ओली शक्तिशाली प्रधानमन्त्री

१. प्रधानमन्त्री के.पी. ओलीले संघीय प्रतिनिधि सभामा विश्वासको मत लिने क्रममा जुन भारी समर्थन प्राप्त भयो, त्यसले उनलाई एक शक्तिशाली प्रधानमन्त्रीका रुपमा स्थापित गरेको छ। उनले प्रतिनिधि सभाको २७५ सदस्यमध्ये २०८ सदस्यको समर्थन प्राप्त गरेका छन्। उनको विपक्षमा नेपाली काङ्ग्रेस मात्र रहेकेा देखियो। उनको विपक्षमा ६० मत परेकेा थियो।

२. चुनावमा एमाले र माओवादी केन्द्रले गठबन्धन गरेर चुनाव लडेकाले प्रधानमन्त्री ओलीको पक्षमा ती पार्टीको मत आउनु त स्वभाविक नै थियो। त्यसमा संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीका सांसदहरुले पनि उनलाई विश्वासको मत दिएका छन्। चुनावको बेलासम्म तिनीहरुको एमालेसँग राम्रो सम्बन्ध थिएन। तिक्तता नै थियो। अहिले तिनीहरुको विश्वासको मत पाउनु प्रधानमन्त्री ओलीको सफलता मान्नु पर्दछ।

३. चुनावमा एमाले र माओवादी केन्द्रको गठबन्धनले चुनाव जितेदेखि नै प्रधानमन्त्री ओलीको चर्चा चलेको थियो भने अहिले यो विश्वासका मतले त्यो चर्चा चुलेको छ। उनी इतिहासमा नै शक्तिशाली प्रधानमन्त्रीका रुपमा दर्ता भएका छन्। इतिहासमा वि.सं. २०१५ सालमा पनि नेपाली काङ्ग्रेसका सभापति वी.पी. कोइरालालाई दुर्इ तिहाइ बहुमतको समर्थन प्राप्त भएको थियो।

४. उनले यो विश्वासको मत प्राप्त गर्नासाथ मानिसहरुले पाँच वर्षको स्थायी सरकार र स्थिर राजनीति स्थापना भएर देश विकास, निर्माण र समृद्धिको बाटोमा लम्कने अपेक्षा गरेका छन्। एमाले र माओवादीको गठबन्धनले पनि आफ्नो घोषणापत्रमार्फत् त्यो आशा, अपेक्षा या सपना देखाएका छन्।

५. सरकारको सामु बाहिरको कुनै बाधा अवरोध छैन। नेपाली काङ्ग्रेसले संसदमा त्यस्तो अवरोध गर्ने पनि देखिँदैन। उसले सरकारको गुण दोषको आधारमा समर्थन र विरोध गर्ने जनाएको छ। त्यसो भन्नु प्रतिपक्षको धर्म पनि हो। त्यस हिसाबले सरकारको बाटो सरल, स्पष्ट र सुदृढ देखिन्छ।

६. ओलीले आफ्नो अघिल्लो प्रधानमन्त्री कालमा सपना बाँडेका थिए र राष्ट्रिय अडान राखेका थिए। जनताले पनि धेरै आशा गरेका थिए। तर एमाओवादी केन्द्र सरकारबाट निस्केपछि उनको त्यो सपना सबै चकनाचूर भएका थिए। अहिले पनि प्रधानमन्त्री ओलीलाई बाधा अवरोध केही आउँदै भने यिनैबाट आउन सक्दछ। बाहिरबाट होइन।

७. एमालेका लागि, अझ भनौं कम्युनिष्टहरुकै लागि काम देखाउने यो सर्वाधिक महत्वपूर्ण बेला यो। यसबेला स्थानीय तहदेखि केन्द्रसम्म कम्युनिष्टको बाहुल्यता छ। वातावरण अनुकूल छ। विघ्नबाधा कतैबाट आउने वा अवरोध आउने देखिँदैन। यो स्थितिको भरपूर फाइदा उठाउन सक्नु पर्दछ। दायाँ बायाँ अन्त कतै हेरी देशको समृद्धिलाई एक मात्र लक्ष्य बनाउनु पर्दछ। त्यसो गरियो भने सफलता त्यत्ति टाढा देखिँदैन।