आलोपालो कस्तो होला ?

१. एमाले र माओवादी केन्द्रलाई मिलाएर एउटा पार्टीबनाउने प्रयासमा “आलोपालो” भन्ने शब्दले विवाद खडा गरेको छ। ती पार्टीका शीर्ष नेताहरुले चुनावी गठबन्धन गर्ने बेलामा सरकार र पार्टीको नेतृत्व उनीहरुले आलोपालो गरी गर्ने सहमति गरेका थिए। तर त्यो कुरा बाहिर आएमा त्यसले नराम्रो प्रभाव पार्ला भनी उनीहरुले त्यो कुरा गोप्य राखेका थिए।

२. केही दिन पहिले ती दुर्इ पार्टीले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा पनि उनीहरुले त्यो आलोपालोको कुनै आभास दिएनन्। पत्रकार सम्मेलनमा एमालेका अध्यक्ष र माओवादी केन्द्रका अध्यक्ष दुवैले बडा उदारतापूर्वक आफूहरु प्रधानमन्त्री भइसकेका र पार्टीअध्यक्ष भइरहेकालाई कुनै पदको लालसा नभएको बताएका थिए।

३. तर कहीँ न कतैबाट उनीहरुले नेतृत्वका लागि आलोपालो गरेको कुरा भने विस्तारै बाहिर आएको थियो। त्यसैबेला हामीले यसै स्तम्भमा आलोपालो भनेको के हो भनेर लेखेका पनि थियौं। त्यसबेला उनीहरुले दबाउन खोजेको कुरा अहिले बाहिर आएको छ। केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आफैले आलोपालो भएको रहस्योद्घाटन गरेका छन्।

४. एमालेका नेताहरु आलोपालो गर्ने पक्षमा छैनन्। उनीहरुमध्ये केही पार्टीनेतृत्व र प्रधानमन्त्री दुवै पदमा ओली नै हुनुपर्ने अडानमा छन्। यस बेला माओवादी केन्द्रका नेताहरु धेरै बोलेका छैनन्। केन्द्रका प्रभावशाली नेता राम बहादुर थापा र देव गुरुङले राम्ररी मुख खोलेका छैनन्। अर्का प्रभावशाली नेता गोपाल किराँतीले पार्टीएकताकै विरोध गरीरहेका छन्।

५. नेपाली राजनीतिमा एउटा अप्रिय शब्द छ- सत्ता लोलुप। कोही पनि नेताले आफूलाई सत्ता लोलुप भनाउन चाहँदैनन्। तर व्यवहारमा सबै सत्तालोलुप देखिन्छन्। सत्ता लोलुपता नदेखाउने उद्देश्यले ती नेताहरुले यो आलोपालोको कुरा छिपाएर राखेका थिए। तर यथार्थ कुरा छिपाएर कति यो राख्न सकिन्छ र ? जुन आज प्रष्ट देखा परेको छ।

६. अहिले कम्युनिष्ट गठबन्धनले प्रधानमन्त्री शेरबहादुर देउवालाई सत्ता लोलुपताको विल्ला भिराएर सत्ता लम्ब्याउन खोजेको आरोप लगाइरहेका छन्। सत्तालोलुप को हुन् र सत्ता लिप्सा कसलाई भन्ने यो विवादास्पद पदावली मात्र हो । एकले अकोर्लाई आरोप लगाउन यो शब्द प्रयोग गर्ने गरेका छन्। केही काँग्रेसहरुले माओवादीबाट मन्त्री भएकाहरु जो महिनौंदेखि विना विभागीय भएर कुनै काम र जिम्मेवार विहीन भएर रहेका छन्, उनीहरुलाई सत्तालोलुप भनेका छन्।

७. त्यो जे भए पनि आलोपालोका कुरा एक दुर्इ दिनमा प्रष्ट रुपमा बाहिर आउँदैछ। नेताहरुले त्यो कुरा छिपाए पनि अहिले त्यसलाई प्रष्ट बाहिर ल्याउनु परिरहेछ। अन्यथा नेतृत्वको आकांक्षा त्याग्नु पर्दछ। नेताहरुले त्याग र लोलुपता मध्ये कसलाई ग्रहण गर्न रुचाउलान्, त्यो निकट भविष्यले देखाउने छ।