आलोपालोको भ्रम

१. नेपाली राजनीतिमा आलोपालो प्रधानमन्त्रीको चर्चा धेरै पहिलेदेखि चल्दै आएको छ। नेताहरुले आलोपालो प्रधानमन्त्री हुने सहमति गरे पनि नगरे पनि कोही पनि प्रधानमन्त्रीले पाँच वर्षको पूरा अवधि प्रधानमन्त्रीको आसनमा बसेर काम गरेको इतिहास छैन। त्यस हिसाबले सबै प्रधानमन्त्रीहरु आलो पालो गरी भएका देखिन्छन्।

२. त्यसमा पनि एमाले र माओवादी केन्द्रले आपसमा एकीकृत हुने सहमति गरेपछि आलोपालो प्रधानमन्त्री हुने चर्चा व्यापक रुपले हुँदै आएको छ। चर्चा अनुसार पहिले एमाले अध्यक्ष के.पी. ओली प्रधानमन्त्री हुने र पछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुने कुरा बाहिर आएको हो।

३. ती दुर्इ पार्टीका बीच आलो पालो प्रधानमन्त्री हुने भद्र सहमति भएको रहस्योद्घाटन सबभन्दा पहिले एमालेका उपाध्यक्ष वामदेव गौतमले गरेका थिए। स्थिर र स्थायी सरकारको आवश्यकता भएको बेला तिनीहरुले आलोपालो प्रधानमन्त्री बनाउने सहमति गरेको कुरा बाहिर आएपछि जनतामा त्यसको नराम्रो सन्देश गएको महसुस गरिएको छ।

४. संविधान सभाको दोस्रो निर्वाचन पछि काङ्ग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष के.पी. ओलीबीच आलोपालो प्रधानमन्त्री हुने भद्र सहमति भएको थियो। संविधान घोषणासम्म सुशील कोइराला प्रधानमन्त्री रहने र संविधान घोषणा पछि ओलीले प्रधानमन्त्री पद प्राप्त गर्ने तिनीहरुको सहमति थियो।

५. त्यस्तै सहमति माओवादी केन्द्रका अध्यक्ष दाहाल र काङ्ग्रेस सभापति शेरबहादुर देउवाबीच भएको र त्यसैअनुसार उनीहरु पालैपालो प्रधानमन्त्री भएको सर्वविदित छ। यसैपटक पनि केही दिन पहिले मात्र चितवनको आमसभामा दाहालले छिटै आफू प्रधानमन्त्री हुने उद्घोष गरेका थिए।

६. तर त्यसको नराम्रो सन्देश गएको महसुस गरेर दाहालले के.पी. ओली पाँचै वर्ष प्रधानमन्त्री हुने बताएका छन्। त्यसो भन्दा भन्दै पनि उनले मोटामोटी डेढ दुर्इ वर्षमा महाधिवेशन होला, आलोपालो प्रधानमन्त्री बनाउने कुरा महाधिवेशनले निर्णय गर्ला भनेका छन्। उनले त्यसो भन्नुको अर्थ आलोपालो सहमतिको अध्याय समाप्त भएको होइन भनी बुझ्नुपर्ने अवस्था छ।

७. तिनीहरुले सात बुँदे सहमति मार्फत् धेरै कुरा बाहिर ल्याएका छन्। तैपनि आलोपालो प्रधानमन्त्री हुने कुरा अझै प्रष्ट भएको छैन।मतदाताहरुमा अझै भ्रम छ। त्यसरी भ्रम फैलाइराख्नु उचित होइन। तिनीहरुले औपचारिक घोषणा गरी एकीकृत पार्टीबनाइएको दिनसम्म यो भ्रम हट्ने अपेक्षा गरिएको छ।