काङ्ग्रेसमा पराजयको चर्चा

१. नेपाली काङ्ग्रेस चुनावमा नराम्ररी पराजित भएको सम्बन्धमा फेरि एक पटक चर्चा भएको छ। नेपाली काङ्ग्रेसका नेताहरूले यसबीच विभिन्न माध्यमहरूबाट आफ्नो विचार सार्वजनिक गरेका छन्। त्यसरी सार्वजनिक गरिएको विचार हेर्दा उनीहरू आपसमा पूर्वाग्रही भएका र किन चुनाव हारियो भन्ने कुराको निष्पक्ष निचोड निकाल्न नसकेको प्रष्ट देखिन्छ।

२. ठण्डा दिमागले सोचेर सम्यक विचार गर्नेतिर उनीहरूको ध्यान गएको छैन। संस्थापन पक्ष आफनो दोषै नभएझैं बसेको छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर संस्थापन पक्षलाई दोष स्वीकार्न लगाउनमा सम्पूर्ण शक्ति प्रयोग गर्दैछ। जसले गर्दा उनीहरूका बीच वैमनस्यता हिजो भन्दा आज बढ्दै गएको छ।

३. वरिष्ठ नेता पौडेलले चुनाव हार्नुको एउटा कारण छ भने कृष्णप्रसाद सिटौलाले हार्नुको अर्को कारण छ। समानुपातिकमा राखिएका सिटौला प्रत्यक्षमा लड्न पुगेका थिए। उनी त्यसरी जाँदा पार्टीाई के कति हानी नोक्सानी भयो। त्यो छुट्टै अध्ययनको विषय हो। यस्तै अन्य उम्मेदवारहरूको पनि आ-आफ्नै कथा र व्यथा छ।

४. समानुपातिकमा पार्टीले नजिते पनि सम्मानजनक सीट ल्याएको छ। समानुपातिकमा त्यस्तो हुनु तर प्रत्यक्ष तर्फ नराम्ररी हार्नु उम्मेदवारको छनौट राम्ररी नहुनु, उम्मेदवारको स्रोत र साधनको अभाव हुनु, कार्यकर्ताहरूले राम्ररी साथ नदिनु आदि कारण अनुमान गरिएको छ। प्रत्यक्ष/अप्रत्यक्ष बागी भएकाहरूको पनि यसमा केही भूमिका छ।

५. कतिपय जिल्लाले पनि उम्मेदवारहरूको राम्रो फिल्टर गर्न सकेनन्। केही जिल्लाले त आफूले पाएको अधिकारको प्रयोग समेत नगरेर महत्वाकांक्षीहरू सबैको नाम केन्द्रमा पठाए। अधिकार माग्ने तर पाएको अधिकारको सदुपयोग गर्न नसक्ने एउटा कमजोरी हो। राजनीतिमा र प्रशासनमा त्यस्तो कमजोरी सह्य हुँदैन। उम्मेदवार हुनेले पनि आफ्नो कमजोरी किंचित मात्र भए पनि महसुस गर्नु पर्दथ्यो। त्यो पनि गरेको देखिएन। सबैतिर कमजोरी कमजोरी देखिएको अवस्था थियो।

६. नेताहरूले ठूलो प्रचारका साथ एमाले र माओवादी केन्द्रको गठबन्धन भएको कुरा र त्यसको प्रभावको राम्ररी मूल्यांकन गर्न सकेनन्। अकोर्तिर साझा विवेकशील पार्टीले आफ्नै भोट कोट्याउँछ भन्नेमा पनि गम्भीर हुन सकेनन्। चुनावमा काङ्ग्रेसका लागि त्यसरी प्रतिकूल अवस्था बन्दै गरेको बेला पनि काङ्ग्रेस एक ढिक्का भएर चुनावमा जान सकेन।

७. चुनावको प्रचारकै क्रममा पनि उम्मेदवार कुन गुटका भन्ने पूर्वाग्रही भावना विद्यमान रहेको स्वयं काङ्ग्रेसहरूले बताउने गरेका थिए। ती सबैको परिणाम आज काङ्ग्रेस प्रतिपक्षमा रहनु परेको अवस्था छ। प्रतिपक्षमा रहेकै बेला पनि गुटबन्दी भावना सेलाएको छैन। कुनै भेला र बैठक हुनासाथ उनीहरूको पूर्वाग्रही भावना उर्लेर आउने गरेको छ। सधैं गुटगत भावना राखिराख्नु हुँदैन। कार्यकर्ताहरूलाई उत्साहित पारिराख्न र मतदाताहरूको भावना आफूतिर आकषिर्त पारिराख्न नेताहरू एक हुनु आवश्यक छ। नेताहरूले छिटो यो कुरा महसुस गर्नु आवश्यक छ।