ऋषिकेशव र पोखरा वृद्धाश्रम

१. पोखरा वृद्धाश्रमले आफ्ना संस्थापक अध्यक्ष पं. ऋषिकेशव पराजुलीको २०औँ स्मृति दिवसको अवसर पारेर आज “ऋषि लीला स्मृति पत्रकारिता पुरस्कार-२०७४” प्रदान गर्ने कार्यक्रम आयोजना गरेर संस्थापक अध्यक्ष पराजुलीप्रति ठूलो सम्मान व्यक्त गरेको छ। वृद्धाश्रमले सो पुरस्कार एजि· नेपालका संस्थापक तथा प्रधान सम्पादक कृष्णमुरारी गौतम (चट्या· माष्टर) लाई एक समारोहबीच प्रथम पटक  प्रदान गर्दैछ ।

२.  कास्की जिल्लाको पोखरालेखनाथ महानगरपालिका वडा नक्बर १७ सीतापाइलामा सञ्चालित “पोखरा वृद्धाश्रम”का संस्थापक अध्यक्ष पराजुली पोखराका सम्मानित व्यक्ति थिए। उनले पोखरामा २०४७ सालको प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गरेका थिए। उनले शैक्षिक विकास र सामाजिक सद्भाव कायम गर्नमा ठूलो योगदान गरेका थिए। पद र प्रतिष्ठाको लालसा नराख्ने उनी प्रजातन्त्रका सेनानीबाट सम्मानित थिए।

३. २०१७ सालको काण्डपछि उनी स्वनिर्वासनमा भारतमा बसे। पछि नेपाल फर्केर फेरि राजनीतिक र सामाजिक कार्यमा सक्रिय भए। जेल नेल पनि सहे। उनी नेपाली काङ्ग्रेसका हरेक कार्यक्रममा सरिक हुन्थे। सुझबुझ र परिपक्व विचारका उनको छत्र छायाँमा कार्यकर्ता र साथीहरुले सुरक्षा र न्यानोपनको महसुस गर्दथे।

४. जीवनको उत्तरार्धमा पोखराको लागि नयाँ काम के गरौँ र कसो गरुँ भनेर सोचिरहेको बेला साथीहरुको सल्लाह र परामर्शमा उनले शहरीकरणतिर बढिरहेको पोखराको लागि आवश्यक भएको पोखरा वृद्धाश्रमको स्थापना गरे। पोखरा वृद्धाश्रम पोखराको सबभन्दा पुरानो र पहिलो वृद्धाश्रम हो।

५. पोखरा वृद्धाश्रम स्थापना गर्नु एउटा ठूलो साहसको कुरा हो। त्यसबेला वृद्धाश्रम कसरी चल्ला र भनिन्थ्यो। ४/५ जना वृद्धवृद्धाहरु राखी स्थापना गरिएको वृद्धाश्रम २१ वर्षपछि फर्केर हेर्दा त्यसले अर्कै रुप लिएको देखिन्छ। आश्रममा अहिले २८ पुरुष, ३० महिला र सेवक सेविका १० गरी ६८ जना रहेका छन्।

६. आश्रममा ४० कोठा भएको पक्की भवन, ३ कोठाको कच्ची घर, स्वास्थ्य, उपचार कक्ष, गौशालाहरु रहेको छ भने योग तथा ध्यान कक्ष, मन्दिर निर्माणाधीन अवस्थामा छन्। सरकारले पनि नमूना वृद्धाश्रमको रुपमा विकास गर्ने उद्देश्य सहित केही वर्षदेखि सहयोग गर्दै आएको छ।

७. वृद्धाश्रमले आफ्नो स्वामित्वको लागि अक्षय कोषको व्यवस्था गरेको छ। विभिन्न शीर्षकमा राखिएको अक्षय कोष वृद्धि गर्दै लग्ने आश्रमको लक्ष्य रहेको छ। व्यवस्थित सञ्चालनको लागि अक्षय कोषको आवश्यकता हुन्छ। दाताहरुको सहयोगले त्यसमा वृद्धि पनि भएको छ। हामी यस्तो महत्वपूर्ण संस्था स्थापना गर्ने श्रद्धेय ऋषि केशव पराजुली र यसमा योगदान गर्ने सबैको उच्च मूल्याङ्कन गर्दै सबैप्रति सम्मान व्यक्त गर्दछौँ।