कृषिको कुरा

१. हम्रो राष्ट्रले सधैं महत्व दिने गरेको र अधिकांश नागरिकहरु संलग्न भएको क्षेत्र हो-कृषि। कृषि क्षेत्र यत्ति महत्वपूर्ण छ कि हाम्रो राष्ट्रिय आय समेत यसको सफलता र असफलतामा निर्भर गर्दछ। कृषिवाली राम्रो भए त्यसले हाम्रो आय वृद्धिमा सघाउ पुर्‍याउँछ। यत्ति महत्वपूर्ण क्षेत्र भएर पनि हामीले यसमा सारभूत प्रगति  गर्न सकेका छैनौँ।

२. हाम्रो कृषि क्षेत्र समस्याले ग्रस्त छ। कहिले वीउविजनको समस्याले पिरोल्छ भने कहिले मलको समस्याले सताउँछ। उत्पादन धेरै गरे बजार पाउँदैन भने विचौलीयाबाट पनि उत्तिकै शोषण हुने गरेको छ। कृषकहरुले गोलभेडाबाट मनग्गे आम्दानी गरेका छन् भनी समाचार सम्प्रेषण भएको लगत्तै गोलभेडा नबिकेर सडकमा मिल्काए भन्ने समाचार आउने गर्दछ।

३. एक वर्ष सुन्तलाको उत्पादन अत्यधिक बढेकोले कृषकहरु खुशी भएका समाचार आएको अर्को वर्ष सुन्तलाको बारेमा रोग लागेको खबर छापिने गर्दछ। अदुवाको राम्रो उत्पादन भएको बेला त्यो उत्पादन भारत निकासी गर्न अवरोध उत्पन्न हुन्छ। अर्थात् यो क्षेत्र सधैं कुनै न कुनै समस्याबाट पीडित भएको देखिन्छ।

४. गाउँ घरमा काम गर्ने मानिसहरुको अभाव एउटा समस्या छ भने भारतबाट निर्वाध रुपले आयात हुने र त्यससँग प्रतिस्पर्धा गर्न नसकिने समस्या अर्को छ। कोल्ड स्टोरेजको समस्याले कृषकहरु हैरान भएका छन्। समस्यै समस्याको पहाड भएको बेला अहिले करको समस्या थपिएको छ। एकातिर सरकारले अनुदानको लालीपप देखाउने गरेको छ भने अकोर्तिर किसानले करको बज्रपात सहनु परेको छ।

५. कृषिमा निजी क्षेत्रको लगानी उल्लेख्य छ। विदेशबाट आएकाहरुले पनि नयाँनयाँ क्षेत्रमा आफ्नो अनुभव, सीप र पूँजी लगानी गरेका छन्। देशका लब्धप्रतिष्ठित व्यक्तिहरुले पनि यसमा पदार्पण गरेका छन्, तर उनीहरु मध्ये केही असफल भएका छन्। केहीले भने आफ्नो प्रयास जारी राखेका छन्।

६. हामी यसमा राम्ररी सफल हुन नसक्नुको कारण एउटा व्यवस्थापकीय हो भने अर्को प्रशासनिक हो। त्यो भन्दा अझ अर्को अध्ययन र अनुसन्धानको हो। हाम्रो अनुसन्धानको क्षेत्र कमजोर छ। अनुसन्धान कर्मीहरुको अभाव सधैं खट्किने गर्दछ। रोग देखिसकेर पनि उपचार लामो समयसम्म हुँदैन। यो अभिशाप अधिकांश कृषकहरुले भोग्नु परेको छ।

७. सरकारले यस क्षेत्रमा धेरै प्रतिबद्धता व्यक्त गरेको छ । सत्तारुढ पार्टीको घोषणापत्रमा दुर्इ वर्षमा देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने, पाँचवर्षमा खाद्यान्न निर्यात गर्ने र १० वर्षमा विषादीमुक्त अर्गानिक खेती मात्र गर्ने भनिएको छ। तर यो प्रतिबद्धता पूरा गर्न सम्बन्धित कार्यालयहरुले रातो दिन काम गर्नु आवश्यक छ।