एमाले र माओवादी एकताबद्ध

१. दुर्इ ठूला कम्युनिष्ट पार्टीहरू एमाले र माओवादीले लामो छलफल र विचार विमर्श पश्चात् सोमवार रात्रि तिनीहरु नेपाल कम्युनिष्ट पार्टीको नाममा एकताबद्ध हुन सहमति गरेका छन्। यसअघि आश्विन १७ गते तिनीहरु एकीकृत हुने सहमति गरी चुनावका लागि वाम एकता गठबन्धन पनि गरेका थिए।

२. ती दुवै पार्टीका शीर्ष नेताहरुले हस्ताक्षर गरेको सहमति पत्रमा एकीकृत पार्टीको सिद्धान्त मार्क्सवाद-लेनिनवाद रहने, अन्तरिम विधान तयार गर्ने, प्राप्त उपलब्धिको रक्षा गरी सामाजिक तथा आर्थिक रुपान्तरण गर्दै समाजवादको आधार तैयार गर्ने तथा अबको महाधिवेशन एकता महाधिवेशन हुने प्रष्टसाथ उल्लेख गरिएको छ।

३. सहमति पत्रमा एमालेको जनताको बहुदलीय जनवादको शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धा र शान्ति सम्झौतापछि माओवादीको शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धाको समान नीति तथा एमालेको जबज र माओवादीको माओवाद र २१ औँ शताब्दीको जनवादको विधिसम्मत छलफल र परिमार्जन गर्ने कुरा सहमति पत्रमा उल्लेख छ।

४. सहमति पत्रमा अझै धेरै लेखिएको छैन। जे जति उल्लेख भएका छन्, त्यो पनि ठूलो उपलब्धि हो। यो उपलब्धिले अब पार्टीएक हुन्छ भन्ने कुरामा शंका रहेन। कम्युनिष्ट पार्टीहरू धेरै पटक फुटे र केही जुटे पनि। त्यसरी एकीकृत भएको इतिहास केलाउँदा यस पटकको यो एकता प्रयासको परिघटना सबभन्दा पृथक र महत्वपूर्ण देखिन्छ।

५. एमाले अध्यक्ष के.पी. ओली निर्विवाद रुपले प्रधानमन्त्री भएका छन्। त्यो तिनीहरुको पहिले देखिको प्रतिबद्धता हो। तर एकीकृत पार्टीको अध्यक्ष को हुने र कसरी हुने भन्ने जुन सार्वजनिक चासो र चर्चाको विषय भएको छ। त्यो कुरा सहमति पत्रमा उल्लेख छैन। तैपनि दुवै पार्टीका दुवै अध्यक्षले संयुक्त रुपमा एकीकृत पार्टीको नेतृत्व गर्ने कुरा भने बताइएको छ।

६. त्यस्तै पालैपालो प्रधानमन्त्री हुने चर्चा पनि व्यापक छ। पालैपालो प्रधानमन्त्री हुने उल्लेख गर्दा त्यसले नराम्रो प्रभाव पर्छ भनी त्यसलाई भद्र सहमतिमा छोडिएको बताइएको छ। पारदर्शिताको नाम लिएर कहिले नथाक्ने नेताहरुले त्यो कुरा लुकाउनु जनताको आँखामा छारो हाल्नु हो। त्यस्तो कुरा आज छिपाए पनि लुकाए पनि भोलि त देखिने नै छ।

७. पाँच महिना भन्दा बढी समयको अथक प्रयास र बाहिरी र भित्री शक्तिको दबाबको परिणाम एमाले र माओवादी केन्द्र, नेपाल कम्युनिष्ट पार्टीको नाममा एक भएका छन्। यो एकताको शक्ति सरकार स्थिर बनाउन र देशलाई समृद्ध पार्नमा लगाउनु पर्दछ। यो एक महत्वपूर्ण निर्ण हो। त्यो महत्वपूर्ण निर्ण पार्टीका लागि मात्र नभई देश र समाजका लागि महत्वपूर्ण ठहरिनु पर्दछ।