कर्णालीको उज्ज्वल भविष्य

१. विकासमा सबभन्दा पछि परेको भनिने प्रदेश नं. ६ को प्रदेश सभाले प्रदेशको नामाकरण तथा राजधानी तोक्नमा अन्य सबै प्रदेशहरुलाई उछिनेको छ। त्यस प्रदेश सभाको बैठकले आफ्नो प्रदेशको नाम कर्णाली र स्थायी राजधानी वीरेन्द्रनगर (सुखेत) तोकेको छ। त्यस प्रदेश सभाले त्यसरी प्रदेशको नाम र राजधानी तोकेपछि अरुलाई पनि आफ्नो प्रदेशको नाम र राजधानी तोक्न घच्घच्याएको छ।

२ देशमा संघीयताको अवधारणा आउनुका साथै पहिचानको मुद्दा पनि आएको सवविदितै छ। त्यसबेला कसैले जातीय पहिचान, कसैले धार्मिक र कसैले प्राकृतिक पहिचान हुनुपर्ने तर्क अघि सारेका थिए। जातीय पहिचान चाहनेहरु केहीले आफ्नो प्रदेशको नाम आफैले घोषणा गरेका थिए। त्यसरी घोषणा गर्न एउटा पार्टीविशेषले तिनीहरुलाई हौसाएको पनि थियो।

३. कर्णाली प्रदेशको नामाकरणले अन्य प्रदेशका सदस्यहरु र अन्य सम्बन्धित सबैलाई आ-आफ्नो प्रदेशका सम्बन्धमा सोच्न बाध्य पारेको छ। फेसबुक सञ्जाल लगायत पत्र पत्रिकामा पनि प्रदेशको नामको सम्बन्धमा सुझाव दिनेहरु धेरै देखिएका छन्। तर जातीय पहिचान सम्बन्धमा सुझाव दिनेहरु त्यत्ति देखिएका छैनन्।

४. कर्णाली अञ्चलको नाम पनि हो। त्यो नाम कर्णाली नदीको नामबाट राखिएको हो। कर्णाली नेपालका ठूला र महत्वपूर्ण नदीहरु मध्ये एक हो। यो नदी नेपालको सबभन्दा लामो नदी मानिन्छ। कैलाश पर्वतलाई केन्द्र बनाएर बग्ने एशियाका चारओटा नदीहरु ब्रह्मपुत्र, सिन्धु, सतलज र कर्णाली हुन्। त्यसो भएकोले धार्मिक दृष्टिबाट पनि यसको महत्व विशिष्ट प्रकारको छ।

५. कर्णाली एउटा सभ्यता पनि हो। यो नेपालको प्राचीन सभ्यता हो। नेपालको राष्ट्रिय भाषाको रुपमा विकिसित नेपाली भाषा कर्णाली प्रदेशको खस भाषाबाट विकसित भएको हो। यहाँ यो पनि उल्लेखनीय छ कि खस साम्राज्य भएको बेला त्यस क्षेत्र पूरै बौद्ध देश घोषित भएको थियो। त्यो क्षेत्र धार्मिक सम्पदा र संस्कृतिमा पनि उत्तिकै समृद्ध छ। सुखेतको काँक्रे विहार ज्यादै प्रसिद्ध थियो। त्यसको पुनः निर्माण अहिले भइरहेको छ।

६. कर्णाली प्रदेश त्यस्तो महत्वपूर्ण प्रदेश भएर पनि राजधानी काठमाडौंको उचित दृष्टि नपुग्दा विकासमा त्यो पछि पर्दै गएको हो। कर्णालीको नाममा अनेक योजना तर्जूमा गरिए, कार्यक्रमहरु तैयार गरिए, तर ती सबै कागजमा सीमित भए। कर्णालीको नाममा धेरै सम्पन्न र समृद्ध भए, तर कर्णाली त्यस्तो हुन सकेन विपन्न र विकट रहिरह्यो ।

७. अब कर्णालीको पालो आएको छ। अब कर्णालीको विकास कर्णालीवासीहरुले गर्न पाउने भएका छन्। कर्णालीको लागि यो महत्वपूर्ण अवसर हो। यो अवसरको सदुपयोग गरेर त्यहाँको धार्मिक, ऐतिहासिक, पुरातात्विक, प्राकृतिक एवम् जलस्रोत सम्पदाको संरक्षण र विकास गर्न सकेमा जसरी नामाकरण गर्नमा कर्णाली प्रदेश सभा “नम्बर वान” भएको छ। विकासमा पनि अरुलाई उछिनेर नम्बर वान बन्नसक्ने छ। त्यसकारण कर्णालीको भविष्य उज्ज्वल छ।