काङ्ग्रेसमा असन्तोष व्याप्त

१. नेपाली काङ्ग्रेसमा एक पछि अर्को गर्दै असन्तोष बढ्दै गएको छ। संस्थापन पक्षले गरेको काममा अर्को पक्ष अर्थात् रामचन्द्र पौडेल पक्षले निरन्तर असन्तोष जाहेर गर्दैछ। सरकारले राष्ट्रिय सभामा तीन जना मनोनयन गर्नका लागि छानिएका व्यक्तिहरु सम्बन्धमा पनि आफ्नो पक्षलाई वास्ता नगरेको गुनासो पौडेल पक्षले सार्वजनिक गरेको छ,।

२.काङ्ग्रेसमा विवाद विरासतबाटै आएको हो तापनि चुनाव पछि विवाद अरु चर्कदै गएको छ। चुनावमा पार्टीले नराम्ररी हारेपछि संस्थापन पक्षले गम्भीर आरोप र लाञ्छनाको सामना गर्नु परेको छ। त्यसका नेता र कार्यकर्ताहरुले पार्टीको महासमिति र महाधिवेशन तुरुन्त बोलाउनु पर्ने माग समेत गरेका छन्।

३. काङ्ग्रेसका नेता र कार्यकर्ताहरुले संगठन संगठन जस्तो नभएको, उम्मेदवारको छनोटमा आफ्नो पक्षलाई मात्र प्राथमिकतामा राखेको, चुनावमा भ्रातृ संगठनहरुलाई सक्रिय बनाउन नसकेको, उम्मेदवारहरुले संगठनको जोडबलले भन्दा आफ्ना आफ्नै किसिमले संगठन बनाएर चुनावमा जानु परेको बताएका छन्।

४. पहिले पहिलेका चुनावमा गुटका मान्छेले आफ्नो गुटका उम्मेदवारको प्रचार-प्रसारमा राम्ररी लाग्ने गरेका थिए। अहिले आफ्नै गुटका मानिसहरुको सहयोग पनि राम्ररी पाउन नसकेको गुनासो गर्ने गरेका छन्। गुट सासानोमा विभाजित भएको र केही नेताहरु चुनावमा वास्ता नै नगरी तमासे भएर बसेका पनि देखिएको थियो।

५. नेता र कार्यकर्ताहरुमा योग्य र प्रभावशाली तथा जित्ने उम्मेदवारलाई उठाउने भन्दा आफै उम्मेदवार हुनुपर्ने आकांक्षा तीव्र भयो। जिल्ला र नगरको बागडोर समातेकाहरु यही मौका हो भन्दै आफै उम्मेदवारमा प्रस्तुत भए। जसले गर्दा चुनाव प्रचारमा नेतृत्व गर्ने र व्यवस्थापन मिलाउनेहरुको अभाव प्रष्ट देखियो।

६. चुनाव हारेपछि विवाद हुनु स्वभाविकै हो। अन्तर्घातको कुरा पनि आएको छ। आफ्नो साथीले जिते आफू पछि पर्ला भनी सोच्नेहरुबाट कहिँ कतै अन्तर्घात भएको गुनासो धेरै उम्मेदवारले प्रकट गरेका छन्। यी र यस्ता घटनाहरुले असन्तोष चुलिएको अवस्था छ।

७. काङ्ग्रेस सत्तामा पुग्दा जहिले पनि झगडा गर्दछ भन्नेहरु पनि छन्। अहिले झगडा पनि भएको छ। तर अब ८/१० दिनमा काङ्ग्रेस सरकारबाट विदा हुँदैछ। यो चुनावी सरकार हो। चुनावमा काम पूरा भएको छ। अब सरकारको दिन गन्ती शुरु भएको छ। सरकारबाट बाहिरिएपछि पार्टीले गम्भीर समीक्षा गरी संगठनलाई मजबूद पार्न सक्नु पर्दछ।