काङ्ग्रेसमा के.सी.को प्रवेश

१. वरिष्ठ समाजसेवी सूर्यबहादुर के.सी. आफ्ना परिवार सहित र अखण्ड नेपाल पार्टीका अध्यक्ष तथा पूर्व मन्त्री कुमार खड्का आफ्ना केन्द्रीय समितिका पदाधिकारी सहित शनिबार पोखरामा आयोजित विशेष कार्यक्रममा नेपाली काङ्ग्रेसमा प्रवेश गरेपछि यस क्षेत्रमा त्यसले केही तर· उत्पन्न गरेको छ। त्यस कार्यक्रममा समाजसेवी डा. कालु शर्मा लगायतका वरिष्ठ व्यक्तिहरुले पनि काङ्ग्रेसको सदस्यता लिएका थिए।

२. नेपाली काङ्ग्रेसले पनि उनीहरुको पार्टीप्रवेशलाई महत्व दिएको थियो। उनीहरुलाई पार्टीप्रवेश गराउन प्रधानमन्त्री तथा काङ्ग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला लगायतका काङ्ग्रेसी नेताहरु उपस्थित भएका थिए। नेताहरुले उनीहरुलाई पार्टीको सदस्यता प्रदान गरेर स्वागत गरेका थिए।

३. समारोहमा नवप्रवेशी के.सी.ले उग्र वामपन्थका कारण आफूले आफ्ना सहयोगीहरु हर्कबहादुर गुरुङ, गणेशमान पालिखे र क्षेत्रबहादुर के.सी., वरिष्ठ व्यक्तित्वहरु गुमाउनु परेको उल्लेख गरेका थिए। उनले आफूले व्यवसाय गर्दा उग्रवामपन्थका कारण मानसिक पीडा भोग्नु परेको कुरा स्मरण गरी उग्रवामपन्थीहरुको ध्रुवीकरणले गर्दा पनि आफूले काङ्ग्रेस पार्टीप्रवेश गरेको उल्लेख गरे।

४. समाजसेवी के.सी. तत्कालीन पोखरा नगर पञ्चायतका प्रधानपञ्च भएका थिए। दुर्इ पदावधि नगर प्रमुख भएका उनले आफ्ना पालामा सक्रियता देखाएर नाम कमाएका थिए। उनी राप्रपाका केन्द्रीय कोषाध्यक्ष र सभासद् पनि भएका थिए। अखण्ड नेपालका अध्यक्ष खड्काले पार्टीस्थापना गरेर सभासद् र मन्त्री समेत भएका थिए।

५. उनीहरुको पार्टीप्रवेशले नेपाली काङ्ग्रेसभित्र उत्साह बढेको देखिएको छ। तर समाजसेवी के.सी. ले आफू हिन्दूवादी भएको र काङ्ग्रेमा रहेर हिन्दू राज्य कायम गर्न लागि पर्ने जुन अभिव्यक्ति दिएका छन्। त्यसले केही असहजता सिर्जना गरेको छ। काङ्ग्रेसमा हिन्दूवादीहरु छन्। खुमबहादुर खड्का लगायतका नेताहरु कुनै बेला सडकमा पनि देखिएका थिए।

६. तर एउटा ख्याल गर्नुपर्ने कुरा के हो भने काङ्ग्रेसको घोषित नीति हिन्दू राज्य होइन। धर्मनिरपेक्ष घोषित संविधानमा त्यस पार्टीले गर्वका साथ हस्ताक्षर गरेको छ र आफ्नै पार्टीका नेता सुशील कोइरालाको प्रधानमन्त्रीत्वकालमा संविधान घोषणा भएकोमा गर्व गर्ने गरेको छ। त्यस्तो पार्टीका हिन्दूराष्ट्र कायम गर्न जानु अनावश्यक विवाद खडा गर्नु हुन सक्छ।

७. राजनीतिमा ध्रुवीकरणको हावा चलेको छ। एमाले र माओवादी केन्द्र एक हुने सहमति भएपछि ध्रुवीकरणको गति तीव्र भएको छ। विजय गच्छेदारले काङ्ग्रेसमा आफ्नो पार्टीविलय गरेको छ। त्यस्तै अखण्ड नेपालका अध्यक्ष खड्काले पनि आफ्नो पार्टीका सबै शाखा प्रशाखाहरु काङ्ग्रेसमा विलय गरेका छन्। त्यो ठूलो कुरा हो। त्यसरी आएकाहरुलाई काङ्ग्रेसले के कति प्रयोग र सदुपयोग गर्न सक्छ, हेर्र्नु पर्ने कुरा त्यो हो।