कञ्चनपुरले मुस्ताङ सम्झायो

१. कञ्चनपुरका युवा गोविन्द गौतमको भारतीय सीमा सुरक्षा बल -एसएसबी) को गोलीबाट मृत्यु भएको एक साता पुग्न लागेको छ। आइतबार उनको राजकीय सम्मानका साथ अन्त्योष्टि पनि सम्पन्न भयो। उनको मृत्यु एसएसबीद्वारा भएकोले भारतले माफी माग्नु पर्दछ र क्षतिपूर्ति दिनु पर्ने कुरा उठाएको छ। तर भारतले यस सम्बन्धमा केही बोलेको छैन।

२. भारत महान् भन्ने इतिहासमा लेखिएको छ। भारतले पहिले त्यस्तो महानता र उदारता देखाएको पनि केही वाङ्मयमा उल्लेख छ। राम र रावणको युद्ध हुँदा रामचन्द्रको प्रहारबाट रावण मरणासन्न अवस्थामा पुगे। उनको त्यो अवस्था देखेर रामले आफ्नो भाइ लक्ष्मणलाई मरणांतानि वैराणी भनेर रावणसमक्ष पठाए।

३. रामचन्द्रको त्यस कार्यलाई हिन्दू धर्म शास्त्रहरुले मुक्तकण्ठले प्रशंसा गरेका छन्। त्यही विरासत बोकेको भनिएको हिन्दू धर्ममा आधारित भारतीय जनता पार्टीको सरकारले नेपालको सर्न्दर्भमा त्यस्तै महानता र उदारता देखाउने जुन आशा अपेक्षा गरिएको थियो, त्यो घट्दै गएको छ। गोविन्द गौतम हतियारधारी पनि थिएनन्। उनी निहत्था थिए र त्यस्तै अवस्थामा उनीमाथि गोली प्रहार गरिएको थियो।

४. यसैबेला नेपालीहरुले २०१७ सालमा मुस्ताङमा भएको गोलीकाण्ड सम्झेका छन्। त्यसबेला चीनको जनमुक्ति सेनाले नेपाली सुवेदार बमप्रसादलाई गोली हानी मारेका थिए। चीनले त्यसबेला आफ्नो भूल स्वीकारेर उनको शवसमक्ष सलामी अर्पण गरेको थियो। क्षतिपूर्तिस्वरुप रु ५० हजार दिएर नेपालसँगको मित्रताको सम्मान गरेको थियो।

५. नेपाली मन र मस्तिकले त्यस बेलाको मुस्ताङकाण्ड र अहिलेको कञ्चनपुर घटनालई एकसाथ राखेर हेरेका छन्। पहिलेको काण्डमा चीनले जे जसरी भूल स्वीकारेर नेपालको माग सबै पूरा गरेको थियो। अहिले भारतबाट पनि त्यस्तै सदाशयता प्रदर्शनको अपेक्षा नेपालीहरुले गरेका छन्। तर त्यो सदाशयता प्रदर्शनमा ढिलाइ भएकोमा कही कतै आशंका पनि व्यक्त गरिएको छ।

६. बीपी कोइरालाले त्यसबेला नेपालको माग पूरा गराउन जुन रणनीति अख्तियार गरी बुद्धिमत्तापूर्वक कदम चालेका थिए, प्रधानमन्त्री पुष्पकमल दाहालबाट पनि त्यस्तै प्रभावकारी कदमको अपेक्षा गरिएको छ। तर प्रधानमन्त्री दाहाल यस सम्बन्धमा खास बोलेका छैनन्। त्यत्तिमात्र होइन, कञ्चनपुरमा शहीद गौतमको अन्त्योष्टमा माथिल्लो तहको सरकारी प्रतिनिधिको उपस्थिति नहुनु पनि रहस्यमय भएको छ।

७. भारतका हिन्दूवादी पार्टीभारतीय जनता पार्टीर हिन्दू संगठनहरु नेपालमा हिन्दूराष्ट्र हुनुपर्दछ भनी खूब कराउँछन्। तर नेपाललाई यस्तो पर्दा कसैले एक शब्द बोल्दैनन्। मित्रताको पहिचान हुने यस्तै बेलामा हो। यस्तो कुरा प्रत्येक नेपालीले बुझ्नु पर्दछ र अरुलाई बुझाउनु पर्दछ।