आचार संहिताको पालना

१. आचारसंहिता सबैको हुन्छ। प्रायः संघ संस्थाहरुले आफैले आचारसंहिता बनाएर लागु गरेका हुन्छन्। आचार संहिताले सदस्यहरुलाई अनुशासित बनाउँछ। आफ्नो सीमामा रहेर काम गर्न निर्देशन गर्दछ । अरुहरुको अधिकार र सीमाक्षेत्रको उल्लंघन गरेमा त्यसको परिणाम नराम्रो हुने भएकोले त्यसो नगर्न खबरदारी गर्दछ।

२. अरुहरुको आचार संहिता भए झैं निर्वाचनको पनि आचारसंहिता हुन्छ। निर्वाचनको आचारसंहिता राजनीतिक पार्टीहरूको सहमतिमा निर्वाचन आयोगले निर्वाचन हुनु केही समय पहिले आचार संहिता लागु भएको घोषणा गर्दछ र त्यसको पालना गर्न सबैलाई भन्ने गर्दछ।

३. निर्वाचन आयोगको निर्वाचन आचार संहिता अरुको भन्दा कडा र व्यापक हुन्छ। त्यसले घोषणा गरेको आचार संहिता उम्मेदवारको प्रचार प्रसार, उम्मेदवारले प्रचार प्रसारको लागि गर्ने खर्चदेखि मतदातालाई प्रभावित पार्न के कस्तो काम गर्न हुन्छ र के कस्तो गर्न हुँदैन भन्ने सवै उल्लेख हुन्छ।

४. निर्वाचन आयोगले निर्वाचनको बेला सरकारले गर्ने काम कुराहरुलाई पनि बन्देज लगाउन सक्छ। सरकारले त्यस्तो बेला मतदातालाई प्रभावित पार्न विकास र निर्माणका काम गरेर सस्तो लोकप्रियता कमाउन सक्छ। निर्वाचन क्षेत्रमा आफ्ना अनुकूलको कर्मचारी खटाएर पनि फाइदा उठाउन सक्छ। यस्तो सम्भावना भएकोले निर्वाचन आयोगले त्यस्ता काम नगर्न सरकारलाई निर्देशन दिन सक्छ।

५. सरकारका मन्त्रीहरुले सार्वजनिक सम्पत्तिको दुरुपयोग गरेर मतदातालाई प्रभाव पार्न सक्ने भएकोले आयोगले त्यस्तो दुरुपयोग नगर्न पनि निर्देशन दिने गर्दछ। सरकारले मात्र होइन, अन्य पार्टीहरूले पनि मतदाताहरुलाई प्रभावित पार्न आर्थिक लोभ आदि देखाउन नपाउने प्रावधान बनाउने गर्दछ।

६. निर्वाचन आयोगले यस्तो नियम बनाए पनि सरकार पार्टीा नेता र कार्यकर्ताहरुले त्यो नियमको उल्लंघन गर्ने गर्दछन्। यसै पटकको चुनावमा पनि संहिता उल्लंघनको घटना व्यापक रुपले भयो। आयोगले २४ घण्टे स्पष्टीकरण सोध्ने त गर्‍यो तर उल्लंघन भने अन्तिम बेला सम्म भयो।

७. स्वच्छ, स्वतन्त्र, निष्पक्ष निर्वाचनको लागि आचार संहिताको खाँचो हुन्छ। यो सबैले महसुस गर्ने कुरा हो। सरकार झन् यसमा बढी प्रतिबद्ध हुनु पर्दछ। सरकारले बल मिच्याई गर्दा त्यसको नकारात्मक सन्देश पनि जान सक्छ। हामी यस्तो किसिमको निर्वाचन गर्न, गराउन अग्रसर हुनुपर्दछ कि आयोगले स्पष्टीकरण सोध्ने अवसर नै नहोस्। आगामी निर्वाचनमा त्यस्तो स्थिति सिर्जना गर्न सके त्यो ठूलो उपलब्धि हुन सक्दछ।