आदिवासी जनजाति दिवस

१. आदिवासी जनजातिहरु यो देशका मूल निवासी हुन्। यो देशको निर्माण र विकासमा आदिवासी जनजातिहरुको महत्वपूर्ण भूमिका छ। इतिहासको कुनै कालखण्डमा यो देशको विभिन्न भागमा आदिवासी जनजातिहरुको राज्य थियो अर्थात् उनीहरुले राज्य सत्तामा रहेर राज्य सञ्चालन गरिरहेका थिए।

२. काठमाडौं उपत्यकामा नेवारहरुको राज्य थियो भने त्यसभन्दापूर्व तामाङ, राई, लिम्बुहरुका राज्य थिए। त्यस्तै पश्चिमतिर नियाल्यौं भने हामी तमुवान र मगरात राज्यका अवशेषहरु प्रष्ट देख्न सक्छौँ। यस्तै गरी अन्य आदिवासी जनजातिहरुको राज्यहरु भएको नेपालको इतिहासमा उल्लेख छ।

३. राज्यच्यूत भएपछि आदिवासी जनजातिहरुलाई शासन सत्तादेखि हरेक कामकुरामा पाखा लगाइए। उनीहरुको अवस्था दयनीय बन्दै गयो। शिक्षादीक्षामासमेत उनीहरुलाई विभेद गरिएको हुँदा उनीहरुले अत्यन्त कष्टप्रद जीवन यापन गर्नुपर्‍यो। उनीहरु पछौटेपनको शिकार हुनुपर्‍यो।

४. यसै बीच उनीहरुले आफ्नो भाषा बिर्सिए, संस्कृतिलाई निरन्तरता दिन सकेनन्। यसो हुँदाहुँदै उनीहरुले प्रशासन र शासकको दबाबको कारण आफ्नो धर्मसमेत परित्याग गरेर अर्काको धर्म अँगाल्नपुगे। पञ्चायतकालमा लादिएको एक धर्म र एक भाषाको अभियानले उनीहरुको विशेषता समेत लोप हुने अवस्था आएको थियो।

५. प्रजातन्त्रको पुनस्र्थापना पछि आदिवासी जनजातिहरुले संगठन गर्न थालेका छन्। संगठन मार्फत् उनीहरुले आफ्नो विशेषता खोज्ने, लोप भएको भाषा, धर्म र संस्कृति पहिल्याउने काम गरेका छन्। उनीहरुल्ले अधिकारका लागि संर्घष्ा गर्न थालेका छन्। पहिचानको मुद्दा अहिले उनीहरुको सर्वाधिक महत्वपूर्ण विषय भएको छ।

६. आदिवासी जनजातिहरुको उत्थानका लागि केही प्रयास भएका छन्। यसमा संयुक्त राष्ट्रसंघ आफै चिन्तित छ। राष्ट्रसंघले उनीहरुको उत्थानका लागि र उनीहरुले भोगेका समस्यामा ध्यान केन्द्रित गर्न आदिवासी दिवस, आदिवासी वर्ष र दशक समेत मनाउने घोषणा गर्‍यो। तैपनि उनीहरुको अवस्थामा अर्थात् पहिचान र अधिकारका सवालमा तात्विक अन्तर आएको छैन।

७. नयाँ संविधानले संघीय अवधारणा ल्याएपछि आफ्नो पहिचान स्थापनाहुने जुन अपेक्षा गरिएको थियो, त्यो हुन सकेन। उनीहरु आज पनि आन्दोलनकै अवस्थामा छन्, त्यसैले यस वर्ष उनीहरुले “पहिचान, प्रतिनिधित्व र स्वायत्तता/स्वशासनकालागि आदिवासी जनजातिको अडान, पहिचान सहितको संघीयताका लागि संविधान संशोधन हाम्रो अभियान”भन्ने मूल नाराका साथ आजको दिवस मनाउँदै छन्।