कोरियाको शान्ति सन्देश

१. सधैं आणविक र परमाणु प्रयोगका ध्वंसात्मक गन्ध आउने कोरियाबाट शान्तिको सन्देश सम्प्रेषण भएको छ। उत्तर कोरियाका सवोर्च्च नेता किमजोन र दक्षिण कोरिया राष्ट्रपति मुन जामको भेटवार्तापछि त्यहाँबाट त्यो शान्तिको सन्देश आएको हो । उनीहरूको भेटवार्ता अस्ति दक्षिण कोरियाको सीमाना पान्जुन्जोन भन्ने स्थानमा भएको थियो।

२. दुर्इ कोरियाबीच सन् १९५० पछि लगातार तीन वर्ष युद्ध भएको थियो। युद्धले कोरियाको मानसिकतालाई विभाजित गर्‍यो। उत्तर कोरियामा साम्यवादी शासन स्थापित भयो भने दक्षिण कोरियामा प्रजातान्त्रिक व्यवस्था कायम भयो। त्यसबेलादेखि तिनीहरूका बीच वाक्युद्ध जारी रहेको थियो।

३. उत्तरकोरिया हातहतियार बढाउनेतिर लाग्यो भने दक्षिण कोरिया औद्योगिक विकासतिर लाग्यो। उत्तरको सम्बन्ध चीनसँग घनिष्ठ बन्दै गयो भने दक्षिणको अमेरिकासँग। हरेकमा यिनीहरूको विचार फरक हुँदै गयो। केही समयपहिले उत्तरले आणविक र परमाणु परीक्षण गर्दै गरेपछि विवादले चर्को रूप लियो।

४. उत्तरले त्यसरी परमाणु परीक्षण गर्दै गएकोमा त्यसमाथि संयुक्त राष्ट्रसंघले नाकाबन्दीको आह्वान गर्‍यो। नाकाबन्दीले उत्तरको अर्थतन्त्रलाई नराम्रो प्रभाव पार्‍यो। उत्तरका नेता किमले केही हप्ता पहिले अकस्मात चीन भ्रमण गरेपछि स्थितिमा अन्तर आएको अनुमान गरिएको छ।

५. दक्षिण कोरियामा भएको हिउँदे खेलकूदले पनि सकारात्मक परिवर्तन ल्याएको थियो। त्यो खेलकूदमा उत्तर दक्षिण एक भएर एउटै झण्डामुनि मार्चपासमा सहभागी भएका थिए। त्यसपछि नेताहरू आउने जाने शुरुभयो। तिनीहरूका बीचमात्र आवत-जावत भएको होइन, चीन र अमेरिकाका प्रतिनिधिहरूको पनि महत्त्वपूर्ण भेटघाट भयो।

६. यो भेटघाटमा दुवै नेताहरूले अब आफूहरूले युद्ध नगर्ने घोषणा गरेका छन्। उत्तरले परमाणु परीक्षण नगर्ने आशय व्यक्त गरेको छ। युद्धको धम्की दिँदै आएको देशले शान्तिको शब्द उच्चारण गर्नुलाई पनि सबैले ठूलो उपलब्धि सम्झेका छन्। तिनीहरूले नियमित भेटघाट गरी स्थितिलाई सामान्य बनाउनु आवश्यक छ।

७. चीन र अमेरिकाले पनि तिनीहरूलाई उचाल्ने काम गर्नु हुँदैन। उत्तर कोरिया सामान्य अवस्थामा आउन लागेकाले राष्ट्र संघले लगाएको नाकाबन्दी खुकुलो पार्नु पर्दछ। नाकाबन्दीले त्यहाँको जनताले कष्टप्रद जीवनयापन गरिरहेका छन्। त्यो स्थितिको पनि अन्त गर्नु उचित देखिन्छ।