आन्दोलनको फेरिएको रुप

१. गोर्खाल्याण्डका लागि दार्जिलिङमा आन्दोलन गरिरहेका गोर्खा जनमुक्ति मोर्चाले आफ्नो आन्दोलनको स्वरुप परिवर्तन गरेको छ। मोर्चाले सन् १९४२ मा अंग्रेज शासन विरुद्ध महात्मा गान्धीले भारत छोडो आन्दोलनको हीरक जयन्तीको अवसर पारेर दार्जिलिङमा “गोर्खाल्याण्ड छोडो” आन्दोलन शुरु गरेको छ।

२. मोर्चाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हीरक जयन्तीको अवसरमा “तिरङ्गा यात्रा” गर्ने बताएका लगत्तै “गोर्खा ल्याण्ड छोडो” आन्दोलनको घोषणा गरेका हुन् । जसरी त्यसबेला गान्धीले बेलायतको दासताबाट मुक्त गर्न भारत छोडो आन्दोलन गरेका थिए, त्यसैगरी अहिले पश्चिम बंगालको दासताबाट मुक्त गर्न गोर्खाल्याण्ड छोडो आन्दोलन गर्नु परेको आन्दोलनकारीले बताएका छन्।

३. महात्मा गान्ध्ीले बेलायतको उपनिवेश विरुद्धको आन्दोलनको स्वरुप धेरै फेरेका थिए। उनले कहिले सत्याग्रहको आह्व्ाान गरे भने कहिले भारत छोडो आन्दोलन गरे। आन्दोलनको स्वरुप जति फेरे पनि उनले आफ्नो अटल आस्था रहेको अहिंसात्मक आन्दोलनलाई कहिले परित्याग गरेनन्। जसले गर्दा पछि उनलाई अहिंसाका प्रतिमूर्तिको रुपमा देखाउने गरिएको छ।

४. भारतलाई विश्वको ठूलो प्रजातान्त्रिक मुलुक भनिन्छ। तर गोर्खाल्याण्डका सम्बन्धमा भारतले जे जस्तो नीति अख्तियार गरेको छ,। त्यो हेर्दा प्रजातन्त्र लज्जित हुनुपर्ने अवस्था छ। दार्जिलिङ माथि नाकाबन्दी लगाएको छ। दैनिक उपभोग्य वस्तु खाद्यान्न लगायतको आपूर्र्ति बन्द गरिएको छ। इन्टरनेट सेवा प्रतिबन्धित छ।

५. शान्तिपूर्ण आन्दोलन गरिरहेका निहत्था जनतामाथि पटक पटक गोली हानिएको छ। ९ जना आन्दोलनकारी मारिएका छन्। आन्दोलनले दुर्इ महिना पार गर्न लागेको छ। तर भारत सरकारले त्यसलाई वास्ता गरेको छैन। पश्चिम बंगाल सरकारले आफ्नो उपनिवेशलाई दबाएर राख्न खोजेको बुझ्न सकिन्छ, तर केन्द्र सरकारको मौनता रहस्यमयी छ।

६. गोर्खाल्याडभन्दा पछि माग गरेको प्रान्तहरु स्वतन्त्र भएका छन्। प्रान्तहरु स्वतन्त्र हुने क्रम जारी छ। तर गोर्खाल्याण्डलाई दबाएर राखिएको छ। केहीले गोर्खाल्याण्ड मान्नेहरु नेपालीभाषी भएकाले त्यसो भएको भन्ने पनि गरिएको छ। यस सम्बन्धमा हामी प्रश्न गर्छौ ? के उनीहरु नेपालीभाषी हुनु कुनै अपराध हो –

७. दार्जिलिङवासीहरु भारतीय नागरिक हुन् । उनीहरु भारतीय नागरिक भएकामा गर्व गर्दछन्। उनीहरुले भारतको राष्ट्रिय आन्दोलनमा सधैं साथ र सहयोग गर्दै आएका छन्। योगदान गरेका छन्। त्यस्तो नागरिकहरुले उठाएको जायज माग सुन्नुपर्दछ। उनीहरुको भावनाको कदर गरिनुपर्दछ। दबाएरै सफल भइन्छ भन्ने कुरा भारत सरकार र पश्चिम बंगाल सरकारले राख्नु हुँदैन । उनीहरुको मागमा छिटै वार्ता हुनुपर्दछ। वार्ताका लागि हामी आग्रह गर्दछौँ।