एकता प्रयासमा सकस

१. एमाले र माओवादी केन्द्रको एकता निर्वाचनको लगत्तै हुन्छ भनी सहमति गरेको भएतापनि त्यो एकता अझसम्म हुन सकेको छैन। ती पार्टीका नेताहरुले पहिले एकता गर्न जति सजिलो सम्झेका थिए। अहिले व्यवहारमा त्यति सजिलो भएको छैन। अहिले तिनीहरुको एकता कहिले हुन्छ भन्ने पनि कसैले भन्न सकेको छैन।

२. तिनीहरुले समयमै गठबन्धन गरेकाले चुनावमा तिनीहरुको बहुमत आएको हो। त्यसरी बहुमत आउनु तिनीहरुलाई एकता गर भनेको हो। तर तिनीहरुले जनदबावको त्यति ख्याल गरेको देखिएन। निर्वाचन पछि एमाले अध्यक्ष के.पी. ओली विदेशबाट र्फकनासाथ एकता वार्ता टुङ्गिन्छ भनिएको थियो। त्यो पनि टु·एिन।

३. एमालेले किन मिल्न सकेन भन्ने सम्बन्धमा आफ्नो मुख खोलेको छैन। माओवादी केन्द्रबाट थोरै कुरा रसाएर आउने गरेको छ, तर त्यो पनि प्रष्ट छैन। वार्ता कहाँ पुगेर अड्केको छ, त्यो पनि भन्न सकिने अवस्थाको छैन। हिजो ६० र ४० रेसियोको आधारमा कुरा भएको थियो भने चुनावपछि त्यो रेसियोको फरक अझ धेरै भएको छ।

४. कतिपय प्रकरणमा एमालेले दिने माओवादीले लिने जस्तो भएको छ। हिजो पालैपालोको कुरा पनि आएको थियो। अब त्यो बराबरी भन्ने हराउँदै गयो। एकताका एमाले अध्यक्ष ओली प्रधानमन्त्री र माओवादी अध्यक्ष प्रचण्ड पार्टीको अध्यक्ष हुने कुरा आएको थियो। अहिले त्यो पनि हराउँदै गएको छ। कुरा कहाँ पुग्यो भनी माओवादी नेताहरुले पनि सोध्न थालेका छन्।

५. अध्यक्ष प्रचण्ड आफैले प्रधानमन्त्री र पार्टीअध्यक्ष मध्ये एक ओलीले रोजेर लेओस, अको आफूले लिने कुरा भनेका छन्। उनको त्यो प्रस्तावलाई पनि एमालेले सकारात्मक जवाफ दिएको छैन। एकताका प्रचण्डले आफूलाई पार्टीअध्यक्ष नदिने भए केन्द्रीय सदस्य मात्र दिए पनि हुन्छ भनेर घुर्की समेत देखाएका थिए।

६. चुनावमा एमाले सबभन्दा ठूलो पार्टीभएर देखा परेकोले त्यसको स्वरमा परिवर्तन आएको छ। एमालेले अहिले अध्यक्ष पद आफैमा राखेर पार्टीको महाधिवेशन सम्म कुन भन्दैछ। त्यसले एकता गर्ने काम पनि सरकार गठन भए पछि गर्ने प्रस्ताव पनि ल्याउन थालेको छ। माओवादी अनावश्यक दबावमा छ। त्यसले एकता वार्ता टुङ्गयाउन पनि सकेको छैन। एमालेले भने जसरी मिल्न पनि सकेको छैन। सानो पार्टीहुनुको विडम्बना त्यसले भोग्दैछ।

७. माओवादीका केही नेताहरुले आफूहरु अनावश्यक रुपमा एकता वार्तामा फसेको अनुभूत गरिरहेका छन्। एकताको लागि भित्री बाहिरी दबाब एकातिर छ भने उनीहरुको आफ्नो प्रतिष्ठा अर्कोतिर छ । कतिसम्म निहुरिने र कतिसम्म हात थापेर बस्ने भन्ने कुरा पनि छ। अधिकार भनेको संघर्ष गरेर लिनुपर्दछ, खोसेर लिनुपर्दछ भन्ने स्कूलिङबाट प्रशिक्षित एवम् दीक्षित भएकाहरु के कति र्झछ र खाउलाँ भन्ने अवस्थामा पुगेको जस्तो भएका छन्। स्वाभिमानीहरुले ज्यादै सकसपनको अनुभूत गरिरहेका छन्।