आपराधिक कार्य रोक्नु आवश्यक

१. हाम्रो समाजमा हत्या, अपराध र यौन अपराधका घटनाको श्रृङ्खला लामो हुँदै गएको छ। प्रहरी प्रशासन र केही सामाजिक संस्थाहरुले यसको रोकथामको लागि केही प्रयास गरेको भएतापनि यो रोकिएको छैन। यो घटना नरोकिएको मात्र होइन, यो बढ्दै गएको छ। यो घटना यत्ति बढ्दै गएको छ कि यसले सबैलाई चिन्तित पारेको छ।

२. केही समयदेखि यो आपराधिक घटनाले नयाँ मोड लिएको छ। हिजो ठूला बडा र वयस्कहरु आपराधिक घटनामा संलग्न भएका देखिन्थे भने अहिले बालक र किशोरहरु पनि हत्या अपराधमा र यौन अपराधमा संलग्न भएका समाचार आइरहेका छन्। उनीहरुको त्यस्तो कलिलो उमेरमा त्यस्तो काममा संलग्न भएको घटनाले समाजलाई अरु संवेदनशील बनाएको छ।

३. कुनै रीस इवी नभए पनि, सानो कुरामा कुटपीट गर्ने र कुटपीट गरेको घटना लुकाउन या दबाउन आफ्नै साथीलाई मार्ने जस्तो जघन्य अपराध किशोरहरुले समेत गर्ने गरेबाट हाम्रो समाजमा विकृति र विसंगतिका घटना कुन तहसम्म पुगेका रहेछन् र कस्तो अवस्थामा फैलिरहेका छन् भन्ने देखाउँछ।

४. बालयौन दुर्र्व्यवहारका घटना पनि त्यस्तै गरी मौलाउँदै गएका छन्। समाजका वयस्कहरुले आफ्ना टोल छिमेकका अबोध साना नानीहरुलाई फकाइ-फुल्याई यौन तृष्णा मेटाउने प्रयास गरेको समाचार आउने गरेकामा अब त्यस्तो क्रियामा किशोरहरु पनि थप भएका छन्। जुँगाको रेखा नै नबसेका बालकहरु पनि बालिका बलात्कार गर्ने घटनामा पक्राउ परेका छन्। यस्ता दुर्र्व्यवहारका घटनाहरु सरुवा रोगजस्तै समाजमा बढ्दै फैलिँदै गएका छन्।

५. यस्ता जघन्य आपराधिक घटनाले हाम्रो समाजको मूल्य र मान्यताको जग नै खल्बल्याएको छ। सभ्य र सुसंस्कृत समाज भन्ने हाम्रो दावीलाई नराम्ररी औंला ठड्याएको छ र अझ भनौँ लज्जित नै पारेको छ। हाम्रो समाज यति पतनोन्मुख हुँदै गएको छ कि यसलाई रोक्नु नितान्त आवश्यक भएको छ।

६. यो प्रवृत्ति रोक्नको लागि हामीले समाजमा यस्तो हिंसक एवम् आपराधिक प्रवृत्ति किन र कसरी बढ्यो, त्यतातिर सोच्नु आवश्यक छ। हाम्रोराजनीतिमा अपराधीकरण भएको छ भने अपराधमा राजनीति घुसेको छ। अपराध गर्नेले राजनीतिक शरण पाउँछन् र छुट्छन्। हाम्रो शिक्षा दीक्षा अधुरो र अपूरो छ। आधुनिकताको नक्कल गर्दछौँ, तर आधुनिक हुन सकेका छैनौँ। कम्प्युटरको प्रयोग गरी राम्रो होइन, नराम्रो कुरा धेरै सिक्ने गरेका छौँ। यी सबै वातावरणले हामीलाई पतनोन्मुख दिशातिर घुचेट्दैछ।

७. यो स्थितिलाई सुधार्न हामीले देशको राजनीतिलाई सुधार्नु पर्दछ। अपराधीलाई प्रोत्साहित गर्ने काम कतैबाट हुनु भएन। समाज र परिवारले पनि आफ्ना मान्छे कहाँ के गर्दैछन् भन्ने निगरानी राख्नुपर्दछ। अहिंसामैत्री भावना फैलाउनु पर्दछ। नैतिक शिक्षामा जोड दिनु पर्दछ। छाडापन नियन्त्रण गर्नुपर्दछ। सामाजिक सञ्जालका नकारात्मक तथा अपराध गर्न प्रोत्साहित गर्ने र यौन हिंसालाई उत्साहित गर्ने आदिमा रोकथाम गर्नु आवश्यक छ। अब सुधारात्मक कदम तुरुन्त चाल्नु आवश्यक छ।