आचारसंहिता र आचरण

१. चुनावको बेला उम्मेदवारहरुले र राजनीतिक पार्टीरुले मतदाता समक्ष विकास र निर्माणका काम गरेर देश र  जनतालाई समृद्ध बनाउने धेरै -धेरै आशा, वाचा र प्रतिबद्धताहरु व्यक्त गरेका थिए। त्यो श्रंृङ्खला अझै जारी छ । फरक यत्ति छ कि हिजो उम्मेदवार र पार्टीरुले त्यसो गरेका थिए भने अहिले मन्त्री परिषद् र मन्त्रीहरुले त्यस्तो प्रतिबद्धता व्यक्त गर्ने गरेका छन्।

२. त्यस्तो प्रतिबद्धता मध्ये एउटा हो मन्त्री र मन्त्रिपरिषद्को आचारसंहिता त्यस्तो आचार संहिता निकाल्नु ज्यादै राम्रो काम हो। त्यस्तो आचार संहिता अनुसार चल्नु र त्यसमा अभ्यस्त हुने प्रयास गर्नु सबै दृष्टिकोणबाट राम्रो मानिन्छ । त्यस्तै प्रदेश नम्बर ४ ले पनि मुख्य मन्त्री लगायत सबै मन्त्रीहरुका लागि ३० बुँदे अचारसंहिता जारी गरिएको छ।

३. आचार संहिताको पहिलो बुँदामा मन्त्रिपरिषद्का सदस्यहरुले नैतिकता र आधारभूत सिद्धान्तको प्रतिकूल हुने गरी कुनै काम कार्वाही गर्न नहुने उल्लेख छ। संहितामा राज्य वा नागरिकलाई नोक्सान पर्ने गरी काम कार्वाही गर्न गराउन नहुने पनि प्रष्ट साथ लेखिएको छ। साथै त्यसमा ६० दिन भित्र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने कुरा पनि राखिएको छ।

४. ३० बुँदामा स्वदेशी उत्पादनका सामग्री प्रयोग गर्ने, काम गर्दा आर्थिक मितव्ययिता अपनाउने र मद्यपान गर्न नहुने जस्ता कुरा पनि उल्लेख गरिएको छ। यी कुराहरु आकर्षक छन्। स्वदेशी उत्पादनको प्रयोगले निश्चय नै उद्योगधन्दाको विकासमा टेवा पुग्दछ भने मद्यपानको निषेधले आचार र व्यवहार सुध्रने मात्र होइन, मितव्ययी हुनमा पनि सघाउ पुर्‍याउँछ।

५. संहितामा सेवा, सुविधाका अवसरको बाँडफाँड गर्दा सामाजिक न्याय र समावेशीकरण सम्बन्धी राज्यको नीतिलाई अंगिकार गर्नुपर्ने, कर्मचारीलाई स्वतन्त्रतापूर्वक काम गर्न दिनुपर्ने र सरकारी स्रोत साधनलाई नीति पारिवारिक उपयोग नगर्ने, पक्षपात र भनसुन नगर्ने, द्वेष र प्रतिशोधको भावना नराख्ने कुरा पनि उल्लेख छन्।

६. आचारसंहितामा धेरै कुरा उल्लेख छन्। ती सबै राम्रा छन्। त्यसमा विवाद छैन। आचारसंहिता पढ्दा ती कुराहरु शब्दकोशबाट मीठा-मीठा र राम्रा-राम्रा कुरा छानेर ल्याएको जस्तो देखिन्छ। आचारसंहिता एउटा गहना हो, जुन लगाउँदा मन्त्रीहरु निश्चय नै सुशोभित हुनेछन् । त्यसको पालना गरिएमा मन्त्री र मन्त्रिपरिषद्माथि औंला ठड्याउने अवस्था आउने छैन।

७. संहितामा पदीय मर्यादा, अख्तियारको दुरुपयोग नगर्ने र सम्पत्ति आर्जन गर्ने काम शून्य सहनशीलताको आधारमा गर्नुपर्ने कुरा पनि उल्लेख छ। यी कुराहरु वर्तमान परिप्रेक्षमा अति आवश्यक छ। तर यी कुराहरु जति आवश्यक छन्, उति पालना गर्नु गाह्रो पनि छ। गाह्रो भए पनि त्यो संहिता जारी भइसकेको छ। भोलि यसैको आधारमा मन्त्रिपरिषद् र मन्त्रीहरुको आचारण र व्यवहारको मापन र मूल्यांकन हुने अवस्था आउन सक्दछ।