ओली र एकता वार्ता

१. एमाले र माओवादी केन्द्रले बनाएको वाम गठबन्धनको प्रतिनिधिसभामा बहुमत भएकोले ती पार्टीहरूको शिफारिसमा राष्ट्रपति विद्याभण्डारीले एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी छन्। राष्ट्रपति भण्डारीले बिहीवार उनलाई शपथ ग्रहण पनि गराई सकेकी छन्। प्रधानमन्त्री ओलीले त्यही दिन तीन सदस्यीय मन्त्रिपरिषद् पनि गठन गरेका छन्।

२. यस पटक केपी ओलीको सरकारमा आगमन हुनुलाई ठूलो आशाले हेरिएको छ। चुनावमा वाम गठबन्धनले जितेकाले मात्र त्यो आशा पलाएको होइन, ती पार्टीचुनाव पछि लगत्तै एकीकृत हुने सहमतिले पनि लहर ल्याएको थियो। एकीकरण वार्ता चलिरहेको छ। वार्ताकै क्रममा एकीकरण अगाडि कि सरकार गठन अगाडि भन्ने प्रश्न पनि उठेको थियो।

३. एमाले सरकार अगाडि गठन गर्न चाहन्थ्यो भने माओवादी केन्द्र एकीकरण अगाडि गर्ने त्यो नभए दुवै एक साथ गर्नु पर्दछ भन्नेमा थियो। तर एमाले हतारिएर सरकार गठन तीर गयो। जसको परिणाम सरकारमा माओ केन्द्र सामेल भएन। त्यसलाई सरकारको पहिलो गाँसमा नै ढुङ्गा भन्ने गरिएको छ।

४. प्रधानमन्त्री ओलीले शपथ ग्रहण गर्ने क्रममा इश्वरको नाम छुटाएकोमा पनि यहाँ चर्चा छ। संविधान अनुसार इश्वर, देश र जनतालाई साक्षी राखेर शपथ खानु पर्दछ। तर उनले इश्वर शब्दको उच्चारण गरेनन्। सरकार प्रमुखले नै संविधानको अक्षरशः पालना गर्दैनन् भने भोलि केही पर्‍यो भने अरुलाई अन्यथा भन्ने ठाउँ कहाँ हुन्छ र ?

५. एमाले र माओवादी केन्द्रले चुनावमा स्थायी सरकार र समृद्धिको नारा दिएका थिए। वर्तमान नेपालको इतिहासमा कुनै पनि सरकारले पूरा पाँच वर्ष काम गर्न नपाएकोले विकास निर्माणको काममा गति आउन नसकेको आम बुझाई छ। बाम गठबन्धन अझ तिनीहरुको एकीकरण भएमा सरकार पूर्ण कालसम्म टिक्छ भन्नेमा मतदाताहरु उत्साहित छन्।

६. माओवादी केन्द्र सरकारमा सामेल नभएर अब प्याकेजमा सहमति गर्ने पक्षमा रहेको छ। एमाले माथि त्यसको दबाब बढ्दो छ। तिनीहरुका बीच पद विभाजन र व्यवस्थापनको कुरा मात्र होइन, सिद्धान्तको कुरा पनि मिलिसकेको छैन। यी सबैबाट ओली र प्रचण्डले एकान्त बास गरेर धेरै पटक विचार विमर्श गरिसकेका छन्। तर मिल्न सकेका छैनन्।

७. अहिले सरकार गठन भइसकेको अवस्था छ। सरकार अधुरो छ। एकीकरण गर्न आतुर भएको पार्टीसरकारमा सामेल नहुँदा त्यसले धेरै प्रश्न उब्जाएको छ। भ्रम सिर्जना गरेको छ। मतदाताहरुमा नराम्रो प्रभाव पर्ने अवस्था पनि छ। यी सबै कुराहरुलाई दृष्टिगत गरी नेताहरुले यथाशक्य छिटो पार्टीलार्इ एकताबद्ध गर्नु पर्दछ। पार्टीछिट्टै एकीकृत हुन नसकेमा माओवादी केन्द्र सरकारमा सामेल भएर एकता वार्ता चलाई राख्नु पर्ने देखिन्छ।