिक पूर्वाधारको अभावमा पनि उनीहरु निरन्तर लागिरहेका छन्।

६. संघका पदाधिकारीहरुले सोच्नुपर्ने बेला आइसकेको छ कि अब उनीहरुले विवाद लम्ब्याउनु हुँदैन। अब पनि विवाद लम्ब्याइयो भने त्यो घातक हुन सक्छ। सरकारले पनि लोकप्रिय खेल क्रिकेटलाई बढावा दिनुपर्दछ र खेलाडीहरुलाई सक्दो सहयोग गरेर प्रोत्साहित गर्नुपर्दछ ताकि उनीहरुको उत्साह बुलन्द रहिरहोस्।

७. क्रिकेटका खेलाडीहरुले देशको अवस्था चिन्नु पर्दछ। यहाँ जहाँसुकै राजनीति घुसेको छ र राजनीतिले सबै क्षेत्र बिगारेको अवस्था छ  । तैपनि देश र समाजको लागि उत्साहित हुनुपर्दछ र खेलनै आफ्नो जीवन हो र यसैबाट आफ्नो जीवन सार्थक पार्ने प्रयास गर्नुपर्दछ। क्रिकेटरको भविष्य सधैं  उज्यालो छ। अन्तर्राष्ट्रमा नै राम्रो क्रिकेटरको माग छ। यी सबै कुरालाई चिन्तन मनन गरी खेलाडी साथीहरु अघि बढ्नु पर्दछ, निरन्तर अघि बढ्नु पर्दछ।